सिरियल किलरका रुपमा चर्चित ७७ वर्षीय फ्रान्सेली नागरिक चार्ल्स शोभराजले शुक्रबार रातिसम्म नेपाल छोड्न बल गरेका छन्।
१९ वर्ष केन्द्रीय कारागार सुन्धारामा थुनिएर शुक्रबार बिहान रिहा भएका उनलाई अहिले अध्यागमन विभागमा राखिएको छ।
त्यहाँका अधिकारीहरूसँग आफ्ना भनाइ राख्ने क्रममा उनले आफूले आजै नेपाल छाड्न चाहेको बताएका छन्।
'मेरो सबै कागजी प्रक्रिया पूरा हुँदैछ। म आजै देश फर्किन चाहन्छु', उनले त्यहाँ भने, 'अब मलाई यहाँ रोकिरहनु जरुरी छैन। सबै प्रक्रिया पूरा भएर पनि रोक्न नखोजिदिनू।'
तर अध्यागमन विभागका महानिर्देशक ऋषिराम तिवारीले भने शोभराजलाई डिपोर्ट गरेर फर्काउने समय दूतावासमा निर्भर रहेको बताएका छन्।
'शोभराजको आजै जाने जोड छ। तर उनी जाने कुरा फ्रान्सकै दूतावासको हातमा छ। दूतावासले जति सक्दो छिटो कागजी प्रक्रिया पूरा गरिदिन्छ, त्यति नै चाँडो उनी फ्रान्स जान सक्छन्।'
यदि दूतावासले भिसासहितका प्रक्रिया पूरा गर्न ढिला गरेमा शोभराजलाई जेलमै फर्काउने तयारी अध्यागमन विभागले गरेको छ।
कागजी प्रक्रिया पूरा नभएमा सुन्धाराबाट रिहा भएका उनलाई सदर खोर डिल्ली बजार पठाउने तयारी गरिएको छ।
शोभराजकी प्रेमिका भनिएकी निहिता विश्वासले पनि उनलाई आजै रातिसम्म फ्रान्स पठाउने बताएकी थिइन्। तर निहिता र उनकी आमा शकुन्तालले विभागमा शोभराजलाई भेट्न पाएनन्।
Shares
प्रतिक्रिया