काठमाडौं उपत्यकाका सडकमा आज (बुधबार) पनि यातायात प्रभावित हुने भएको छ।
नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु भक्तपुर जाने र राष्ट्रपतिलाई भेट्ने कार्यक्रम रहेकाले त्यसबखत सवारीसाधान आवागमन प्रभावित हुने भएको हो।
चिनियाँ भ्रमण टोलीको आउजाउका कारण हिजो मंगलबार पनि काठमाडौं उपत्यकाको सडक यातायात प्रभावित भएको थियो।
बुधबार बिहान भक्तपुर भ्रमणमा जाने चान्सुको भ्रमण टोली र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नेछ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यातायात प्रभावित भनेर सूचना निकाले पनि चिनियाँ नेता लीका कारण भनेको छैन। ‘विशेष कारणवश’ लेखिएको छ।
सूचनाअनुसार बिहान ९ बजेदेखि काठमाडौंको कालिमाटीदेखि भक्तपुरको सल्लाघारीसम्म र दिउँसो साढे ३ बजेतिर कालिमाटीदेखि महाराजगन्जसम्मको सडकमा आवागमन प्रभावित हुनेछ। त्यसबेला वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान ९ बजेदेखि कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर, तिनकुने, जडिबुटी, कौशलटार, मध्यपुर ठिमी र सल्लाघारी क्षेत्रको सवारी साधन प्रभावित हुने छ। त्यस्तै आजै दिउँसो साढे ३ बजे आसपासमा कालिमाटी, त्रिपुरेश्वर, जमल, लाजिम्पाटदेखि महाराजगञ्जसम्मको सवारी आवागमन प्रभावित हुनेछ।
Shares
प्रतिक्रिया