काठमाडौँको तीनकुनेमा एकै परिवारका तीन सदस्यसहित चार जनाको हत्या अभियोगमा पक्राउ परेका जन्मजात बोल्न नसक्ने २३ वर्षीय सञ्जय भण्डारीले प्रहरीलाई नै चकित पार्ने बयान दिएका छन्।
गत भदौ २९ गते राति तीनकुनेस्थित दिव्य सःमिलभित्र दोलखाको कालिञ्चोक गाउँपालिका ८ का कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनका श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल, धनकुटा भीरगाउँ घर भई मोरङको बेलबारी नगरपालिका २ बस्ने १९ वर्षीय नवीन राईको हत्या भएको थियो।
उक्त हत्याकाण्डका अभियुक्त सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–९ का भण्डारीले प्रहरीसमक्ष आश्चर्यजनक बयान दिएका हुन्। बोल्न नसक्ने भएकाले उनले लेखेर दिएको बयानमा आफूले यसअगाडि पनि थुप्रै मानिस मारेको उल्लेख गर्दै प्रहरीलाई अनुसन्धान गर्न चुनौती दिएका छन्।
उनले बयानमा लेखेका छन्, ‘मैले मारेको मान्छेहरूलाई म चिन्दिनँ। सबैलाई धारिलो हतियार प्रहार गरी मारेको छु। मारेको मिति थाहा छैन। अनुसन्धान गर्ने काम प्रहरीको हो।’
यस्तै उनले पछिल्लो घटनामा अर्का एकजनालाई नमारेकामा पश्चातापसमेत व्यक्त गरेका छन्।
‘मैले चारजनाको हत्या गरेपछि आराम गरिरहेको अवस्थामा घटनास्थलमा लाइट बाली आएका व्यक्तिलाई समेत हत्या गर्न पाएको भए यो घटना बाहिर आउँदैन थियो होला’, बयानमा उनले भनेका छन्, ‘निजले घटना सम्बन्धमा प्रहरीलाई खबर गरेको कारण प्रहरीले मलाई पक्राउ गर्न सफल भयो। यदि घटनापछि निज व्यक्ति घटनास्थलमा नआएको तथा निजलाई पनि मैले मार्न भ्याएको भए म सबै शवहरू व्यवस्थापन गर्न सफल हुन्थेँजस्तो लाग्छ। लाइटको उज्यालो देखी मानिसहरूको जमघट हुन लागेको भ्रममा परी निजलाई नमारी भागेकोमा मलाई पश्चाताप छ।’
ती व्यक्ति हुन्– त्यही सःमिलमा बस्ने २८ वर्षीय दीपेन्द्र राई। कोठाभरि शव देखेपछि आत्तिँदै उनैले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले तीनकुनेमा भएको चारजनाको बीभत्स हत्याको अनुसन्धान सकाएको छ। प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालतमा हत्यामा संलग्ननलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।
Shares

प्रतिक्रिया