अविरल वर्षाका कारण देशका विभिन्न ठाउँहरुमा बाढीमा फसेकाहरुको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
रौतहट जिल्लाको परोहा नगरपालिका ४ स्थित लाल बकैया खोलामा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
सोही नगरपालिका ४ बस्ने ४४ वर्षीय शेख हुसेन, ५९ वर्षीय शेख दाउत र ४५ वर्षीय समसुल शेख घाँस काटी फर्कने क्रममा एक्कासी पानीको वहाव बढी खोलाको किनारमा फसेका थिए।
सो बारे जानकारी पाउनासाथ सुरक्षा बेश फतुहाबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो।
यसैगरी सर्लाही जिल्लाको धनकौल गाउँपालिका ४ मैनाथपुर खोलामा पानीको वहाव बढ्न गई अड्किएका १ सय ५० जनाको सशस्त्र प्रहरीले साउन २३ गते सकुशल उद्धार गरेको छ।
घाँस काट्न गएका उनीहरु एक्कासी पानीको बहाव बढ्न गई अड्किएको भन्ने जानकारी पाउनासाथै नं. १० गण सर्लाहीबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो।
त्यसैगरी डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका ४ पुन्तुरा खोलामा अड्किएका दुई जनाको साउन २३ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
सोही ठाउँ बस्ने १८ वर्षीय महेश भाट र १३ वर्षीय तेज भाट खोला तर्ने क्रममा एक्कासी पानीको वहाव बढ्न गई खोलाको बीच भागमा अड्किएका थिए।
सो लगत्तै बिओपी परिगाउँबाट विपद् उद्धार सामाग्रीसहित खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो।

प्रतिक्रिया