समाज


तन्त्र जगाउन माेडलकै बली !

तन्त्र जगाउन माेडलकै बली !

नेपालखबर
पुस १०, २०७६ बिहिबार ११:२१,

काठमाडौंमा मोडलिङ गरेर राम्रो रकम पाउने आशा देखाएर युवतीलाई बली चढाउन सीमा पार गराउने गिरोह सक्रिय भएको छ। गिरोहका ७ जना पक्राउ परेपछि उनीहरुको योजना खुलेको हो।

गिरोहले काठमाडौमा मोडलिङ गर्ने भन्दै युवतीलाई ललाई फकाई विराटनगर पुर्‍याएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंले झापा घर भएकी ती युवतीलाई विराटनगर पुगेर उद्धार गरेको छ भने संलग्नलाई पक्राउ गरेको छ।

उनीहरुले तान्त्रिक पूजाका लागि बली दिन युवतीलाई भारत बेच्न लैजाने याेजना बनाएकाे प्रहरीले आशंका गरेकाे छ।

पक्राउ पर्नेमा नवलपरासीको कावासोती हुप्सेकोट–१ वस्ने वर्ष २६ को कृष्ण तामाङ, सप्तरीको राजविराज नगरपालिका–१४ वस्ने वर्ष ४० को उमेश शाह, दाङ घोराई नगरपालिका– १० वस्ने वर्ष २४ कि दिल कुमारी वुढामगर, सप्तरीको सप्तकोशि नगरपालिका–११ वस्ने वर्ष ३५ को उमेश माझी छन्।

यस्तै, प्रहरीले विराटनगर महानगरपालिका–८ वस्ने वर्ष ५१ को दिलिप पोदार, धादिङको साविक झार्लाङ्ग गाविस–३ (परिवर्तित खनियावास गाउँपालिका–२) घर भइ हाल काठमाडौंको सितापाईला बस्ने वर्ष २३को प्रेमा तामाङ र सुनसरी गढी गाउँपालिका–१ मधेली बस्ने वर्ष ३७ को रंजित कुमार चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुकाे साथबाट प्रहरीले विभिन्न तान्त्रिक सामाग्रीसहित नगद  र माेबाइल बरामद गरेकाे छ।

tantrik_1.jpg

काठमाडौं सितापाईकी प्रेममाया तामाङले काठमाडौमा मोडलिङ गर्न अनिवार्य ६ फिट उचाई भएको हुनु पर्ने र मोडलिङबाट राम्रो रकम पाउने भन्दै प्रस्ताव गरेपछि पीडित युवतिले स्वीकार गरेकी थिइन्।

प्रेममायाले युवतीको ६ फिट हाईट नापि सोको भिडियो विराटनगरमा उमेश शाहलाई पठाएको र उतावाट स्वीकृती भए पछि विराटनगर लाने योजना बनाएको बताइएको छ। पुनः युवतीलाई महिनावारी भए नभएको, घाउ चोटपटक, अप्रेशन गरे नगरेको सोधपुछ गरे पश्चात पीडित युवतीका आफन्तले शंका गरी महानगरीय प्रहरी परिसर काठमाडौमा जानकारी गराएका थिए। युवतीले आफूलाई गरेको प्रस्तावमाथि शंका लागेर महानगरिय प्रहरी परिसरमा यही पुस ४ गते उजुरी दिएकी हुन्।

उजुरी पछि तत्काल प्रहरी टोली परिचालन गरि युवतीको पिछा गर्दै प्रहरी विराटनगर पुगेकाे थियाे। विराटनगरमा रहेका प्रेमा तामाङका श्रीमान् कृष्णले ती युवतीलाई पुस ६ गते नै हवाई टिकट र २६ हजार रूपैयाँसमेत पठाइसकेका थिए। प्राविधिक कारणवश जहाजको टिकट रद्द भएपछि भोलिपल्ट बिहान ९ बजे उनी दिलमाया बुढामगरको साथमा विराटनगर गएकी थिइन्। युवतीकाे पिछा गरिरहेकाे प्रहरीले उनीहरुलाई एउटा धर्मशालाबाट पक्राउ गरेकाे हाे, जहाँबाट उनलाई जाेगवनी लैजाने याेजना बनेकाे थियाे।

'यदि प्रहरीले उनीहरूलाई पक्राउ नगरेको भए युवतीमाथि जुनै किसिमको काम हुनसक्थ्यो। उनलाई बलीको नाममा मार्न पनि सक्थे। बेच्‍न पनि सक्थे', बोगटीले भने, 'महानगरीय प्रहरी र मोरङ प्रहरीको समन्वयले उनीहरूलाई पक्राउ गर्न सफल भयौं।'

प्रहरीले उनीहरूलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ। उनीहरूमाथि मानव बेचबिखनको मुद्दा लगाउने तयारी भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .