कारोबार


सूर्य नेपालले बूढानीलकण्ठमा पाँचतारे होटल खोल्दै, पुँजी १८ अर्ब पुर्‍याइने

सूर्य नेपालले बूढानीलकण्ठमा पाँचतारे होटल खोल्दै, पुँजी १८ अर्ब पुर्‍याइने

दीपक भट्ट
पुस १०, २०७६ बिहिबार ११:१४,

चर्चित कम्पनी सूर्य नेपाल प्रालिले पाँचतारे होटल सञ्चालन गर्ने भएको छ। सुर्तीजन्य वस्तुमा लगानी गरेको कम्पनीले काठमाडौंको बूढानीलकण्ठमा पाँचतारे होटल सञ्चालन गर्ने निर्णय गरेको हो।

कम्पनीले होटल सञ्चालनको लागि लगानी समेत वृद्धि गर्ने निर्णय गरेको छ। सूर्य नेपाल सञ्चालक समितिले कम्पनीको हाल रहेको अधिकृत पुँजी छ अर्ब ५० करोडबाट १८ अर्ब रुपैयाँ पुर्याउने निर्णय समेत गरेको कम्पनी स्रोतले नेपालखबरलाई जानकारी दिएको हो।

सञ्चालक समितिले कम्पनीको अधिकृत सेयर पुँजी ६ करोड ५० लाख कित्तामा प्रतिकित्ता एक सयका दरले वृद्धि गर्ने निर्णय गरेको हो। यसअनुसार १८ करोड कित्ता सेयर विभाजन हुनेछ भने अधिकृत पुँजी १८ अर्ब रुपैयाँ पुग्नेछ।

वृद्धि भएको पुँजीले उपत्यकामा पाँचतारे होटल सञ्चालन गर्ने कम्पनीको भनाइ छ। स्रोतले नेपालखबरसँग भन्यो, ‘पाँचतारेको सबै मापदण्ड पूरा हुने गरी होटल सञ्चालन गर्ने सञ्चालक समितिबाट निर्णय भएको छ, होटलमा क्यासिनो समेत रहनेछ।’

कम्पनीका सेयर होल्डरहरुले उल्लिखित अधिकृत सेयर पुँजीवृद्धि कम्पनीको प्रबन्धपत्र तथा विनियमावलीमा प्रतिविम्बित गर्ने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने निर्णय समेत गरेको छ।

कम्पनीले बूढानीलकण्ठमा होटलको लागि जग्गाको प्रबन्ध गर्ने तयारी समेत गरेको छ। सोहीअनुसार कम्पनीले होटल निर्माणको काम समेत छिट्टै थालनी गर्ने स्रोतको भनाइ छ।

बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले सन् १९८६ देखि नेपालमा कारोबार सुरु गरेको हो। यसमा सबैभन्दा बढी सेयर स्वामित्व आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत छ। ३९ प्रतिशत सेयर नेपाली लगानीकर्ताको छ। त्यस्तै, २ प्रतिशत सेयर लगानी भने ब्रिटिश अमेरिकन टोबाको इन्भेष्टमेन्टको रहेको छ।

कम्पनी नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने सूचीमा समेत सूचीकृत हुँदै आएको छ। सुर्तीजन्य वस्तुमा मुख्य लगानी रहेको कम्पनीले सन् २०१८ मा नौ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको तथ्याङ्क समेत सार्वजनिक गरिसकको छ। अघिल्लो वर्ष अर्थात् सन् २०१७ मा कम्पनीको नाफा ७ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो। कम्पनीको वर्षिक कारोबार भने ३० अर्बभन्दा माथिको रहेको छ।

कम्पनीले चुरोट, सुर्ती, सलाई, अगरबत्तीलगायतका वस्तुहरुको उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .