समाज


प्रहरीको गोली लागेका वीरेन्द्र : जो स्लाइन पानीको सहारामा सरकारलाई कुर्दैछन्

प्रहरीको गोली लागेका वीरेन्द्र : जो स्लाइन पानीको सहारामा सरकारलाई कुर्दैछन्

स्लाइन चढाएर अनसनमा बसेका वीरेन्द्र जैसी। तस्बिर : सरोज नेपाल


समृद्धा केसी
असार ६, २०८० बुधबार १९:४९, काठमाडौँ

२ असारदेखि माइतीघरमा अनसन बसेका कैलालीको जानकी गाउँपालिकाका २५ वर्षीय वीरेन्द्र जैसीको स्वास्थ्य बिग्रिँदै गएको छ। 

२०७३ सालमा प्रहरी नायव निरीक्षक बृजलाल अधिकारीलाई बचाउन जाँदा प्रहरीबाटै  चलाएको गोली लागेर जैसी घाइते भएका थिए। 

तस्करले काठ लग्दै गरेका बेला प्रहरी नायव निरीक्षक अधिकारीले हतकडी लगाउन खोज्दा उनीमाथि नै आक्रमण गरेका थिए।

प्रहरीलाई कुटपिट गरेको खबर पाएपछि बचाउन गएका जैसी आत्मरक्षका लागि  प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए। 

सरकारले जैसीको उपचार खर्च सम्पूर्ण व्यहोर्ने र बाँचुञ्जेल उपचार गरिदिने प्रतिबद्धता जनाएको थियो।

उपचार गर्दा लागेको १० लाखको बिल बुझाउँदा सरकारले जम्मा एक लाख ९१ हजार मात्रै दिएको जैसीले बताए। 

मंगलबार बेलुकाबाट पेट दुख्ने, शरीर पोल्ने, आँखा हेर्नै नमिल्ने र रिगंटा लाग्ने भएपछि वीर अस्पतालका डाक्टरले माइतीघरस्थित अनसनस्थलमै जाँच गरेको उनले सुनाए। 

‘शरीरमा पानीको मात्रा धेरै कम भइसकेको छ। कमजोर भएको भन्नु भएको छ,’ जैसीले भने ‘त्यही भएर अनसन बसेकै ठाउँमा स्लाइन दिनु भएको छ। अहिले त हिँड्न पनि गाह्रो छ।’

उनी अनसन बसेको चार दिन बितिक्यो। तर अहिलेसम्म न सरकारी निकायका कसैले सोधेका छन् न स्वास्थ्यको चिन्ता नै लिएका छन्। 

बुधबार भने गहृ मन्त्रालयका प्रवक्ताले त्यहाँ खटिएका डीएसपीलाई फोन गरेर उनलाई मन्त्रालय पठाइदिन भनेको सुनाए। 

‘डीएसपी सा’व आएर माथिबाट गृह मन्त्रालयमा पठाइदिनु भन्नु भएको छ जान्छौ त भनेर सोध्नु भयो’ जैसीले भने, ‘सबै कुरा अनसनबाट पूरा हुँदैन, उतै पठाइ दिनु बसेर कुरा गरौँला भन्ने खबर आएको थियो।’

तर जैसीले सात वर्षसम्म नपाएको न्याय अब गृहमा गएर पाउने आशा नराखेको सुनाए। 

‘म अनसन बसिसकेँ, अब अहिलेसम्म कोही आएको छैन। तर पनि म अनसन जारी  राख्छु’, उनले भने, ‘यो मेरो लडाइँ मात्र होइन। म जस्तै न्याय पाएर गाउँ गाउँमा बसेकाहरुका लागि पनि हो।’

एउटा राष्ट्र सेवकलाई बचाउन जाँदा जिन्दगी नै बिग्रेको बताउँदै उनले तर राज्यले नदेखेकोमा गुनासो गरे।

‘म त राष्ट्रसेवकलाई बचाउन गएको थिएँ। कुनै अपराध गर्न गएर गोली लागेको पनि होइन’, उनले भने। 

यस्तो थियो घटना  
१ फागुन २०७३ को साँझ खाना खाएर परिवारसँग कुराकानी गरिरहेका जैसीले अत्तालिएको आवाजमा बाहिर कसैले बोलाएको सुन्छन्। उनी बाहिर निस्कन्छन्। 

उनले प्रहरीको बर्दीमा आएका एकजनाले अत्तालिँदै गाउँलेसँग गुहार मागिरहेको देखे।

पूर्वबाट पश्चिमतर्फ आइरहेको राँगा गाडामा सालका चिरान काठ ल्याउँदै गरेको अवस्थामा प्रहरी नायव निरीक्षक बृजलाल अधिकारी र सहयोग माग्न आएका प्रहरी जवान गणेशबहादुर सेठ्ठीले रोकेर सोध्न थाल्छन्।

काठ तस्करी गरेको भन्दै प्रहरीले दुई जनालाई हतकडी लगाउँछन्। तर १०/१५ जना अपरिचित व्यक्तिहरु आएर ती प्रहरीमाथि आक्रमण गर्न थाल्छन्। 

अपरिचित व्यक्तिबाट गम्भीर घाइते बनेका दुई प्रहरीमध्ये सेठ्ठी भाग्न सफल भए। प्रहरीले सहयोगका लागि गाउँलेसँग हारगुहार माग्न आइपुगेको उनले सुनाए।

प्रहरी जवानको कुरा सुनेर १०/१२ जना गाउँले त्यता लाग्छन्, अर्का प्रहरीलाई बचाउन। 

यता कुटाई खाइरहेका अधिकारी आत्मरक्षाको लागि पिस्तोलबाट २ राउन्ड फायर गरी भागिसकेका हुन्छन्। 

त्यस क्रममा उनलाई बचाउन गएका गाउँलेलाई अधिकारीले तस्करकै समूह ठानेर गोली चलाउँछन्। उनले जथाभावी गोली चलाउँदा वीरेन्द्र जैसीको दायाँ पेटमा लाग्छ।

तत्कालै उनलाई टीकापुर अस्पतालमा प्राथमिक उपचार गरेर कोहलपुर मेडिकल कलेजमा रिफर गरिन्छ। तर, अस्पतालले उपचार गर्न नसक्ने भन्दै शिक्षण अस्पताल महाराजगञ्ज पठाउँछ।

प्रहरी नायव निरीक्षक अधिकारीले आत्मरक्षाका लागि चलाएको गोली लागेका निर्दोष जैसी अस्पतालको बेडमा महिनौँ लडिरहन्छन्। तर, उनको उपचारमा सहयोगका लागि राज्यले अहिलेसम्म कुनै पहल गरेका छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .