फार्मेसीका कर्मचारीले आत्महत्या गरेपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका चार कर्मचारीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्दा दर्ता गरेको हो।
फार्मेसी अधिकृत ३६ वर्षीय अमृत पोखरेलले असार २९ गते झुन्डिएर आत्महत्या गरेका थिए। कोइरालालाई फार्मेसीकै अन्य कर्मचारीले आत्महत्या गर्न बाध्य पारेको भन्दै उनकी श्रीमती मानिका कोइरालाले चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी थिइन्। त्यसलगत्तै महाराजगन्ज प्रहरी वृत्तले चार जनालाई पक्राउ गरेको थियो।
फार्मेसीका कर्मचारीहरु ४७ वर्षीया जुना स्थापित, ५५ वर्षीय भोजकुमार बस्नेत, ३३ वर्षीय विष्णुप्रसाद पौडेल र ३६ वर्षीय कृष्ण पन्तविरुद्ध मुद्दा दर्ता भएको हो।
पोखरेल २०६८ सालदेखि उक्त फार्मेसीमा काम गर्थे। २०७२ सालमा मुख्य प्राविधिक सहायकबाट प्राविधिक अधिकृतमा बढुवा भएका थिए।
प्रशासन प्रमुख रहेका भोजकुमार बस्नेतले आफ्ना पतिसँग पटकपटक रकम माग गरेको र नदिएपछि फार्मेसी स्टोर र डिस्पेन्सरीमा औषधिलगायत फार्मेसी सामग्री दुरुपयोग गर्न आफ्ना पतिलाई उक्साएको मोनिकाको जाहेरीमा उल्लेख छ।
यस्तै फार्मेसीमा अनियमितता गरेको आरोप लगाएर छानबिन समितिका नाममा बयान गराउने, धाकधम्की दिने, मानसिक रुपमा तनाव र यातना दिने, पदीय मर्यादाअनुसारको काम गर्न नदिने, फार्मेसी स्टोरबाट हटाई फार्मेसी डिस्पेन्सरीमा जबर्जस्ती काम गर्न बाध्य पार्ने गरेको आरोप जाहेरीमा छ।
यस्तै पोखरेललाई सरुवा गरी प्रशासनमा हाजिर गर्न लगाएको तर त्यहाँ आफ्नो कुर्सीमा बस्न नदिई मानमर्दन गरेको आरोप छ।
पोखरेलको सुसाइड नोट पनि फेला परेको थियो। उक्त नोटमा ‘आफूले गरेको गल्ती ढाकछोप गरी मलाई फसाउने सबैको जय होस्’ भनी लेखिएको थियो।
Shares

प्रतिक्रिया