स्टेज कार्यक्रममा भाग लिन संखुवासभा पुगेकी गायिका समीक्षा अधिकारीमाथि ढुंगा प्रहार भएको छ।
गएराति संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका वडा नं ६ पाङ्ठा बजारमा आयोजित एक सांगीतिक कार्यक्रममा गीत गाउन स्टेजमा चढेलगत्तै हो-हल्ला गर्दै ढुङ्गा प्रहार भएको हो।
सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहँदा समीक्षामाथि ढुङ्गा प्रहार हुँदा कार्यक्रमस्थलमा तनाव भएको छ। ढुंगा हानिएपछि कार्यक्रमस्थल खैलाबैला भएको थियो।।
ढुंगा हानिएपछि समीक्षाले स्टेजबाटै कार्यक्रममा सहभागीलाई त्यस्तो नगरिदिन भनेकी थिइन्।
'तपाईंको घरमा पनि दिदी बहिनी होलान्, राम्रो, नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि!', उनले त्यसक्रममा भनेकी छन्।
अर्कातिर त्यही कार्यक्रममै भएको दुई समूहको झडपका क्रममा एकजना युवकमाथि छुरा प्रहार भएको छ।
सामान्य विवादका कारण छुरा प्रहार गरिँदा एकजना युवक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
छुरा प्रहारपछि प्रहरीले एकजनालाई पक्राउ गरेको छ। यो घटनाका क्रममा एकजना पूर्ववडाअध्यक्षसहित तीनजना अरु पनि घाइते भएको बताइएको छ।
छुरा प्रहार गरी घाइते भएका ती युवकलाई उपचारका लागि विराटनगर पठाइएको जानकारी स्थानीयले दिएका छन्।
Shares

प्रतिक्रिया