काठमाडौँको पुरानो बानेश्वरस्थित ‘फ्रन्टलाइन अस्पताल’को सघन उपचार कक्ष (आईसीयू) मा गङ्गाबहादुर कार्की उपचाररत छन्। उनको बोल्नका लागि मुख त चल्छ तर हात, गोडा नचलेको एक वर्षभन्दा बढी भयो।
सङ्खुवासभा खादँबारी–६ का ३५ वर्षे कार्कीले यसैगरी पछिल्लो एक वर्ष कतारको अस्पतालमा बिताए। तीनवर्षे कामदार भिसामा कतारको ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ ग्रुपमा पुगेका उनले कामदारका रूपमा १३ महिना बिताएपछि गाडी दुर्घटनामा परे।
दुर्घटनापछि ‘ट्रमाटिक पाराप्लेजिया’ भएको उनको शरीर ‘स्पाइनल इन्जुरी’का कारण त्यसयता राम्रोसँग चलेको छैन।
दुर्घटनापछि कम्पनीले कतारमै एक वर्ष त उपचार गर्यो तर अब थप उपचार नसक्ने भन्दै नेपाल पठाएपछि फ्रन्टलाइन अस्पतालको आईसीयूमा उनी उपचाररत छन्।
‘विसं २०७८ कात्तिक २६ मा दुर्घटनापछि एक वर्ष त कम्पनीले उपचार खर्च बेहोर्यो, तर अब थप उपचार गर्न नसक्ने भन्दै नेपालस्थित दूतावासलाई जानकारीबिना नेपाल पठाइदियो’, उनको सहयोगार्थ खटिएका कुमार घिमिरेले भने।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का उपाध्यक्षसमेत रहेका घिमिरेले उपचारका लागि हाल आर्थिक सहयोग जुटाउनेसम्मको काम गरिरहेका छन्।
पहाडी जिल्ला सङ्खुवासभाबाट परिवारको खर्च जुटाउन खाडी मुलुक पुगेका उनका दुःख कतार पुगेको केही समयदेखि नै सुरु भयो। उनी २०७६ मङ्सिरमा कतार पुगे। छ महिनापछि सुत्केरी हुन नसक्दा उनको श्रीमतीको निधन भयो। त्यसबेला कोरोना महामारीले नेपालमा लकडाउन थियो। सीमा नाका र अन्तर्राष्ट्रिय हवाई उडान बन्द थिए। फलस्वरुप कार्कीले नेपाल फर्केर श्रीमतीलाई अन्तिम बिदाइ गर्न पाएनन्।
राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा काठमाडौँ थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा ल्याइए पनि श्रीमतीको उपचारका क्रममा मृत्यु भएको कार्कीको भनाइ छ। श्रीमती गुमाउनुको पीडामाथि आफू चल्नै नसक्ने गरी बिरामी हुँदा दुईजना अबोध बालकको भविष्य अन्योलले उनलाई झन् पिरोलेको छ।
‘जेठो छोरो १० वर्षको भयो तर सुस्तःमनस्थितिको छ, सात वर्षको कान्छो अझै बुझ्ने भएको छैन’, आईसीयू कक्षको शय्याबाटै उनले भने, ‘म आफैँ उपचारको अभावमा अबोध बालकलाई छाडेर जानुपर्ने हो कि भन्ने चिन्ताले बढी सताउन थालेको छ।’
पहाडी जिल्ला सङ्खुवासभाको सामान्य परिवार त्यसमाथि कमजोर आर्थिक अवस्थाका कारण कार्कीले आफ्नै उपचार गराउनसक्ने हैसियत छैन। उनको उपचारमा खटिएका डाक्टर चक्रराज पाण्डे कार्की निको हुन कम्तीमा एक वर्ष अझै उपचार गराउनुपर्ने बताउँछन्। त्यतिञ्जेलसम्मका लागि ठूलो आर्थिक सहयोग आवश्यक पर्छ। तर कार्कीको बैंकमा आफ्नै शरीर निको पार्ने गरी कमाएको पैसा छैन।
‘अहिले जसोतसो सहयोगस्वरुप प्राप्त भएको रकमले उहाँको उपचार भइरहेको छ’, कार्कीको उपचारमा खटिरहेका घिमिरेले भने, ‘उपचार गर्न धेरै समय लाग्ने भएपछि पैसा पनि धेरै चाहिन्छ, अब आर्थिक सहयोगका लागि अपिल गर्नुको विकल्प छैन।’
कार्कीको उपचारका लागि बिमा बापतको रकम अझै प्राप्त भएको छैन भने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयमा क्षतिपूर्तिका लागि माग गरिएको छ। तर हालसम्म कतारको सम्बन्धित कम्पनी, बिमा रकम तथा सरकारले दिने क्षतिपूर्तिको कुनै सहयोग प्राप्त नभएको कार्कीको भनाइ छ। एक वर्षभन्दा बढी समय अस्पतालको शय्यामा बिताएका कार्कीसँग सरकारले निको हुने गरी सहयोग गरिदिन्छ कि भन्ने आशा भने अझै पनि मनमा छ। रासस
Shares

प्रतिक्रिया