ad ad

समाज


चुनाव नजिकिएसँगै सरकारले फेर्‍यो गृहसचिव, पाण्डेको ठाउँमा सिंह आए

चुनाव नजिकिएसँगै सरकारले फेर्‍यो गृहसचिव, पाण्डेको ठाउँमा सिंह आए

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०७९ सोमबार २३:४, काठमाडौँ

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु गर्ने तयारीसँगै सरकारले कर्मचारीको व्यापक सरुवालाई तीव्र पारेको छ।

यसअघि खरिदारदेखि सहसचिवसम्मका कर्मचारीको व्यापक सरुवा गरेको सरकारले सोमबार केही महत्वपूर्ण मन्त्रालयका केही सचिवहरु पनि सरुवा गरेको छ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सुरक्षाको मुख्य जिम्मा सम्हाल्ने गृहमन्त्रालयका सचिवको सरुवा प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा पुगेको हो।

गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा सचिव टेकनारायण पाण्डेको सरुवा गर्न लागिएको हो। गृहमन्त्रीले सचिव पाण्डेलाई सरुवा गर्ने प्रस्ताव मुख्यसचिव शंकरदास वैरागीको टेबुलमा पुगेको छ।

निर्वाचन आचारसंहिता लागु गर्ने तयारी भएसँगै मन्त्री खाँणले पाण्डेको ठाउँमा प्रदेश १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याउने प्रस्ताव गरेका छन्। 

खाँणको उक्त प्रस्तावले मंगलबार औपचारिकता पाउने छ। सोमबारकै मन्त्रिपरिषद्को निर्णय भनेर गृहसचिव हेरफेर गर्न लागिएको हो।

गृहमन्त्री खाँणको सरुवा प्रस्तावलाई लिएर मुख्यसचिव वैरागीले नियमले मिल्नेसम्म गरौँला भन्ने जवाफ दिएको स्रोतले उल्लेख गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गृहसँगै अन्य केही मन्त्रालय र अख्तियारसहितका संवैधानिक आयोगका सचिव पनि हेरफेर निर्णय गरेको स्रोतले जनाएको छ। 

सोमबार गरिएको सुरुवाको निर्णयलाई मंगलबार परिपक्व बनाएर सबै सचिवलाई पत्र थमाउने तयारी मन्त्रिपरिषद्को कार्यालयले गरेको छ। 

आचारसंहिता लागू गर्ने तयारीसँगै डेढ सातायता करिब एक हजार कर्मचारी र तीन हजार प्रहरीको सरुवा गरिसकेको छ।

सरकारले २५ भदौमा २६ जना सहसचिवहरूको सरुवा गरेको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले २६ जना सहसचिवको सरुवा गरेका थिए।

सरकारले यसअघि ४ भदौमा २४ जना सहसचिवको सरुवा गरेको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको थियो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बिहीबार अन्तरस्थानीय तहका ८ सयभन्दा बढी कर्मचारीको एकै पटक सरुवा गरेको थियो।

प्रहरी प्रधान कार्यालयले पनि यही भदौ १९ गते २ हजार ८ सय ८४ प्रहरी कर्मचारीको सरुवा गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .