ad ad

समाज


खप्तडमा के गर्दैछन् बाबा रामदेव र आचार्य बालकृष्ण?

खप्तडमा के गर्दैछन् बाबा रामदेव र आचार्य बालकृष्ण?

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहसँग आचार्य बालकृष्ण


केशव सावद
जेठ २३, २०८० मंगलबार १५:१६, काठमाडौँ

भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड पुगेका छन्। प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा सहभागी हुन उनीहरु खप्तड पुगेका हुन्। 

रामदेव र आचार्य बालकृष्ण खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा मंगलबारबाट सुरु भएको तीन दिने आध्यात्मिक सम्मेलनमा सहभागी हुने छन्।   

उनीहरु दुवै छुट्टाछुट्टै पश्चिमी सीमानाका गड्डाचौकी भएर सुदूरपश्चिम आएका हुन्। रामदेव मंगलबार बिहानमात्रै गड्डाचौकी भएर सुदूरपश्चिम भित्रिएका हुन्। आचार्य बालकृष्ण गत शनिबार कञ्चनपुर आएका थिए। 

गड्डाचौकी भएर शनिबार मध्यान्ह १२ बजे कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेका उनी दिउँसो कैलाली सदरमुकाम धनगढीमा पतञ्जली योग समितिको कार्यक्रममा सहभागी भए।

पतञ्जली योग समिति नेपालका प्रमुख लवदेव मिश्रको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा सहभागी भएर आचार्य बालकृष्ण कैलाली क्षेत्र नम्बर २ का धार्मिक र पर्यटकीयस्थलको भ्रमणमा गएका थिए। 

‘आचार्यज्यू मुख्यमन्त्रीज्यूकोे निमन्त्रणमा उहाँको निर्वाचन क्षेत्रमा पर्ने लम्कीचुहा–३ बल्चौरस्थित कैलाशेश्वर धाम र पर्यटकीय क्षेत्र चिसापानी पुग्नुभएको थियो,’ शाहका स्वकीय सचिव टेकराज कठायतले भने, ‘उहाँले कैलाशधाम तीर्थस्थल र चिसापानीलगायत धार्मिक तथा पर्यटकीयस्थलमा प्रदेश सरकारसँग सहकार्य गरेर विकास निर्माणमा सहयोग गर्ने बताउनु भएको छ।’ 

एक रात धनगढीमा बिताएर आचार्य बालकृष्ण आइतबार बिहान डोटीको दिपायल गएका थिए। कठायतका अनुसार उनी एक सहयोगी (चेला) र भारतीय टेलिभिजनका एकजना क्यामेरा पर्सनकासाथ सुदूरपश्चिम आएका थिए।  

आइतबार दिपायलका धार्मिक पीठहरुको दर्शन गरेका आचार्य बालकृष्णलाई सोमबार मुख्यमन्त्री शाह नेतृत्वको टोलीले अछाम र बाजुराका धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गराएको थियो। 

मुख्यमन्त्री शाहका स्वकीय सचिव कठायतले आचार्य बालकृष्णलाई हेलिकप्टरमार्फत् अछामको वैद्यनाथ धाम, रामारोशन पर्यटकीय क्षेत्र र बाजुराको बडिमालिकाको अवलोकन गराइएको जानकारी दिए। 

उनका अनुसार सोमबार नै आचार्य बालकृष्णलाई खप्तड क्षेत्रमा पर्‍याएर मुख्यमन्त्री शाहको टोली प्रदेश राजधानी (अस्थाई) धनगढी फिर्ता भएको थियो। टोलीमा सुदूरपश्चिम प्रदेशका मन्त्रिपरिषद् सदस्यहरु, सभामुख, संसदीय दलका नेताहरु सहभागी थिए। 

आचार्य बालकृष्ण र मंगलबारमात्रै खप्तड पुगेका योगगुरु रामदेव तीन दिनसम्म उक्त क्षेत्रमा बस्ने बताइएको छ। खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काका अनुसार सम्मेलनमा स्वामी रामदेवले ध्यान र प्रवचन दिने कार्यक्रम तय भएको छ। 

अन्तर्राष्ट्रियस्तरमा खप्तडको प्रचारप्रसार हुने र यसले यहाँको पर्यटन विकास हुने अपेक्षा गरिएको उनको भनाइ छ। खप्तडबारे पौराणिक र

आध्यात्मिक पक्षलगायतमा कार्यपत्र प्रस्तुत गर्ने तयारी आयोजकले गरेको छ। 
सम्मेलनमार्फत खप्तडको आध्यात्मिकता र संस्कृति छिमेकी मुलुक भारतसहित विश्वभर पुर्‍याउन मद्दत पुग्ने कार्यकारी निर्देशक खड्काले बताए। भारतीय पर्यटक मात्र खप्तड भित्र्याउन सके पर्यटनमार्फत् सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने उनको भनाइ छ। 

डोटी, बाजुरा, अछाम र बझाङ गरी चार जिल्लाको भूगोलमा समेटिएको खप्तडलाई २०४२ सालमा सरकारले राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो। खप्तड समुद्र सतहबाट २४ सय मिटरदेखि ३७ सय मिटर उचाइमा अवस्थित छ। 

आध्यात्मिक भूमि खप्तडमा जैविक विविधता र धार्मिक सम्पदाको सुवास पाइन्छ। खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किलोमिटरमा फैलिएको छ। 

यसको उचाइ १२ सय ६२ देखि ३२ सय ७६ मिटरसम्म छ। खप्तडको लेकमा २२ वटा पाटन (चौर) छन्। यहाँ आध्यात्मिक चिन्तक खप्तडबाबाले ५० वर्ष बिताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .