ad ad

समाज


छठको पूर्वसन्ध्यामा जनकपुरका ऐतिहासिक पोखरीको यो दुर्गति!

छठको पूर्वसन्ध्यामा जनकपुरका ऐतिहासिक पोखरीको यो दुर्गति!

जयन्त ठाकुर
कात्तिक १२, २०७९ शनिबार २०:२७, जनकपुरधाम

छठ पर्वमा रातभरि पोखरीको डिलमा जाग्राम बस्ने परम्परा छ। छठ पर्वकै लागि पोखरी नै पोखरीको सहरको रुपमा विख्यात जनकपुरधामका पोखरीहरुलाई श्रृंगारिएको छ। तर छठ पर्वका लागि पोखरीहरुलाई सरसफाइ गरी श्रृंगार गरिरहँदा अर्कोतर्फ कयौँ ऐतिहासिक एवं पौराणिक पोखरीहरु आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्।

छठको पूर्वसन्ध्यामा पनि ती पोखरीहरु सुनसान छन्। कतिपय अतिक्रमणको चपेटामा परेका छन्।

जनकपुरधामका तेलहा, मड़हा, पापमोचनी पोखरी, देवान पोखरी, रामसागर तलाउ, पगपखचालन पोखरी लगायतका धार्मिक एवं पौराणिक पोखरीहरुलाई छठ पर्वको रौनकले छोएको छैन। बरु ती पोखरीहरु भूमाफियाहरुका कारण अतिक्रमित भइका छन्।

जनकपुर नेपालमै सबैभन्दा बढी पोखरीहरु भएको सहर हो। विगतमा यहाँ २ सय ८ पोखरी थिए। एकएक गर्दै १ सय ५६ पोखरी हराएर गएको छ। अहिले ५२ वटा मात्र अस्तित्वमा छन्। ती पोखरी भएका ठाउँमा कतै सरकारी कार्यालय बनेका छन। केहीमा घर ठड्याइएको छ। कसैले होटेल तथा पसल चलाउँदै आई रहेका छन्। 

जनक सरोवर, अमृत कुण्ड, गोपाल सर, पयस्विनी सर, बल्देव सर, धोवियाही पोखरी लगायतका कयौ पोखरीहरुको अस्तित्व मेटिइसकेको यसका अतिरिक्त जनकपुरधाममा कुन कुन पोखरीहरु थिए त्यसको तथ्यांक भने गुठी संस्थान जनकपुरधामसँग समेत छैन। गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीले गुठी संस्थानमा त्यसको तथ्यांक नै नरहेको बताए।

बाँकी रहेका अधिकांश पोखरीका जमिन पनि सन्त–महन्थ र गुठी संस्थानका प्रमुख मिलेर बिक्री गरेका छन्। केही लोप भइसके, बाँकी रहेका पोखरी पनि केही समयमा हराउने खतरा छ। राजनीतिक संरक्षणमा पोखरीको जग्गा अतिक्रमण भइरहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ का वीरेन्द्र कर्णको भनाइ छ। यहाँका नेता, कर्मचारी तथा सन्त, महन्थले जनकपुरका पोखरीहरुलाई निजी आम्दानीको श्रोत बनाएको आरोप उनले लगाए। 

छठले नछोएका ऐतिहासिक पोखरीहरु
राम मन्दिरको छेउमै रामसागर पोखरी छ। सो पोखरीकै डिलमा राम युवा कमिटीको कार्यालय पनि छ। तर छठ पर्व नजिकिए पनि त्यो पोखरी दुर्गन्धित छ। राम मन्दिरभन्दा दक्षिणमा अवस्थित राम सागरमा दर्जनौँ स्थानीय व्यक्तिले आफनो घरको नाला जोडेका छन्। भगवान् रामको भोजन पकाउन सोही पोखरीको पानी प्रयोग भएको अनुश्रुतिका कारण बाहिरबाट आउने श्रद्धालुहरुले सो पोखरीको पानी पवित्र मानी घर लैजाने गर्थे। तर अहिले राम सागर नै डम्पिङ्ग साइटमा परिणत भएको छ। राम मन्दिरका महन्थ राम गिरिले राम सागर पोखरी फोहोर भएपछि मन्दिरको भोगराज धनुष सागर पोखरीबाट गर्नुपर्ने बाध्यता रहेको बताए।

जनकपुरधामको रंगभूमि मैदान नजिकै पापमोचनी सर नामक ऐतिहासिक पोखरी छ। भगवान् शंकरलाई ब्रह्म हत्याको पाप लाग्दा यही पोखरीमा स्नान गरेपछि मेटिएको कथा छ। तर यति ठूलो इतिहास बोकेको यो पोखरी अतिक्रमणमा पर्दै गइरहेको छ। सो पोखरीलाई प्रदेश सरकारले सौन्दर्यीकरणको नाउँमा अतिक्रमण गरेको छ। एक निर्माणाधीन होटेलको भवनसम्म बाटो बनाउनका लागि प्रदेश सरकारले सोही पोखरीलाई पुरेर बाटो बनाइदिएको छ। तर छठपर्वको पूर्व सन्ध्यामा समेत सो पोखरीको सोधखोज लिने कोही छैन।

त्यस्तै ऐतिहासिक देवान पोखरीमा राजनीतिक किचलोका कारण छठ पूजा हुन छाडेको छ। यस पोखरीमा भारत तथा यस भेगका श्रद्धालुहरुले विभिन्न भाकल गरी स्नान गर्न आउने गर्थे।

जनकपुर उपमहानगरपालिका ३ का वडाध्यक्ष दीपेन्द्र साहका अनुसार जनकपुर बृहत्तर क्षेत्र विकास गत आर्थिक वर्षमा देवान पोखरीको सौन्दर्यीकरणका लागि १८ लाख रुपैयाँ उपभोक्ता समितिलाई दिए पनि समयमा काम सम्पन्न नगर्दा बजेट नै फ्रिज भएको थियो।

जानकी मन्दिरको उत्तरतर्फ रहेको तेलहा र मडहा पोखरीलाई सौन्दर्यीकरणको नाममा साँघुरो बनाउन खोज्दा समाजिक विरोध भयो। त्यसपछि ती काम रोकिएको छ।

स्थानीय युवा अभियन्ता सुशील कर्ण लगायतका युवाहरुले पोखरीको वास्तविक नाप नक्सा अनुसार उत्खनन् गरी निर्माण गर्नुपर्ने भन्दै अवरोध जनाएपछि त्यो पोखरीको सौन्दर्यीकरणको काम स्थगित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .