ad ad

समाज


माओवादी नेता र प्रहरीका हाकिमसँगको सम्बन्धबारे दावाले के भने बयानमा?

प्रमाण फेला पर्दा पनि बयानमा इन्कार
माओवादी नेता र प्रहरीका हाकिमसँगको सम्बन्धबारे दावाले के भने बयानमा?

उजिर कार्की
भदौ ३०, २०८० शनिबार १७:४४, काठमाडौँ

साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो सुन प्रकरणको मुद्दा आइतबार जिल्ला अदालत काठमाडौंमा दायर हुने भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन बुझाएको चार दिनपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ताको तयारी गरेको हो। 

सीआईबीले पक्राउ परेका २५ र फरार चार जनालाई मुद्दा चलाउन राय दिएको छ। तर सरकारी वकिल कार्यालयले यो संख्या तलमाथि गरेर मुद्दा दायर गर्ने सम्भावना छ। 

फरार सूचीमा रहेका चिनियाँलाई अहिले प्रतिवादी नबनाउने वकिल कार्यालयको तयारी छ भने भन्सारका कर्मचारीको हकमा पनि केही संख्या कम हुन सक्ने सरकारी वकिल कार्यालय स्रोतले बताएको छ। 

८ चिनियाँसहित ३२ जना पक्राउ गरेर हिरासतमा राखिएको छ। तर तीमध्ये ७ जनालाई मुद्दा नचलाउन सीआईबीले नै राय दिएको छ। तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले नेपालमा तस्कारीका लागि मुख्य भूमिका खेलेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। 

दावाको नेपालका नेतादेखि प्रहरीका पूर्वप्रमुखसम्म कनेक्सन देखिएको छ। माओवादीका नेता र प्रहरीका दुई पूर्वमहानिरीक्षकसँगका फोटा सार्वजनिक भए पनि सुन तस्करीमा उनीहरुको संलग्नता नदेखिएको सीआईबीको भनाइ छ। दावाले बयानमा समेत यो कुरालाई अस्वीकार गर्दै प्रहरीसँगको सामान्य कुराकानी र माओवादी नेताहरुसँग पारिवारिक सम्बन्धका कारण मात्रै भेटघाट भएको बयान दिएका छन्। पहिल्यै भएको भेट पारिवारिक मात्रै रहेको दावाको बयान छ। 

दावाले रोल्पाकी अमला रोका मगरसँग विवाह गरेका छन्। अमला माओवादी नेतृसमेत रहेकाले रोल्पा घर हुने माओवादी नेताका घरमा दावा अमलासँग पुगेको देखिएको थियो। तर यसलाई पारिवारिक भेटघाट मात्रै भएको दावाले बयान दिएका छन्। 

यसबाहेक अन्य प्रमाण अनुसन्धानका क्रममा पनि प्रहरीले फेला पारेको छैन। दावाले किशोर बस्नेतसँग मिलेर नेपालमा सुन बिक्री गर्ने गरेको खुलेको छ। यसका प्रमाण समेत प्रहरीले जुटाएको छ। किशोर बस्नेतलाई सुन किन्ने ग्राहक खोजेवापत प्रतिकिलो २० हजार रुपैयाँ दिने गरेको प्रहरीको दाबी छ। 

तर दावाले भने सुन तस्करीसँग जोडिएका कुनै पनि कुरा स्वीकार गरेका छैनन्। किशोर बस्नेत जडिबुटी बिक्री गर्ने व्यक्ति भएकाले सोही सिलसिलामा उनलाई चिनेको बयान दिएका छन्। 

सुन प्रकरणसँग जोडिएका प्रमाण नै पेस गर्दा पनि दावाले थाहा छैन भनेका छन्। कतिपय कुरा बिर्सिएँ भनेर टारेका छन्। प्रहरीले उनलाई पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र धिरजप्रताप सिंह तथा पूर्व डीआईजी अशोक सिंहसँगको कनेक्सनका बारेमा पनि बयानमा सोधेको थियो। तर उनले जानकारी नभएको जवाफ दिए।

तीन पूर्वप्रहरी र नेताबारे दावासँग सवाल–जवाफ
सुरुमा उनको परिचयबाट बयानमा सवालजवाफ भएको थियो। त्यसपछि प्रहरीले फेला पारेका प्रमाणमा केन्द्रित रहेर बयान गराइएको थियो। बयानको अन्तिमतिर दावालाई माओवादीका नेता र पूर्वप्रहरीसँगको सम्बन्धबारे सोधिएको छ। सुरुमा दावालाई पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङसँग र वर्षमान पुनसँगको सम्बन्धबारे सोधिएको थियो। 

सवाल– तपाईं र नेपालका पूर्वउपराष्ट्रपति नन्दकिशोर पासाङबीच सम्बन्ध रहेको भनी तपाईं र पूर्वउपराष्ट्रपति नन्दकिशोर पासाङ सँगै रहेको फोटो सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा आएको हुँदा तपाईं र पूर्वउपराष्ट्रपति नन्दकिशोर पासाङबीच के कस्तो सम्बन्ध रहेको छ? 
दावाको जवाफ– मेरो श्रीमती अमला रोक्का मगरको माइती रोल्पा जिल्लामा भएको र नेपालका पूर्वउपराष्ट्रपति नन्दकिशोर पासाङको घर समेत रोल्पा जिल्लामा भएको कारण म श्रीमती अमला रोक्का मगर दशैँको समयमा टीका थाप्न भनी उपराष्ट्रपति निवासमा जाँदा फोटो खिचिएको हो। सो बाहेक अन्य कुनै सम्बन्ध रहेको छैन। 

सवाल– तपाईं र माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनबीच सम्बन्ध रहेको भनी माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र तपाईं सँगै रहेको फोटो सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा आएको हुँदा तपाईं र माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनबीच के कस्तो सम्बन्ध रहेको छ? 
दावाको जवाफ– मेरो श्रीमती अमला रोक्का मगरको माइती रोल्पा जिल्लामा भएको र माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको घर समेत रोल्पा जिल्लामा भएको हुँदा श्रीमतीको माध्यमबाट मेरो र वर्षमान पुनको चिनजान भएको हो। आजभन्दा ७ वर्षअगाडि माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको काठमाडौं लाजिम्पाटस्थित कोठामा म र श्रीमती अमला रोक्का मगर खाना खान गएको समयमा निज वर्षमान पुनसँग हामीले फोटो खिचेका हौँ। सो बाहेक अन्य कुनै सम्बन्ध रहेको छैन। 

नेपाल प्रहरीका दुई पूर्वप्रमुख र एसएसपी हुँदा काठमाडौँ प्रहरी प्रमुख समेत भएका पूर्वडीआईजी अशोक सिंहसँगको सम्बन्धबारे पनि दावासँग बयान लिइएको थियो। उनीहरुसँग कुरा भएको म्यासेज अनुसन्धानका क्रममा फेला परेको थियो भने तस्बिरहरु पनि बाहिरिएको थियो। अशोक सिंहको भने तस्बिर चिनियाँ गिरोहलाई पठाएको पाइएको छ। सर्वेन्द्र खनाल र दावाको सार्वजनिक भएको फोटोको बारेमा दावालाई सोधिएको थियो। तर दावाले खनाललाई भेट्दै नभेटेको र फोटो पनि नखिचेको जवाफ दिएका छन्। धिरजप्रताप सिंहलाई महानिरीक्षक नियुक्त भएपछि म्यासेज गरेर बधाई दिएको बताएका छन्। 

सवाल– तपाईं र  नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालबीच सम्बन्ध रहेको भनी तपार्इं र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालको प्रहरी प्रधान कार्यालयमा खिचिएको फोटो सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा आएको हुँदा तपाईं र पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालबीचको के कस्तो सम्बन्ध रहेको छ? खुलाउनुहोस्।
जवाफ– म र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालबीच कुनै सम्बन्ध रहेको छैन। म र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाललाई भेट्न प्रहरी प्रधान कार्यालयमा गएको पनि छैन र फोटो खिचेको पनि छैन।

सवाल– तपाईं र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक धिरजप्रताप सिंहबीच म्यासेज आदान प्रदान भएको देखिएको हुँदा तपाईं र पूर्वमहानिरीक्षक धिरजप्रताप सिंहबीच के कस्तो सम्बन्ध रहेको छ? 
जवाफ– मैले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त भएपश्चात शुभकामना दिनको लागि म्यासेज गरेको हुँ। सो बाहेक अन्य कुनै सम्बन्ध रहेको छैन।

सवाल– तपाईंको मोबाइल फोनसेटमा लगइन रहेको विच्याट प्रयोगकर्ता तपाईं जेम्स....ले विच्याट प्रयोगकर्ता क्लोइ....लाई प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहको फोटो पठाएको देखिएको हुँदा के कसलाई के कुन प्रयोजनको लागि सो फोटो पठाइएको हो? निज र तपाईंको के कस्तो सम्बन्ध रहेको छ? खुलाउनुहोस्।
जवाफ– विच्याट प्रयोगकर्ता क्लोइ को हुन् हाल मैले बिर्सिएँ। प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहको फोटो किन पठाएँ, हाल मैले बिर्सिएँ। अशोक सिंहसँग मेरो चिनजान तथा सम्बन्ध रहेको छैन। 

बयानमा उनलाई नेपालका राजनीतिक दलका के कुन नेताहरुसँग चिनजान तथा सम्बन्ध रहेको भनेर पनि सोधिएको थियो। तर उनले श्रीमतीको माइती रोल्पामा भएकाले माइती जिल्लाका नेताहरु माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्व उपराष्ट्रपति नन्दकिशोर पासाङसँग चिनजान भएको बताएका छन्। यसबाहेक अन्य कुनै राजनैतिक पार्टीका नेताहरुसँग कुनै चिनजान तथा सम्बन्ध नरहेको उनले बयान दिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .