काठमाडौंको किर्तीपुरमा सोमबार दिउँसो गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका पानी ट्याङकर, फोर्स गाडी र टाटा सुमो लगायतका २२ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
यस्तै, कालो धुँवा फाल्ने र हेण्ड ब्रेक ठिक नभएका ८ ओटा सवारी साधन भने थप यान्त्रिक परिक्षण गर्नु पर्ने भएकाले ट्राफिक प्रहरी प्रभाग किर्तीपुरले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्वारारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाइटहरु नभएका, कालो धुँवा फाल्ने र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका १५० ओटा सवारी साधन चेकजाँच गरिएको थियो।
अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमाटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौंको कीर्तीपुर क्षेत्रमा आज खटिएको थियो।
अवस्था ठिक भएमा मात्रै सवारी साधन संचालन गर्न सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले अनुरोध गरे।
प्रतिक्रिया