११ दिन लामो पैदल यात्रा हिँडेकी कल्पना न थाकेकी छन् न उनका पाइला नै रोकिएका छन्। ६ महिने दूधेबालक च्यापेर आएकी उनको काखले आराम खोजेको छ। अब त उनलाई मरे पनि सरकारकै काखमा गएर मर्ने मन छ।
धनुषाकी कल्पना धामीले केही वर्षअघि साहुसँग ५० हजार ऋण लिएकी थिइन्। ब्याजसहित एक लाख तिरिसकिन् तर साहुले अझै दुई लाख बाँकी छ भन्दै दिनरात मानसिक याताना दिइरहन्छ।
साहुको प्रताडन खेप्न नसकेपछि बाध्य भएर उनी दूधे बालक छोरो च्यापेर धनुषाबाट पैदलयात्रा काठमाडौं निस्किन्। उनले अरु साथीहरुसहित ११ औँ दिनमा काठमाडौं टेकिन्।
कल्पनाले लिएको सावाँभन्दा ५० हजार बढी त ब्याज नै तिरिसकिन्। तर साहुले अझै दुई लाख बाँकी छ भनेर धम्क्याइरहन्छ।
साहुले दुई लाखको कागजै बनाएको उनले सुनाइन्। ‘साहु मुसर यादवले महिनाको २० हजार ब्याज माग्छ’, उनले भनिन् ‘परिवारका सबैलाई मारिदिन्छु भन्छ। मेरो ६ महिने बच्चा पनि मारिदिने धम्की दिएको छ। पटक पटक मुख छाडेर नराम्रो गाली दिन्छ।’
सरकारले दुःख सुन्छ भनेर ११ दिनको कठिन यात्रा गर्दै काठमाडौं आएको उनले बताइन्। ‘सरकारले हाम्रो पीडा सुनेन भने म त्यहीँ मर्छु, अब जे हुन्छ सरकारकै अगाडि हुन्छ’, उनले दृढअठोटसहित भनिन्।
कल्पनाको जस्तै सिरहाको लहान नगपालिका–७ का श्याम विश्वकर्माको पीडा पनि कम छैन।
उनले २०७१ र ०७४ गरेर साहुसँग १० लाख ऋण लिएका थिए। सावाँ ब्याज गरेर २०७७ मै २७ लाख तिरिसक्दा पनि अझै क्रुणमुक्त भएका छैनन्।
पैसा मात्रै होइन, उनको घरबास पनि उजाडिएको छ। गत वर्ष साहुले घरमै आएर मुख छोड्दै गाली गरे। घर छोडेर नगए जे पनि हुने भन्दै धम्की दिएपछि उनले घर छाडे। उनले घर साहुको जिम्मा लगाएर परिवारका सात सदस्यसहित हिँडे।
मिटरब्याजीले उनीहरुलाई दिनुसम्म दुःख दिए। ‘हामीलाई त त्यसै पनि दुःख छ। हामी सबै पीडित हौँ’, उनले भने, ‘गाउँमा न्याय मिलेन, अनि काठमाडौंतिर गुहार लगाउन हिँड्यौँ।’
न्याय खोज्दै बर्दिबासबाट हिँडेर ११ औं दिनमा काठमाडौं टेकेका उनीहरुको पिडा सुनिसक्नु छैन।
श्यामका दाजुले पसल थाप्न २०७१ सालमा साहुसँग पाँच लाख रुपैयाँ ऋण लिएका थिए। त्यही वर्ष उनले ब्याजसहित उक्त पैसा तिरिसकेका थिए।
श्यामका दाइ बिरामी भएपछि फेरि उनै साहुसँग पाँच लाख ऋण लिए।
‘२०७६ मा दाइको मिर्गौलामा समस्या देखिएपछि पाँच लाख ऋण लिएका थियौँ’, उनले भने, ‘तर साहुले तिरिसकेको पैसा पनि जोडेर धेरै रकम बनाएछ।’
‘दुई वर्षअघि दाइ पनि बिते। साहुसँग सबै गरेर दश लाख ऋण लिएको थिएँ’, उनले भने, ‘पाँच लाख तिरेसकेको थिएँ, त्यो पहिलाको कुरा हो। दाइ र मैले गरेर १० लाख ऋणको बदला २६ लाख तिसकेका छौँ।’
२०७७ सालमा साहु आएर घर खाली गर्न भन्दै धम्की दिएको उनले सुनाए।
‘२०७७ सालमा साहु आएर घर खाली गर भन्दै धम्की दिए। छोराछोरीलाई गाली पनि गरेपछि हामी घर खाली गरेर भाडामा बसेको छौँ’, उनले भने ‘घरबेटीलाई पनि यिनीहरुले पैसा तिर्न सक्दैनन्, किन बस्न दिएको भन्दै उकास्छन्। दुई वर्ष भयो घरभाडा तिरेको छैन। बिजुलीको पैसा तिरेरको छु। घरबेटीले हाम्रो समस्या बुझेर पैसा मागेका छैनन्।’
उनका दुईजना छोरा र दाजुका तीनजना छोरी र श्याम दम्पतीसहित परिवारका सात सदस्यलाई छाक टार्न पनि अहिले धौ धौ छ।
‘१४ वर्षको छोरो होटेलमा गएर काम गर्छ। स्थिति कमजोर भएर पढाउन सकिन’, यति भनेपछि उनी भक्कानिए।
मिटरब्याजी साहुको आतंकले बजारमा धेरैले काम दिन पनि छोडिसकेका उनले सुनाए।
‘अहिले हामी सडकमा छौँ। तनावले श्रीमतीलाई प्रेसरले हानेर प्यारालाइसिस भएको छ। सबैको बिचल्ली छ’, उनले भने, ‘सरकारले न्याय दिनुपर्छ। बाध्य भएर आन्दोलन गरेका छौँ। हामी भोक र पिरले मरिरहेका छौँ। अब सरकारकै अगाडि गएर मर्छौं भनेर आएका हौँ।’
सरकारले पिडीतलाई केही न केही राहत दिने आशमा काठमाडौं आएको उनले बताए।
मिटरब्याजीलाई प्रमुख जिल्ला अधिकारी र प्रहरी सबैले जोगाइरहेको उनको आरोप छ।
‘भित्रभित्र उनीहरु मिलिरहेका छन्’, उनले भने, ‘माथिबाट कारबाही गर भनेर आदेश नआएसम्म हामी गर्न सक्दैनौँ भन्छ।’
मिटरब्याजीविरुद्ध प्रधानमन्त्रीलाई आवाज सुनाउन बर्दिबासबाट मार्च सुरु गरेका पीडितहरु आइतबार काठमाडौं आइसकेका छन्।
बर्दिबासदेखि पैदलयात्रा सुरु गरेका ८५ जना पीडित ११ औं दिनमा आइतबार दिउँसो मातातीर्थको कुण्डनजिकै रहेको पौवामा बसेर काठमाडौं छिरेका हुन्।
भिडिओ:
प्रतिक्रिया