सरकारले सस्तो भन्सार शुल्क भएपनि ज्यान नै जोखिममा राखेर हिरा तस्करीमा संलग्न भारतीय नागरिक मोहमेद मेयदिन सताथलीका विषयमा बिस्तृत अनुसन्धान थालेको छ।
बहुमुल्य हिरा र पन्ना सहित पुस २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सताथलीसँग सरकारले सोधपुछ थालेको हो। उनी लगातार ३५ पटकसम्म त्रिभुवन विमानस्थलको प्रयोग गर्दै आउजाउ गरिरहेका थिए।
‘सम्पत्ती शुद्धिकरण र आतंकवादीको लगानीको आशंका गरेका छौं,’ गृह स्रोतले नेपालखबरसँग भन्यो ‘उनी भरिया हुनसक्छन्, तर बरामद हिरा कसको थियो भन्ने विषयमा केन्द्रित छौं।’
स्रोतका अनुसार विमानस्थलमा भन्सार बुझाएर हिरा ल्याउँदा त्यसको स्रोत खुलाउनु पर्छ। नेपालमा बैधानिक तरिकाबाटै न्युन तहमा हिराको कारोबार हुने गरेको छ। तर भारतीय नागरिक पटक–पटक काठमाडौं विमानस्थल प्रयोग गरेर आउजाउ गरिरहनु र उनले मलद्वारबाट छिराएर तल्लोपेटमा राखेर हिरा र पन्ना तस्करी गरेको विषय गृह अधिकारीहरुलाई खट्किएको हो। यस विषयमा परराष्ट्र मन्त्रालय मार्फत भारतमा समेत बुझ्ने तयारी भइरहेको स्रोतले नेपालखबरलाई जानकारी दियो।
अधिकारीहरूका अनुसार नगद भन्दा बहुमुल्य धातु तस्करी मार्फत रकम संकलन पछिल्लो समय आतंकवादी संगठनहरूका लागि सजिलो माध्यम बनेको छ। सानो हिराको पोका बोकेर छिर्ने र त्यसको बेचबिखनबाट आउने रकम आतंककारी गतिविधी संचालनमा खर्च हुने गरेको हो।

भारतको तमिलनाडु राज्यको मदुराईका स्थायी बासिन्दा सताथलीले मलद्वारमा लुकाएर ३ करोड रुपैयाँ बराबरको हिरा र पन्ना तस्करी गरेका थिए। भारतीय राहदानी बाहक उनी भन्सार, विमानस्थल र अपराध महाशाखाको संयुक्त कारबाहीमा पक्राउ परेका थिए। उनको साथबाट २ सय ग्राम बराबरका बनिबनाउ हिरा बरामद भएको छ। उनले २० वटा पोकामा विभिन्न क्यारेटका हिराहरु मलद्वारमा लुकाएर तस्करी गरेका थिए। यस्तै पन्ना समेत उनले मलद्वारमा लुकाएका थिए।
‘भन्सार दर समेत त्यती धेरै नभएको वस्तुका लागि यतिठूलो जोखिम किन उठाए भन्ने विषयमा केन्द्रित छौं,’ विमानस्थल भन्सार प्रमुख बिष्णुराज ढकालले नेपालखबरसँग भने, ‘सम्पत्ती शुद्धिकरणको आशंका गरेका छौं।’
प्रमुख ढकालले अनुसन्धान अधिकृत तोकेर सताथलीका विषयमा बिस्तृत अनुसन्धान भइरहेको बताए। उनले बरामद हिराको जाँच गरिएको र सक्कली भएको बताए।
मलेसियाबाट नेपाल एयरलाईन्सको आरए ०४१६ उडानमा आएका उनलाई विमानस्थलबाट बाहिरिन दिएर महाशाखाबाट खटिएका प्रहरीले पछ्याएका थिए। उनलाई लिन कोही आउने वा उनले कसैलाई भेटने आशंकामा पछ्याए पनि उनी एक्लै विमानस्थलबाट बाहिरिन थालेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
महाशाखाबाट खटिएका अधिकारीहरुले सताथलीले सुन तस्करी गरेको आशंका गरेका थिए। उनलाई काठमाडौं मेडिकल कलेजमा लगेर एक्सरे गर्दा समेत दुईवटा सानो पोका तल्लो पेटमा देखिएको थियो। प्रहरी अधिकारीहरुले चिकित्सकको रोहबरमा सताथलीलाई शौच गराएपछि दुईवटा पोका भित्र साना–साना पोका बनाएर फरक–फरक क्यारेटका हिरा र पन्ना बरामद भएको थियो। हिरा र पन्नाको क्यारेट अनुसार दररेट कायम हुने गर्छ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाले सताथलीका विषयमा विभिन्न निकाय र ब्यक्तिहरुले चासोका साथ सोधपुछ गरिरहेको बताए। उनले विभिन्न कोणबाट उनका विषयमा बुझ्ने प्रयास भएपछि महाशाखाले समेत चासोका साथ घटनाको अनुसन्धान गरिरहेको बताए। उनले हिरा तस्करी प्रहरीका लागि नयाँ र कमैमात्र हुने घटना भएकाले समेत यसलाई विशेष रुपमा हेरिएको दाबी गरे।
‘हिरा तस्करी र तस्करीमा संलग्न ब्यक्तिलाई हामीले बरामद सामाग्री सहित भन्सारमा बुझाएका थियौं,’ एसएसपी थापाले भने ‘यस विषयमा विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं।’
स्रोतका अनुसार हिरा र पन्नाको बजार भारत हो। तर भारतमै हिरा र पन्नाका ठूला तथा स्थापित कम्पनीले ब्यापार गरिरहेका छन्। सताथली कुनै समूहका लागि काम गर्ने भरिया हुन्। यतिबेला त्यो समूहको पहिचानका लागि सरकारी अधिकारीहरु जुटेका छन्।

प्रतिक्रिया