गत हप्ता ड्यूक र डचिस अफ ससिक्स राजकुमार ह्यारी र मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका थिए।
ह्यारी र मेगनले राज परिवारसँग छलफल नै नगरी शाही जिम्मेवारी त्याग्ने घोषणा गरेका थिए।
वेलायती महारानी र राजकुमार ह्यारीबीच ड्यूक एवम् डचिस अफ ससिक्सको भावी भूमिकाबारे सोमबार छलफल हुने बीबीसीले जनाएको छ।
बीबीसीका शाही संवाददाता जोनी डाइमन्डका अनुसार उक्त छलफलले केही दिनभित्रै समाधान खोज्ने महारानीको चाहना अनुरूप राजकुमार ह्यारी र उनकी पत्नी मेगनको राजपरिवारसँगको नयाँ सम्बन्ध परिभाषित गर्ने विषयलाई अर्को चरणुमा पुर्याउने आशा गरिएको छ।
राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ड्यूक र डचिस अफ ससिक्सको घोषणापछि विभिन्न चरणमा भएका बैठक र परामर्श पछि सोमबार छलफल हुन लागेको हो।
राजकुमार ह्यारी र उनकी पत्नीको ब्रिटेनको राजपरिवारमा अब के भूमिका हुन्छ भन्ने विषयमा छलफल चलिरहँदा डचिस अफ ससिक्स मेगन मार्कल भने क्यानडा गएकी छन्।
ह्यारी र मेगन क्रिस्मसको बिदामा छोरा आर्चीलाई लिएर क्यानडा गएका थिए।
त्यहाँबाट स्वदेश फर्किएपछि उनीहरूले अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै त्यस्तो घोषणा गरेका थिए।
गत बुधबार इन्स्टाग्राममार्फत् अप्रत्याशित निर्णय गरेपछि महारानी इलिजावेथ दोस्रो नाति ह्यारीसँग निकै दुखी भएको बताइएको थियो।
ह्यारीले भनेका थिए,‘हामी शाही परिवारको वरिष्ठ सदस्यको हैसियतबाट अलग हुन चाहन्छौं। आर्थिक रुपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौं। यद्यपी महारानीलाई हाम्रो समर्थन जारी रहन्छ।’
ह्यारीले आफू श्रीमती र छोरासँग वेलायत र अमेरिका दुवै स्थानमा बस्ने आफ्नो वक्तव्यमा बताएका थिए।
ह्यारीको फैसला गलत भएको विश्लेषण भइरहेका छन्। ह्यारीमाथि सुरक्षाको चुनौती सिर्जना हुने अनुमान गरिएको छ।

प्रतिक्रिया