ad ad

समाज


दिल्लीबाट नेपाली किशोरीको उद्धार, यही पूर्णेमा बलि दिने तयारीमा थिए तान्त्रिक

दिल्लीबाट नेपाली किशोरीको उद्धार, यही पूर्णेमा बलि दिने तयारीमा थिए तान्त्रिक

बालिका उद्धारबारे आयोजित पत्रकार सम्मेलन। तस्बिर : रासस


नेपालखबर
माघ २०, २०७९ शुक्रबार १५:५१, काठमाडौँ

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली किशोरीको उद्धार गरिएको छ। 

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको नयाँदिल्लीस्थित मङ्गलबजार गल्लीबाट ती किशोरीलाई मङ्गलबार उद्धार गरिएको हो। 

उद्धारपछि उनलाई एक सामाजिक संस्थाको जिम्मेवारीमा  राखिएको छ। 

ब्यूरोले यहाँ शुक्रबार पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो। 

'बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ', ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले भने, 'भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भए/नभएको परीक्षण गरिएको रहेछ।'

उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो। 

६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दामाथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी भएको थियो। त्यसक्रममा उनलाई भेटाएको बयान अभियुक्तहरुले दिएका थिए। 

'प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ', उनले भने, 'उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ।'

निर्देशक श्रेष्ठले बालिका भने यसबारे जानकार नभएको बताए। 'हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौँ', उनले भने,'दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो।'

पीडितलाई उनीहरुले मङ्सिर १७ गते मामाघरबाट काठमाडौँ ल्याएको खुलेको छ। पुस १९ सम्म काठमाडौँमा उनलाई बन्धक बनाइएको थियो। 

पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्‍याएको प्रहरीको भनाइ छ। 

भारत पुर्‍याएपछि विभिन्न तीन स्थानका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा उनलाई लगिएको थियो। 

आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण उनी मामाघरमा बस्दै आएकी थिइन। उनलाई प्रलोभन देखाउनेमा उनकै नजिकका साथी र महिला संलग्न रहेको खुलेको छ। 

अहिले प्रहरीले यस घटनामा संलग्न ६ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिए। 

प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ। 

पछिल्ला पाँच वर्षमा ३० जना बालिकालाई बेचबिखन तथा ओसारपसार  हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ। 
बेचबिखन तथा ओसारपसार  हुनबाट बालिका, महिला, बालक र पुरुष गरी चार सय ४३ जनाको उद्धार गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .