समाज


कान्ति बाल अस्पतालमा शय्या अभाव, एउटै बेडमा तीन जनासम्मको उपचार

कान्ति बाल अस्पतालमा शय्या अभाव, एउटै बेडमा तीन जनासम्मको उपचार

नेपालखबर
साउन २१, २०८० आइतबार १२:३७, काठमाडौँ

कान्ति बाल अस्पतालमा शय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन्।

बालबालिकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ।

यस्तै, बालबालिकाहरुको इन्डोस्कोपी सेवा, मुटु रोगको ओपिडी सेवा सञ्चालन हुने गरेको छ। अहिले रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीहरु चाप छ। अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले पर्याप्त शय्या नहुँदा उपचारमा अफ्ठ्यारो भएको जानकारी दिए। उनले एउटा बेडमा दुईदेखि जना तीन जनासम्मलाई उपचार गर्नुपर्ने बाध्यता रहेको बताए।

अस्पतालमा ३३० शय्या छ।

अस्पतालमा पर्याप्त शय्या नहुँदा एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति रहेको बताए। उनले नर्सिङ जनशक्तिको पनि अभाव रहेको जानकारी दिए। डा.बसौलाले गत आर्थिक वर्षमा २ लाख बालबालिकाले उपचार सेवा लिएको जानकारी दिँदै अहिले दैनिक झन्डै नौ सय जना उपचारका लागि आउने गरेको बताए।

डा.बसौलाले अस्पतालमा एक जना नर्सले ६ देखि ८ जना बिरामीलाई सेवा पुर्याउनुपर्ने अवस्था रहेको बताए। उनले कहिलेकाहिँ दुई जना नर्सले पूरै वार्ड हेर्नुपर्ने अवस्था आउने गरेको भन्दै कम्तीमा पनि पाँच सय जनाको हाराहारीमा नर्सिङ जनशक्ती चाहिने बताए। हाल अस्पतालमा दुई सय जना नर्स कार्यरत छन्।

डा.बसौलाले भने, ‘बिरामी संख्या हेर्दाखेरी अहिले गर्मी मौसममा एउटै रेसियोमा बिरामी आउने देखिन्छ। अत्यधिक चाप चाहीँ साउन भदौ महिनामा देखिन्छ। दैनिक हेर्दाखेरी आठ सयदेखि नौ सयको हाराहारीमा ओपीडीमा आउनेको संख्या छ भने इमरजेन्सीमा एक सय ५० देखि दुई सय बिरामी आउने गर्छन्। हाम्रो अहिले तीन सय ३० बेडलेपनि धान्न सकेको छैन। एउटा बेडमा दुई जना तीन जना बसेको देख्न सक्नुहुन्छ।’  

उनले भने, ‘अब्जरबेसन वार्डमा २४ घण्टामा तीन चार जना बच्चा बसेकोसम्म भेट्न सक्नुहुन्छ। २५ बेडको अब्जरबेसन वार्ड र २५ बेडको इमर्जेन्सी छ। एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति छ। २५ बेडमा पनि ५०÷६० जना बालबालीका राख्नुपर्ने अवस्था छ। ओपीडी, फार्मेसी, ल्याबको रिपोर्ट हेर्दा दुई चारदिनदेखि बिरामीको अत्यधिक चाप छ।’

अस्पतालले मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार, इन्डोस्कोपी, मुटु रोगको ओपिडी सञ्चालन गर्दै आएको छ। दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको जानकारी दिए। कान्ति बालमा ५२ शैय्याको आइसीयु सञ्चालनमा छ।

एक हजार शय्याको अस्पताल निर्माण गर्ने गरि डीपीआर पूरा भएको जानकारी दिँदै डा.बसौलाले नौ अर्ब ३० करोडको लागतमा पाँच वटा भबन बनाउने योजना रहेको बताए। उनले इमरजेन्सी बाहेक अप्रेसनका लागि ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए।

कान्ति बाल अस्पतालले निकट भविष्यमा नै एमआरआई सेवा सञ्चालन गर्ने योजना बनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .