यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमती पत्रको परीक्षामा सहभागी परीक्षार्थीको परिणाम फेरबदल गरेको दाबीसहित उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो।
शाहले सवारी चालक अनुमती पत्रको लिखित परीक्षामा सहभागी १८० जना र प्रयोगात्मक परीक्षामा २८३ जना परीक्षार्थीहरुको परीक्षाको परिणाम फेरबदल गरेको देखिएको अख्तियारको विज्ञप्तीमा उल्लेख गरिएको छ।
शाहले लिखित परीक्षामा सहभागी १३ जनाको उत्तर पुस्तिकाहरूको नतिजा/प्राप्तांक र २३ जनाको नतिजा÷प्राप्तांक सच्याएको पनि भनिएको छ।
शाहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएको भएकाले सोही ऐनको दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना सजायको माग दाबी गर्दै आरोप पत्र विशेष अदालतमा दायर गरिएको अख्तियारले जनाएको छ।
यस्तै, सोही कार्यमा तत्कालीन करार सेवामा सहायक कम्प्युटर अपरेटरमा कार्यरत नरेन्द्रकुमार कठरिया र पवनकुमार रावलको समेत संलग्नता देखिएकाले उनीहरुविरुद्ध समेत सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको छ।
तत्कालीन प्रमुख शाहले २८३ जना परीक्षार्थीहरुको परीक्षाको परिणाम फेरबदल गरेकोमा कठरियाले १६४ जना परीक्षार्थीहरुको प्रविष्ट नतिजालाई आफ्नो आधिकारिक युजर आइडीबाट स्वीकृत गरेको र पवनकुमार रावलले लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका ४ जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरेर आफ्नो आधिकारिक युजर आइडीबाट लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट गरेको पाइएको अख्तियारले जनाएको छ।
Shares

प्रतिक्रिया