ad ad

समाज


छठ पर्व एक : सन्देश अनेक

छठ पर्व एक : सन्देश अनेक

फाइल तस्बिर


जयन्त ठाकुर
कात्तिक १३, २०७९ आइतबार ९:५६, जनकपुरधाम

मिथिलाञ्चलमा दीपावली, भातृद्वितियासहितका पर्व सकिएलगत्तै आस्थाको महापर्व छठको रौनकता छाएको छ। मिथिलाञ्चलवासीका लागि प्रमुख पर्वमध्ये छठ पनि एक हो। छठ पर्वको तयारी ५/७ दिन पहिले सुरु हुने गर्छ। कार्तिक शुक्ल चतुर्थीेको दिन सुरु हुने यो पर्व कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ। यो पर्वमा खासगरी सूर्यदेवको उपासना गरिन्छ। हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिक कालदेखि रहेको मानिन्छ। गरिब, धनी, ब्राह्मण, दलित भन्ने भेदभावको भावना नराखी यो पर्व एकैसाथ मिलेर मनाइन्छ। जसले समाजमा रहेका छुवाछुतजस्ता विकृति हटाउन मद्दत पुग्ने संस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन्।

छठ पर्वको विधि
यस पर्वमा षष्ठी उप्रान्त सप्तमी तिथिमा व्रत गर्ने परम्परा छ। सूर्य देवतालाई पहिलो दिनको अर्घ्य उक्त दिन नै अर्पण गरिन्छ, जसलाई मैथिली भाषामा ‘सझुँका अर्घ्य’ भनिन्छ। 

साँझ सूर्य देवतालाई प्रसादका रूपमा अर्घ्य अर्पण गरिन्छ सोही प्रसाद पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ्य’ दिने परम्परा छ। हुन त सूर्य देवतालाई अर्पण गरिएका प्रसाद साँझदेखि बिहानसम्म जलाशयमा बनाइएका घाटमै राखिन्छ तर केही स्थानमा जस्तै कि नदीहरूमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसादहरू घर लगिन्छ र बिहान सूर्य उदाउनुभन्दा अगावै पुनः त्यो प्रसाद घाटमा ल्याइन्छ। यसरी छठ पर्व मनाइने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ की शिलादेवी साह बताउँछिन्।

छठ व्रत गर्नेहरू चौथी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई अर्वाअर्वाइन खाने गर्छन्। यही तिथिका दिन छठ पर्व औपचारिक रूपमा प्रारम्भ हुन्छ। यसदिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन गर्छन्। 

कार्तिक शुक्ल पञ्चमी तिथिका दिन दिनभरि उपवास बसिन्छ। उक्त दिन साँझ माटोले बनाइएको नयाँ चुल्होमा नयाँ माटोको भाडाँमा अरबा चामलको खीर बनाउने गरिन्छ। सख्खर राखेर बनाइएको खीर देवीदेवतालाई प्रसादका रूपमा चढाइन्छ र उक्त प्रसाद खीर व्रतालुका साथै घरका सदस्यहरूले ग्रहण गर्छन्। जसलाई मिथिलाञ्चलमा खरना भनिन्छ।

कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिलाहरू डुब्दै गरेको सूर्यलाई अर्घ्य दिन्छन्, व्रतालु पुरुष सूर्य देवतालाई अर्घ्य अर्पण गर्ने समयसम्म पोखरी, तालतलैयामा सूर्य देवतालाई हातमा नरिवल वा अन्य कुनै फलफूल लिई उभिरहेका हुन्छन्। साँझको समयमा घण्टौं जलमा रही नाङलो, कनसुप्ती, ढकना, सरबा लगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अर्घ्य दिइन्छ। उक्त दिन छठ व्रत गर्नेहरूको घरका सबै सदस्य प्रायः रातभर पोखरीको घाटमा जाग्राम बस्ने गर्छन्। छठको प्रसादमा ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिंगारा, फलफूल, पान, सुपारी, धूप, दीप, अरतक पात, चना आदि हुन्छन्। बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपपिछ व्रतालु महिला–पुरुष सबै घर फर्किन्छन्। र, घरमा भोजन गर्छन्, जसलाई मैथिलीमा पारण भनिन्छ। पारण भएपछि ४ दिवसीय छठ पर्व समापन हुन्छ।

षष्ठी देवी
कार्तिक शुक्ल षष्ठी तिथिका दिन अस्ताउँदै गरेको सूर्यका साथसाथै षष्ठी देवीको समेत पूजा गरिन्छ। धर्मग्रन्थहरूका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ। प्रकृतिको छैटौं अंश भएका कारण उनको नाम षष्ठी देवी रहेको हो। मिथिलाञ्चलमा यसलाई छठी माता भनिन्छ। केहीले सूर्यको माता भनेर समेत षष्ठी देवीको पूजा गर्छन्।     

छठको पौराणिक महत्त्व
लंका विजयपछि रामराज्य स्थापनाका दिन (कार्तिक शुक्ल षष्ठी तिथि) भगवान् राम र माता सीता उपवास बसे र सूर्यदेवको आराधना गरे। सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशिर्वाद प्राप्त गरे। एक किसिमले छठ पर्वको आरम्भ यसै दिन भएको मानिन्छ। ऊर्जाको सबैभन्दा ठुलो स्रोत सूर्यलाई मानिन्छ। त्यसकारण हिन्दू शास्त्रहरूमा सूर्यलाई प्रत्यक्ष देवता मानिएको छ। एक अर्को मान्यताअनुसार छठ पर्व महाभारत कालमा सुरु भएको मानिन्छ। छठ पूजाको सुरुवात सूर्य पुत्र कर्णले गरेको मानिन्छ। कर्ण भगवान् सूर्यको परम भक्त थिए। उनी हरेक दिन जलमा उभिई सूर्यलाई अर्घ्य दिने गर्थे। सूर्यको कृपाले उनी महान् योद्धा बन्न सफल भए। महाभारतमा सूर्य पूजाको अर्को वर्णन समेत पाइन्छ। पाण्डव पत्नी द्रौपदी आफ्नो परिवारजनको उत्तम स्वास्थ्यको कामना र दिर्घायुका लागि नियमित सूर्यको पूजा गर्ने गर्थिन्।

छठ पर्वको कथा
कथाका अनुसार राजा प्रियवद निःसन्तान थिए। त्यस समय महर्षि कश्यप पुत्रेष्टि यज्ञ गराएर उनको पत्नी मालिनीलाई यज्ञाहुतिका लागि बनाइएको खीर खान दिए। यसको प्रभावले उनलाई सन्तानका रूपमा छोरा प्राप्त भयो। तर उक्त छोरा पनि मृत नै जन्मिए।

प्रियवद पुत्र लिएर श्मशान गए र पुत्र वियोगमा प्राण त्याग्न लागे। ठीक सोही समय मानस कन्या देवसेना प्रकट भइन् र भनिन्– सृष्टिको मूल प्रवृत्तिको छैटौं अंशबाट उत्पन्न भएका कारण मेरो नाम षष्ठी भएको हो। हे राजन् ! तपाई मेरो पूजा गर्नुस् तथा अन्य व्यक्तिलाई समेत यसका लागि प्रेरित गर्नुस्। राजाले पुत्र इच्छाका कारण देवी षष्ठीको व्रत गरे र उनलाई पुनः पुत्र प्राप्त भयो। उनले गरेको यो पूजा कार्तिक शुक्ल षष्ठी तिथिका दिन भएको थियो। यस प्रकार कार्तिक शुक्ल षष्ठी तिथिका दिन अर्थात् छठी माताको पूजा गर्ने परम्परा बस्यो।

छठ पर्वको वैज्ञानिक महत्त्व
छठ पर्वको परम्परा वैज्ञानिक र ज्योतिषीय दृष्टिले समेत महत्त्वपूर्ण रहेको पाइएको छ। षष्ठी तिथि एक विशेष खगोलीय अवसरका रूपमा रहेको छ जुन समयमा पृथ्वीको दक्षिणी गोलार्द्धमा सूर्य हुन्छ र दक्षिणायन सूर्यको विकिरण पृथ्वीमा सामान्यभन्दा बढी मात्रामा एकत्रित हुन्छ। किनभने यस समयमा सूर्य आफ्नो तलको राशि तुलामा रहेको हुन्छ। जसका कारण दूषित प्रकाशको सीधा प्रभाव जीवहरूको आँखा, पेट र छाला आदिमा पर्ने गर्छ। सूर्यको प्रकाशलाई परावैजनी प्रकाशबाट जीवहरूको हानि नोक्सानी नहोस् भन्ने अभिप्रायका साथ सूर्य पूजाको रहस्य लुकेको तर्क गर्ने गरिन्छ।

सामाजिक सांस्कृतिक महत्त्व
छठ पूजाको सबैभन्दा महत्त्वपूर्ण कुरा यसको पवित्रता र लोकपक्ष हो। भक्ति र आध्यात्मिक हिसाबले परिपूर्ण यस पर्वका लागि मन्दिर वा आडम्बरको आवश्यकता पर्दैन। यो पर्वले समाजमा सबैको महत्त्व आआफ्ना स्थानमा उत्तिकै छ भन्ने कुराको महसुस समेत गराउँछ। घाटमा प्रसाद लैजानेहरू धनी होस् वा गरिब जुत्ता, चप्पलबिना हिँडेर नै लैजाने गर्छन्।

त्यसैगरी छठको विशेषतासहितको मैथिली लोक गीत–संगीतले जीवनलाई सार्थक बनाउन र पवित्र पर्वका लागि अझ बढी निष्ठावान् बनाउन सहयोग गर्छन्। 

छठको सन्देश
छठ पर्वमा स्थानीय उत्पादन, स्थानीय सीप र स्थानीय संस्कारको समिश्रण पाइन्छ। जस्तै : स्थानीय समुदायले बनाउने बाँसको नाङलो, कनसुप्ती, माटोद्वारा निर्मित सामग्रीहरू, ढकना, सरबा, दियो, हाथी आदि सामग्री। हिन्दू धर्म–संस्कृतिमा छठ पर्वको विशिष्टता आफैंमा महत्त्वपूर्ण छ। यस पर्वमा उदाउँदो सूर्यका साथै अस्ताउँदै गरेको सूर्यलाई समेत एकै प्रकारको आस्था र निष्ठाका साथ पुजिन्छ, त्यसैगरी यो पर्व हरेक वर्ग, जात, समुदायका मानिस एकै घाटमा एकसाथ मनाउँछन्। जसले यो कुरालाई प्रस्ट्याउँछ –सृष्टि सबैका लागि समान हो, यहाँ कोही उच्च–नीच, धनी–गरिब छैनन्। त्यसैगरी वातावरणीय हिसाबले हेर्ने हो भने पनि छठ पर्वको ज्यादै महत्त्व छ। वर्षमा एकपटक भए पनि हामीले आफ्नो जीवनसँग अत्यधिक नजिक रहेको प्रकृतिको संरक्षण गर्नुपर्छ, पोखरी, तालतलैया, नदीलगायत पानीको मुहान सरसफाइ गर्नुपर्छ भन्ने सन्देश पनि छठ पर्वले दिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .