ad ad

समाज


डा. गोविन्द केसीकाे स्वास्थ्य झन् जटिल, सरकारसँग जुटेन सहमति

केसीलाई प्रदेश सरकारको टोलीले भेट्यो, थप उपचारका लागि अन्यत्र लैजान सेतीको आग्रह
डा. गोविन्द केसीकाे स्वास्थ्य झन् जटिल, सरकारसँग जुटेन सहमति

फाइल तस्बिर


गोकुल जोशी
असोज ४, २०७९ मंगलबार १४:१३, कञ्चनपुर

कैलालीको धनगढीमा अनसनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। सेती प्रादेशिक अस्पतालमा  भर्ना गरिएका अनसनरत डा. केसीको स्वास्थ्यवस्था बिग्रँदै गएकाले उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न अस्पतालले आग्रह गरेको छ।

तर डा. केसीले नमानेको उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए। ‘स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ, उहाँले औषधी पनि लिनु मान्नु भएको छैन, चिकित्सकहरुले उपचारका लागि काठमाडौँ लैजानु पर्ने भन्नु भएको छ,’ उनले भने, ‘तर डाक्टर सावले मान्नु भएको छैन, अहिले म ठिक भएकाले यतै बस्छु भन्नु भएको छ।’

केसीको मांसपेशी सुक्दै गएको र अल्सर भइ रक्तश्रावको शंका भएकाले थप जटिलता आउन सक्ने हुँदा उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ।

डा. केसीले ७ बुँदे माग अघि सार्दै भदौ २७ गतेदेखि धनगढीमा अनशन सुरु गरेका थिए। 

स्वास्थ्यमा समस्या देखिएपछि केसी २९ गते बेलुका सेती प्रादेशिक अस्पताल भर्ना गरिएका थिए।

अनशनरत डा. गोविन्द केसी र सरकारी प्रतिनिधिबीच वार्ता भइरहेको भए पनि अझै सहमति जुट्न सकेको छैन। ‘तीन पटक वार्तामा बस्यौँ, तर सहमति जुटेको छैन,’ केसीका सहयोगी जैसीले भने, ‘वार्ता जारी नै छ, निष्कर्षमा पुग्न अझै समय लाग्ने देखिन्छ ।’

संवाद गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा सरकारी टोली छ। यस्तै, टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव रोशन पोखरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सदस्य रहेका छन्।

डा. गोविन्द केसीको तर्फबाट वार्ता गर्न डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र प्रितम सुवेदी सदस्य रहेको टोली छ ।

सेती प्रादेशिक अस्पतालमा केसीसंग मंगलबार सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोबिन्दराज बोहराले भेट गरेका छन्। सो क्रममा मन्त्री बोहराले आफ्नो क्षेत्रात्रिकारभित्र पर्ने मागहरु सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताए। ‘डाक्टर केसीले उठाएका मागहरुप्रति हाम्रो सहानुभूति छ,’ उनले भने, ‘प्रदेश सरकारको क्षेत्राधिकार भित्र पर्ने मागहरु सम्बोधन गर्न हामी प्रयास गर्छौ।’

केसीलँई भेट्न अस्पतालमा मन्त्री बोहरासहित प्रदेश सचिव दीपक लामिछाने, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर जगदिश जोशी लगायत टोली पुगेको थियो।

मन्त्री समेतको टोलीले डाक्टर केसीको स्वास्थ्य अवस्था बुझ्दै थप उपचारका लागि बाहिर लैजान पनि सहयोग गर्ने जनाएको छ। 

स्वास्थ्यमा थप समस्या हुने देखिएपछि चिकित्सकले औषधि प्रयोग गर्न सुझाव दिएपनि केसीले मानेका छैनन्। उनले आफूले उठाएका माग सम्बोधन गर्न सरकार तयार नभएसम्म ज्यानमा तलमाथि भएपनि कुनै औषधि प्रयोग नगर्ने अडान लिएका छन्।

केसीलाई कमजोरी, रिंगटा आउने, थकान लाग्ने, श्वास फेर्न गाह्राे हुने, छाती दुख्ने, पेट दुख्ने, मुटुको धडकनमा गडबढी, रक्तचाप घट्दै जाने लगायत स्वास्थ्य समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

देशभरका सरकारी अस्पतालमा शय्याअनुसारको दरबन्दी व्यवस्था गर्नुपर्ने, जनसंख्या वृद्धि अनुसार अस्पताल÷स्वास्थ्य संस्थाको स्तरवृद्धि गर्नुपर्ने, सरकारी अस्पतालमा टिकट, ल्याब, एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै निःशुल्क औषधिहरू उपलब्ध गराउनुपर्ने, मापदण्डविपरीत खुलेको निजी अस्पताल बन्द गराउनुपर्ने माग केसीले अघि सारेका छन्।

यस्तै, २०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्नेस गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .