ad ad

समाज


प्रहरीमा ३० वर्षे हटाउने फाइल फिर्ता, एक महिनापछिको आईजीपी को?

प्रहरीमा ३० वर्षे हटाउने फाइल फिर्ता, एक महिनापछिको आईजीपी को?

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ३० वर्षे सेवाअवधि हटाउने प्रयास गरेका थिए


उजिर कार्की
फागुन ४, २०७९ बिहिबार १९:५०, काठमाडौँ

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आफ्नो कार्यकाल लम्ब्याउने गरी नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउने प्रयास गरेका थिए। तर उनको त्यो प्रयास सत्ता परिवर्तनसँगै असफल भएको छ। 

३० वर्षे हटाउन अर्थ मन्त्रालयले सहमति दिइसकेको थियो।

सहमतिका लागि कानुन मन्त्रालयमा पठाइएको भए पनि त्यहाँबाट कुनै कारबाही नगरी फाइल गृह मन्त्रालयमा नै फिर्ता पुगेको छ। यससँगै तत्कालका लागि ३० वर्षे हट्ने सम्भावना अन्त्य भएको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकाल चैत ११ गतेदेखि सकिँदैछ।

अघिल्लो सरकारले ३० वर्षे हटाएर धिरजप्रताप सिंहलाई नै आईजीपीमा निरन्तरता दिन चाहेको थियो। ३० वर्षे हटाएर आईजीपीको कार्यकाल ३ वर्षे बनाउने प्रस्ताव गरिएको थियो। हाल आईजीपीको कार्यकाल ४ वर्ष रहने व्यवस्था छ। आईजीपीको उमेर हद ५८ वर्ष कायम रहने प्रस्ताव गरिएको थियो। 

तर अब यो प्रस्ताव अनुसार ऐन संशोधन नहुने भएपछि अबको एक महिनापछि नेपाल प्रहरीले नयाँ महानिरीक्षक पाउने निश्चित जस्तै भएको हो। 

तर भावी आईजीपीका दाबेदारहरु अहिले पनि डीआईजी नै छन्। झण्डै ८ महिनादेखि नेपाल प्रहरीमा एआईजी रिक्त भए पनि सरकारले बढुवा गरेको छैन। केही दिनमै बढुवा गर्ने चर्चा भने चलिरहेको छ। 

हाल नेपाल प्रहरीमा ५ एआईजी रिक्त छन्। एआईजी पूजा सिंह बिहीबारदेखि अवकाश भएकी छन्। यसअघि विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बिसी, र रवीन्द्रबहादुर धानुक अवकाश भएका थिए। 

बाँकी रहेका सबै एआईजी आईजीपीसँगै चैत ११ गते अनिवार्य अवकाशमा जानेछन्। एआईजीहरु सकहुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, डीआईजीहरु मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य पनि सोही मितिमा अवकाश हुनेछन्। 

त्यसपछिको आईजीपी वसन्त कुंवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा मध्येबाट बन्ने सम्भावना बढी छ। उनीहरु वरीयतामा क्रमशः १ देखि ४ सम्म छन्। त्यसअघि नै ५ एआईजी बढुवा भए श्यामलाल ज्ञवाली, किरण बज्रचार्य, मीरा चौधरी भीम ढकाल र सन्दीप भण्डारी पनि एआईजीको लविइङमा छन्। 

यसअघि सरकारले वरीयता मिचेर आईजीपी नियुक्त गर्दा पनि सर्वोच्चले बदर नगरेकाले सरकारले हाल कायम डीआईजी मध्येबाट जसलाई पनि आईजीपी बनाउन सक्ने बाटो भने खुला छ।  

हाल गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री पुष्पकमल दाहालले नै लिएका छन्। यसअघि गृहमन्त्री रवि लामिछानेले भने आईजीपीका प्रतिस्पर्धीहरुलाई प्रदेशमा सरुवा गर्दै प्रदेशमा गरेको कामको आधारमा आईजीपी बनाउने बताएका थिए। डीआईजी हुनासाथ एआईजी बढुवामा लबिइङ गर्नकै लागि काठमाडौं बसेका उनीहरुलाई लामिछानेले प्रदेशमा पठाएका थिए। 

एआईजीका प्रतिस्पर्धीमध्ये पहिलो नम्बरमा रहेका वसन्त कुँवर र दोस्रो नम्बरमा रहेका टेकप्रसाद राई मात्रै प्रदेशमा बसेर काम गरिरहेका छन्। अरु भने नेताहरुलाई भेट्न र लबिइङ गर्न यसबीचमा पटकपटक काठमाडौं धाइरहेका छन्। काठमाडौं धाउनेमा कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकाल पनि छन्। 

अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली पनि काठमाडौं आएर एआईजी बढुवाको लबिइङ गरिरहेका छन्। 

यी ७ डीआईजीमध्ये ५ जनालाई एआईजीमा बढुवा गर्ने तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .