समाज


यसपालि जाडो लम्बिने संकेत

यसपालि जाडो लम्बिने संकेत

नेपालखबर
माघ ११, २०७६ शनिबार २:२४,

यस वर्ष जाडो अलि लामो समयसम्म रहने संकेत देखिएको मौसमविद्ले बताएका छन्।

यस वर्ष पानी पार्ने प्रणाली पटकपटक भित्रिरहेकाले जाडो लम्बिने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।

‘अहिलेसम्मको स्थिति हेर्दा जाडो अलि लम्बेलाजस्तो देखिन्छ,’ शनिबार बिहान नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘यसपटक अलि सक्रिय खालको प्रणाली (पश्चिमी न्यून चापीय प्रणाली) पटकपटक भित्रिरहेको छ, जसले वर्षा र हिमपात गराउँदा देशभर चिसो बढ्ने गर्छ।’

यस वर्ष औसतभन्दा बढी हिउँदे वर्षा भएको उनले बताए। उनका अनुसार यसपटक ३/४ वर्षयताकै ठूलो हिउँदे वर्षा भएको छ।

‘घाम लागेर जमिन तात्तिन थालेको हुन्छ, तर फेरि अर्काे प्रणाली भित्रिन्छ र पानी पर्ने, हिमपात हुने गर्छ,’ उनले भने, ‘जसले गर्दा तापक्रम बढ्न पाउँदैन र चिसो बढ्छ।’

अहिलेसम्मको स्थिति हेर्दा यस्तो देखिए पनि मौसम सफा हुँदै गयो र दिनभर घाम लाग्न थाल्यो भने परिस्थिति फरक पनि हुन सक्ने वरिष्ठ मौसमविद् पौडेलको भनाइ छ।

‘हुन त अब बिस्तारै जाडो घट्ने र गर्मी सुरु हुनुपर्ने हो,’ उनले भने, ‘तर छिनछिनमा बादल आउने, घाम लाग्न नपाउने भइरह्यो भने चाहिँ चिसो घट्न पाउँदैन र जाडो लम्बिन्छ।’

अगाडिका दिनमा भएको वर्षा र हिमपातले देशभर अझै चिसो कम हुन नसकेको उनको भनाइ छ।

अगाडिका दिनमा भएका वर्षाको पानीले जमिन भिजेकाले अहिले वाष्पीकरण भएर काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रका केही स्थान र तराईभरि हुस्सु/कुहिरो लागेको हो।

आजको मौसम यस्तो छ
यतिबेला (शनिबार बिहान) तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ भने पूर्वी र पश्चिमी पहाडका केही स्थानमा मौसम आंशिक बदली भएको छ।

यसबाहेक अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।

उनका अनुसार आज कतै वर्षा तथा हिमपात हुने सम्भावना छैन।

काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रका केही स्थानमा अहिले बिहान देखिएको कुहिरो घाम लागेसँगै बिस्तारै हट्दै जाने उनले बताए।

यसैगरी पूर्व र मध्य क्षेत्रका तराईमा लागेको हुस्सु पनि घाम लागेपछि दिउँसोदेखि क्रमशः हट्दै जाने देखिएको मौसमविद् पौडेलले बताए।

‘पश्चिम तराईमा भने हुस्सु अलि बाक्लो लागेको छ,’ उनले भने, ‘त्यो हट्न भने अलि समय लाग्छ।’

बिहान साढे ६ बजेसम्म काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad