समाज


पश्चिमी वायुको प्रभाव : आज भारी हिमपात र हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव : आज भारी हिमपात र हल्का वर्षाको सम्भावना

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार १:५,

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज (शुक्रबार) पनि देशभर बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार आज देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुने सम्भावना छ भने मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भूभाग मध्यमसम्म हिमपात हुने सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले विशेषगरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा सतर्कता अपनाउन हुन अनुरोध गरिन्छ।

महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार बिहानैदेखि मौसम बदली भएकाले वर्षा तथा हिमपातको सम्भावना जुनसुकै बेला हुने सम्भावना छ। साथै मौसम बदली भएपछि अधिकतम तापक्रम बढ्न नपाउने भएकाले देशभर चिसोसमेत बढ्नेछ। 

आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताए।

आज न्यूनतम तापक्रम भने बढेको छ।

मौसमविद् प्रधानांगका अनुसार आज बिहानै लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस पुगेकाे छ। यसअघि उपत्यकाे न्यूनतम तापक्रम ४‍.४ डिग्रीसम्म झरेको थियाे।

राति आकाशमा बादल लागेको दिन न्यूनतम तापक्रम बढ्ने उनले बताए। त्यसैकारण आज बिहान काठमाडौंमा कम चिसो महसुस गरिएको छ।

‘तर दिनभर मौसम बदली भएपछि अधिकतम तापक्रम बढ्न पाउँदैन,’ मौसमविद् प्रधानांगले नेपालखबरसँग भने, ‘अधिकत तापक्रम बढ्न नपाएपछि चिसो बढ्छ।’

पश्चिमका केही स्थानमा हावाहुरी पनि आउने
सुदूर तथा पश्चिी क्षेत्रका केही स्थानमा हावाहुरी आउने सम्भावनासमेत रहेको अर्का मौसमविद् मीनकुमार अर्यालले बताए। ‘सामान्यभन्दा केही ठूलो हावा चल्ने देखिन्छ,’ नेपालखबरसँग उनले भने, ‘तर त्यस्तो क्षति नै गर्ने खालेको हुरी आउने देखिन्न। त्यसले चिसोचाहिँ बढाउँछ।’

माैसमविद्का अनुुसार बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले नेपालमा मौसम बदली, हिमपात र वर्षा गराएको हो। हिमपातका कारण हिमाली जिल्लाको जनजीवनक कष्टकर भइरहेको छ। कतिपय जिल्लामा हवाई सेवासमेत प्रभावित (बन्द) भएका छन्।

भोलि (शनिबार)देखि भने पश्चिमी वायुको प्रभाव बिस्तारै कमजोर हुने मौसमविद्को अनुमान छ।

तीन दिनसम्मको मौसमी अनुमान #माैसम पूर्वानुमान महाशाखाद्वार जारी

मंसिर २७ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमी भूभागका केही स्थानमा हावाहुरी आउने पनि सम्भावना छ।

राति : देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थान साथै मध्य तथा पूर्वका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

मंसिर २८ गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

मंसिर २९ गते (आइतबार)
दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी थोरै स्थानमा साथै मध्य तथा पूर्वका पहाडी भूभागमा हल्का वर्षा हुने सम्भावना छ। हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

राति : देशको पश्चिमी पहाडी आंशिकदेखि सामान्य बदली साथै मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ। हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .