समाज


नेपालमा एक घण्टा २३ मिनेटसम्म खग्रास चन्द्रग्रहण

कुन राशिलाई लाभ कुन राशिलाई हानी?
नेपालमा एक घण्टा २३ मिनेटसम्म खग्रास चन्द्रग्रहण

रासस
कात्तिक २२, २०७९ मंगलबार १८:६, काठमाडौँ

कार्तिक शुक्ल पूर्णिमामा अहिले बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागेकोछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ५  बजेर ११ मिनेटमा ग्रहण लागेर नै चन्द्रमा उदाएको हो। त्यहीकारण ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। 

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। 

बेलुकी ५  बजेर १३ मिनेटमा सूर्यास्त भएपछि ग्रहण स्पष्ट देखिने छ। बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहणको उन्मीलन भएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए। 

बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिन्छ। नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिने छ। चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।

ग्रहणको सुतक बार्नेले बिहान ८ बजेर ११ मिनेटदेखि भोजन गरेका छैनन्। शास्त्रीय रुपमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ। 

बेलुकी ६ : ३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय बचन छ।

भरणी नक्षत्र र मेष राशिलाई कष्ट
आजको ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको समितिले जनाएको छ। 
 
चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ। 

यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक ढुङ्गेलले दिए।


 
ग्रहणमा के गर्नु हुन्छ? के गर्नु हुँदैन?
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ। अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नहुन्छ। 

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतम बताउँछन्। 

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ।
निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात्। 
पुरिषे  कृमियोनिश्च  मैथुने  ग्रामसुकरः।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति। 
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत्।।
 

अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ। 

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए। 

सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ। ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ। घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ। ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ। 

कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा गत ८ गते सूर्यग्रहण लागेको थियो।

मंगलबार शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लागेको हो। औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .