समाज


तीन रोपनी सार्वजनिक जग्गा मिचेर सञ्चालित ड्राइभिङ सेन्टर महानगरले भत्कायो

तीन रोपनी सार्वजनिक जग्गा मिचेर सञ्चालित ड्राइभिङ सेन्टर महानगरले भत्कायो

नेपालखबर
भदौ २९, २०७९ बुधबार २१:५७, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले माछापोखरीस्थित तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर हटाएको छ। 

काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा बुधबार काठमाडौँ–१६ माछापोखरी क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको गुरुङ ड्राइभिङ सेन्टर हटाइएको हो।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सार्वजनिक जग्गामा ड्राइभिङ सेन्टर निर्माण गरी भाडामा दिएको भेटिएपछि हटाएको जानकारी दिए। 

त्यस क्षेत्रमा रहेको १७ रोपनी सार्वजनिक जग्गामध्ये तीन रोपनी क्षेत्रफलमा उक्त ड्राइभिङ सेन्टर सञ्चालन गरिएको थियो।

यस्तै, नगर प्रहरीको टोलीले माछापोखरी क्षेत्रको फुटपाथ बजारसमेत हटाएको छ। 

यसअघि बुधबारै नगरपालिकाको टोलीले सोह्रखुट्टे चोकदेखि म्हैपी जाने सडकमा अनधिकृत संरचना हटाएको थियो।

काठमाडौँ–१६ का वडाअध्यक्ष मुकुन्द रिजालले अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको संरचना हटाइएको बताए। 

कामपा–१६ ले वडाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन केही दिनपहिले पत्राचारसमेत गरेको थियो। 

महानगरपालिकाले यसअघि न्युरोड, नयाँ बानेश्वर, कोटेश्वर, चावहिल, नयाँ बसपार्क क्षेत्रमा नक्सा विपरीत अनधिकृत रूपमा बनाइएका संरचना हटाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .