समाज


ग्याँस लिक भएपछि आमाले बोलाइन्, चन्द्र भण्डारीले बत्ती बाले, त्यहीबेला विस्फोट भयो

ग्याँस लिक भएपछि आमाले बोलाइन्, चन्द्र भण्डारीले बत्ती बाले, त्यहीबेला विस्फोट भयो

नेपालखबर
फागुन ४, २०७९ बिहिबार १२:७, काठमाडौँ

काठमाडौंको नयाँबानेश्वर, बुद्धनगरस्थित अढाई तले घरको भुईँ तलामा बस्थे चन्द्र भण्डारी र उनकी आमा। 

बुधबार राति १० बजेतिर खाना पकाउने ग्याँस सिलिन्डर लिक भएको कुरा सबैभन्दा पहिले आमा हरिकला भण्डारीले थाहा पाइन्। उनी सुत्ने कोठा किचननजिकै भएकाले ग्याँस लिक भएको उनलाई थाहा भयो। 

सिलिन्डरबाट ग्याँस लिक भइरहेको थाहा पाएपछि ८९ वर्षीया उनले छोरा चन्द्र भण्डारीलाई तत्कालै बोलाएर भनिन्। 

त्यसपछि आमाछोरा नै किचनमा पुगे। किचनमा पुगेर नेता भण्डारीले बत्ती बाले। तर उनले बत्ती बाल्नु र ग्याँसमा आगो लाग्नु एकै समयमा जस्तो भयो। 

ग्याँस लिक भएर गइरहेका बेला आगलागी हुनासाथ सिलिन्डर विस्फोट भयो। सिलिन्डर विस्फोट हुँदा आमाछोरा नै घाइते भए। 

नेता भण्डारी बत्ती बाल्न अलिक पर गएकाले उनको शरीरमा कम क्षति पुगेको छ। तर उनको तुलनामा आमाको शरी धेरै जलेको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले पहिले ग्याँस लिक भएपछि विस्फोट भएको देखिएको बताए।

'ग्याँस लिक भएपछि आमाछोरा नै किचेनमा पुगेको देखियो। त्यसक्रममा आमा ग्याँसनजिकै भएकाले धेरै क्षति भएछ', उनले भने, 'छोरा अलिक पर भएकाले आमाकोभन्दा कम शरीर जलेको देखियो।'

ग्याँस सिलिन्डर विस्फोट र आगोबाट जलेर घाइते भएका उनीहरु दुवैजनालाई तत्कालै कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो। 

अस्पतालमा लगिएपछि त्यहाँका चिकित्सकहरुले हरिकलाको शरीर ७० प्रतिशत जलेकाले अवस्था गम्भीर रहेको जनाएको थियो। 

‘माननीयज्यूको अनुहार, दुवै हात र दुवै गोडाहरुमा गरी २५–३० प्रतिशत र आमाको जीउको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवैजनाको श्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिन्छ’, अस्पतालले बिहीबार भनेको छ।

तर हरिकलाको उपचारका क्रममा बिहीबार बिहान १० बजेर ५८ मिनेटमा निधन भएको बर्न अस्पतालले जनाएको छ। 

नेता भण्डारीको अवस्था पनि गम्भीर छ। उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ। 

भण्डारीलाई उपचारमा लैजानका लागि श्री एयरलाइन्स रिजर्भ गरिएको छ। कांग्रेसका नेता भण्डारी गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .