ad ad

समाज


नेपालीका लागि सम्भावनाको ढोका खोल्दै युन्नान

चिनियाँ भाषा, मेडिकल र प्रविधि पढ्नेको नयाँ गन्तव्य
नेपालीका लागि सम्भावनाको ढोका खोल्दै युन्नान

युन्नान प्रान्तको राजधानी सहर खुनमिङ। तस्बिर : एजेन्सी


ज्ञानेन्द्र खड्का
असोज २९, २०८० सोमबार १०:१६, खुनमिङ, युन्नान (चीन)

चिनियाँ प्रान्तहरु सिचुवान, छोङछिङ र तिब्बतसहितले नेपालसँग जनस्तरको सम्बन्ध विस्तार गरिरहेका बेला युन्नान पनि त्यसतर्फ अघि बढेको छ।

अहिले काठमाडौंबाट युन्नानसँग नियमित हवाइ उडान छैन। यसअघि २०७९ जेठ १९ गते जुनमा खुनमिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंमा उडान भए पनि त्यसले व्यवसायिक रुपमा निरन्तरता पाउन सकेको थिएन।

यस्तो अवस्थामा युन्नान आउन छिमेकी प्रान्त ग्वान्झाओस्थित विमानस्थलाई ट्रान्जिट बनाउनुपर्ने बाध्यता थियो।

कोभिड महामारीले रोकिएको उडान नियमित गर्न अहिले चीन आफैं अग्रसर भएको छ। यही असोजमा भएको युन्नान प्रान्तको उच्चस्तरीय टोलीको भ्रमणपछि अब खुनमिङदेखि काठमाडौं सिधा उडानले नियमितता पाउने भएको हो। 

यसअघि सिचुवान एयरलाइन्सले छेन्दुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै आएको छ। त्यस्तै नेपालको हिमालयन एयरलाइन्सले पनि बेइजिङ र हुनान प्रान्तको चाङ्सासहितका गन्तव्यमा उडान भरिसकेको छ। 

अहिले ग्वान्झाओबाट चाइना साउदर्न एयलाइन्सको जहाज काठमाडौं आउने गरेको छ। ग्वान्झाओ विमानस्थल दक्षिण कोरिया, जापान र अस्ट्रेलियासम्म पुग्ने कयौँ नेपालीको ट्रान्जिट बिन्दु पनि हो। अब खुनमिङ पनि नेपालीका लागि अर्को सस्तो रूटको ट्रान्जिट हुनेछ।

तर गत असोज गते युन्नानको एउटा उच्चस्तरीय टोली काठमाडौं पुगेर फर्किएपछि अब जनस्तरसम्म सम्बन्ध विस्तारका लागि हवाइ सेवालाई यही २१अक्टोबरदेखि नियमित गरिने भएको हो। कोभिड महामारीअघि खुनमिङबाट काठमाडौं सातामा २ उडान हुने गरेकोमा अब तीन उडान निर्धारण गरिएको छ।

युन्नानको उच्चस्तरीय टोली असोज पहिलो साता काठमाडौंमा। तस्बिर : नेपालखबर

खुन्मिङ विमानस्थलबाट नोभेम्बरदेखि चाइना इस्टर्न र सांघाई एयरलाइन्सले काठमाडौंसँग सिधा सम्बन्ध स्थापित गर्ने भएका हुन्। यात्रु पर्याप्त पाइए काठमाडौंबाट खुनमिङसम्म नेपाली एयरलाइन्सका लागि पनि नयाँ रुट बन्नेछ। 

कोभिड महामारीअघि नेपालबाट चीनका विभिन्न रुटमा उडान हुने गरेका थिए। तर महामारीका कारण नेपाल-चीन हवाइ सम्बन्ध टुटेको थियो। कोभिड महामारी सकिएसँगै छेन्दु र ग्वान्झाओसहितका स्थानमा हवाइ उडान भइरहेको छ। युन्नान प्रान्तले चीनमा नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे हुँदा नै पोखरामा उडानका लागि इच्छा देखाएको थियो। 

सम्बन्धित समाचार

२०७९ जेठ १९ गते खुनमिङस्थित विमानस्थलमा हिमालयन एयरलाइन्सको जहाजले उडान भरेको थियो। कोभिड महामारीपछि काठमाडौंबाट खुनमिङमा भएको त्यस उडानले नेपाल-चीन सम्बन्ध मजबुत हुने विश्वास चिनियाँ दूतावासले गरेको थियो। 

चिनियाँ दूतावासले उक्त कुरा बताए पनि खुनमिङमा व्यवसायिक उडान अघि बढ्न सकेन। तर अब काठमाडौं-खुनमिङ नियमित उडानका लागि चिनियाँ पक्षले नै पहल थालेको हो। २०७७ ताका पनि नेपालको हिमालय एयरलाइन्स केही व्यवसायिक उडान खुनमिङमा गरेको थियो। तर कोभिडकालसँगै खुनिमङसहित चीनमा हुने सबै उडान रोकिए।

हिमालयन एयरलाइन्सको जहाज, जसले खुनमिङमा उडान गरेको थियो।

नेपालसँग नजिकिँदै
विकासको गतिमा तीव्र रुपमा अघि बढिरहेको युन्नान र नेपालबीच जलश्रोत, कृषि, वन सम्पदा, फलफूल खेतीसहित कयौँ विषयमा समानता छन्। 

युन्नानले जडीबुटी, फलफूल र अन्य कृषिजन्य उपजबाट अर्बौँ आम्दानी गरिरहेको छ। युन्नानमै चीनमा हुनेमध्ये ९० प्रतिशत बढी कफी खेती हुन्छ।

यहाँको फूलखेती एसियामै प्रख्यात छ। प्राकृतिक सम्पदाले धनी यो प्रदेशले केही वर्षदेखि नेपालसँग सम्बन्ध विस्तारको कोसिस गरिरहेको छ। युन्नानस्थित विश्वविद्यालयमा नेपाली र संस्कृत पढाइ हुन्छ। 

त्यही कोसिसलाई अघि बढाउने क्रममा गत असोज ३ गते युन्नानको खुनमिङबाट एउटा उच्चस्तरीय टोली काठमाडौं पुगेको थियो। जसको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को युन्नान प्रान्तीय स्थायी समिति सदस्य चंग यानले गरेकी थिइन्। 

९ सदस्यीय टोलीको नेतृत्व गर्दै असोज ३ गते काठमाडौँ उत्रिएकी यानले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गरेकी थिइन्। उनले त्यसक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासहितका नेताहरूलाई भेटेकी थिइन्। 

त्यसबेला उनले नेपाल र चीनबीचको असल सम्बन्धलाई जनस्तरमा विकास गर्नुपर्ने बताएकी थिइन्। युन्नानको राजधानी खुनमिङ नेपालसहित दक्षिण एसियाली देशहरूसँग सम्बन्ध कायम गर्ने चीनको नयाँ हव बनिरहे‍का बेला उनैले हवाइ उडान नियमित गर्ने योजना अघि सारेकी थिइन्। 

युन्नान प्रान्तीय  सरकारले भियतनाम, कम्बोडिया, म्यानमार, बंगलादेश र नेपालसँग सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध बढाउन प्राथमिकता दिइरहेको छ। 

त्यही कडीका रुपमा अब नेपालसँगको पर्यटन प्रवर्द्धनका लागि सिधा हवाइ उडान हुने भएको हो।  अब युन्नान प्रान्तीय सरकार खुनमिङबाट व्यवसायिक हवाइ उडान अघि बढाउन तयार भएको हो। 

यसअघि असोज पहिलो साता काठमाडौंमै नेतृ चङले नेपाल र युन्नान प्रान्तको भूगोल, तापक्रम, बोटविरुवा, जनावर आदिमा समानता पाइने बताएकी थिइन्। अब नेपाल-चीन दुवैको पर्यटन विकास गर्न गृहकार्य गर्दै सुरुमा हवाइ उडान नियमित गरिने उनले बताएकी थिइन्।

उनले काठमाडौंमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका उच्चस्तरीय नेताहरू र नेपाली नागरिकलाई फलफूलसहित कृषिजन्य र जडीबुटी उत्पादनका लागि 'चिनियाँ राधाजनी' बन्दै गएको युन्नान भ्रमण गर्न आग्रह गरेकी थिइन्। 

चीन-दक्षिण एसिया एक्स्पोमा नेपाल थिमको उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादव

के भन्छन् नेपाली?
चीनको सियान च्याउथोङ विश्वविद्यालय, सियानबाट कानुनमा विद्यावारिधी गरेका अधिवक्ता मुकुन्द अधिकारी युन्नानको खुनमिङ अहिले नेपाली विद्यार्थीहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको बताउँछन्। 

‘द बेल्ट एन्ड रोड इनिसियटिभ एज अ गेटवे टु द सी फर ल्यान्ड लक्ड कन्ट्रिज’, शीर्षकमा पीएचडीको शोध गरेका अधिकारीले युन्नान पनि नेपालको विकासका लागि एउटा माध्यम हुन सक्ने तर्क गरे। 

‘युन्नानमा नेपालका कयौँ विद्यार्थी पढिरहेका छन्। पछिल्लो समय खुनमिङ मेडिकल कलेज लगायतका ठाउँ नेपाली विद्यार्थीका लागि आकर्षणका केन्द्र बनेका छन्,’, हाल काठमाडौंमा वकालत गर्दै आएका उनले नेपालखबरसँग भने, ‘युन्नान प्रान्त अन्तर्गत खुनमिङमा अन्य नेपाली व्यवसायीहरूको पनि आकर्षण छ। त्यहीकारण नेपालबाट यहाँ सिधा उडान थियो।’

कोभिड महामारीअघि काठमाडौंबाट खुनमिङमा सिधा उडान रहेकोमा बीचमा अवरुद्ध हुँदा ग्वान्झाओ ट्रान्जिट भइरहेको उनले बताए। ‘अब फेरि खुनमिङबाट चाइना इस्टर्न एयरलाइन्सले काठमाडौंमा सिधा उडान भर्दैछ’, उनले भने, ‘त्यसो भएमा काठमाडौंसँग खुनमिङको नाता अझै नजिक हुन्छ। विद्यार्थी र व्यवसायीहरूलाई यहाँ सिधै आउन पाउँदा सजिलो पनि हुन्छ।’

पीएचडी गरिरहेका एकजना विद्यार्थी राजन कार्की पछिल्लो समय नेपालबाट आएर मेडिकल शिक्षा लिनेहरू बढिरहेको बताउँछन्। अन्य विषयमा पनि युन्नानमा आएर पढ्ने विद्यार्थीहरुको संख्या धेरै रहेको उनी सुनाउँछन्।

युन्नान युनिभर्सिटीमा इन्टरनेशनल रिलेशन विषयमा पीएचडी गरिरहेका राजन कार्की यो प्रान्त नेपाली विद्यार्थीहरूका लागि आकर्षणको केन्द्र बन्दै गइरहेको बताउँछन्। 

उनका अनुसार युन्ना युनिभर्सिटी, ताली युनिभर्सिटी र खुङमिङ मेडिकल कलेजमा नेपाली विद्यार्थीहरू बढ्दैछन्। विश्वभाषा बनिसकेको चिनियाँ पढ्ने विद्यार्थीको संख्या पनि उत्तिकै छ। अहिले युन्नान क्षेत्रमा मात्रै करिब ५ सय हाराहारी नेपाली विद्यार्थी रहेका छन्।  

‘युन्नानमा पछिल्लो समय मेडिकल स्टुडेन्ट बढ्दैछन्। त्यसबाहेक ब्याचल र मास्टर्स गर्नहरू पनि सुरुको एक वर्ष चिनियाँ भाषा पढ्न आइरहेका छन्’, कार्कीले नेपालखबरसँग भने, ‘सुरुको एक वर्ष भाषा पढ्छन्। युन्नान युनिभर्सिटीमै अहिले पाँचजजना विद्यार्थी भाषा पढिरहेका छन्। उनीहरूले चएसके न्यूनतम् चार लेभलमा उत्तीर्ण गरेपछि विश्वविद्यालयमा आफूले चाहेको विषयमा पढाइ अघि बढाउन सक्छन्।’

कार्कीका अनुसार युन्नानमा टुरिजम म्यानेजमेन्ट र प्रविधि विषयमा पढ्ने नेपाली विद्यार्थी पनि छन्। ‘डाक्टर पढ्न आउनेहरू धेरैजसो छात्रवृत्तिका छन्। शुल्क तिरेर पनि केही विद्यार्थीहरू आएका छन्’, उनले भने, ‘नेपालबाटै कुन देशमा जाने भन्दा चीनले दिने आकर्ष छात्रवृत्तिले पनि विद्यार्थीलाई तानेको छ। डाक्टर पढ्न आउने धेरेले छात्रवृत्ति लिएका हुन्छन्।’

कार्कीका अनुसार चिनियाँ भाषा पढ्नेका लागि नेपालमै फर्किएपछि उल्था गरेर कमाउने अवसर पनि छ।

‘चिनियाँ भाषा पढिसकेपछि नेपालमै बसेर उल्था गर्दै कमाउने विकल्प पनि छ। पछिल्लो समय नेपालको चीनसँग व्यापार पनि राम्रो नै छ’, उनले भने, ‘नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीरआई)का कारण पनि नेपालीहरूका लागि अनेक अवसरको ढोका खुल्न सक्छ।’

कार्कीका अनुसार चीनमा पढेकाहरूलाई झापाको दमकमा निर्माणाधीन नेपाल-चाइना इन्डस्ट्रियल फ्रेन्डसिप पार्क रोजगारीको केन्द्र बन्न सक्छ।

‘यदि बीआरआईले गति लिएको खण्डमा यहाँ पढेका नेपालीका लागि अनेक अवसर खुल्न सक्छन्’, उनले भने, ‘अहिलेलाई दमकमा बीआरआई अन्तर्गतको इन्डस्ट्रियल पार्क बन्न सक्यो भने भने लाख बढी नेपालीले रोजगारी पाउन सक्छन्।’ 

चीन-दक्षिण एसिया एक्स्पोमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल

सम्बन्ध
युन्नानसँग नेपालको हजारौँ वर्ष लामो सम्बन्ध छ। युन्नान र नेपालबीच भौगोलिक,जातीय र सांस्कृतिक विविधता पनि मिल्दोजुल्दो छ। युन्नान नेपालबाट एक हजार ७४७ किलोमिटरको दूरीमा छ। यहाँ पुग्न अढाइ घण्टाको हवाइ यात्रा गर्नुपर्छ। 

यसअघि नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीहरु युन्नानमा आयोजित विभिन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका थिए। नेपालसहित दक्षिण एसियाका २० हजार हारहारी विद्यार्थी अध्ययनरत रहेका अनुमान गरिएको छ।

बीआरआईमै पीएचडी गरेका अभिवक्ता अधिकारी युन्नानसँग नेपालको निकटता अझै बढ्न सक्ने बताउँछन्। 

‘बीआरआई अन्तर्गतका परियोजनाहरुले गति लिन सके भने युन्नान र नेपालको निकटता अझै बढ्ने सम्भावना छ। बीआरआईसँग सम्बन्धित परियोजना युन्नानाबाट पनि अघि बढ्छन्’, उनले भने, ‘युन्नानको बढी सम्बन्ध दक्षिणपूर्वी क्षेत्रका देशसँग देखिए पनि बीआरआईका कारण दक्षिण एसियामा रहेको नेपालसँगको साझेदारी आगामी दिनमा अझै बढ्न सक्ने सम्भावना बलियो छ।’

पछिल्लो पटक गत साउन १९ गते युन्नानको खुनमिङ सहरमा आयोजित चीन-दक्षिण एसिया एक्स्पोमा उपराष्ट्रपति रामसहायप्रसाद यादव सहभागी बने। उक्त एक्सपोमा नेपाल थिम अर्थात् शीर्षक मुलुक बनेको थियो। 

‘एकताबद्ध सहयोगमा संयुक्त विकास’ भन्ने नाराका साथ आयोजित सातौँ संस्करणको एक्स्पो तथा २७औँ खुनमिङ आयात-निर्यात मेलामा नेपालसँगै म्यानमार पनि शीर्षक मुलुक भएको थियो। म्यानमार युन्नानसँगै भौगोलिक रुपमा जोडिएको छिमेकी देश हो। 

उक्त एक्स्पो उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले द्विपक्षीय आर्थिक सहयोगलाई अगाडि बढाउनुपर्ने बताएका थिए। उनले नेपालको व्यापार, पर्यटन, पूर्वाधार, कनेक्टिभिटी र जलविद्युत् क्षेत्रमा लगानी गर्न चिनियाँ व्यवसायीहरुलाई आग्रह गरेका थिए। 

त्यही एक्स्पोमा उपराष्ट्रपति यादवले नेपाली उत्पादनहरू प्रदर्शनीमा राखिएको नेपाल मण्डप उद्घाटन गरेका थिए। उनले दुई देशबीचको आर्थिक साझेदारी अघि बढाउन बीटुबी अन्तरक्रियासहित चिनियाँ व्यवसायीहरूलाई नेपाल बोलाएका थिए।

उनले त्यसक्रममा खुनमिङमै चीनका परराष्ट्रमन्त्री वाङ यीसँग साइडलाइन वार्ता गरेका थिए। उक्त कार्यक्रमलाई नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि सम्बोधन गरे। उनले चीन-दक्षिण एसिया प्रविधि हस्तान्तरण र सहयोगात्मक नवप्रवर्तनको चौथो मञ्चलाई सम्बोधन गरेका थिए।

कार्यक्रममा सहभागी हुन आएका परराष्ट्रसचिव डा. भरतराज पौड्यालले युन्ननान प्रान्तका उप-गभर्नर वाङ हाओसँग संवाद गरे। उता तत्कालीन वाणिज्य सचिव मधु मरासिनी चौथो चीन-दक्षिण एसिया व्यापार मञ्चमा सहभागी भए।

उता नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि त्यही कार्यक्रममा भाग लिन युन्नान आइपुगेका थिए। उनले गत साउन ३१ गते चीन र दक्षिण एसियाबीचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिका लागि नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएका थिए।

खुनमिङमा आयोजित १६औँ चीन–दक्षिण एसिया व्यापार मञ्चको अध्यक्षका रूपमा सम्बोधन गर्दै ढकालले चीन र दक्षिण एसियाली क्षेत्रबीच बृहत्तर सहयोगका लागि थप सहकार्य तथा साझेदारी बढाउनुपर्ने उल्लेख गरे।

अध्यक्ष ढकालले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागि समेत आह्वान गरेका थिए।

त्यसपहिले नेपाल र युन्नानबीचको सम्बन्ध अघि बढाउने क्रममा सन् २०२० मा पनि केही गतिविधि भएका थिए। जसमा नेपालका मन्त्रीदेखि राष्ट्रियसभा अध्यक्षसमेत सहभागी छन्।

सन् २०२० नोभेम्बरमा युन्नान प्रान्तले नेपालसँग सम्बन्ध विस्तारका लागि एक साता लामो फोटो प्रर्दर्शनी कार्यक्रम गरेको थियो। ३२ तस्बिर राखेर गरिएको प्रदर्शनीमा उक्त दक्षिण-पश्चिमी प्रान्तका आकर्षक र कलात्मक तस्बिर राखिएको थियो।

चाइना इस्टर्न एयरलाइन्सको जहाज, जसले खुनमिङबाट काठमाडौंमा उडान भर्ने भएको छ।

काठमाडौं र खुनमिङ दुवैतिर भएको उक्त कार्यक्रममा नेपालबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई सहभागी थिए। उता युन्नान प्रान्तबाट पनि उच्च सरकारी अधिकारीले भिडिओ कन्फरेन्स कलबाट सम्बोधन गरेका थिए। 

युन्नान र नेपालबीच पटक पटक सम्बन्ध विस्तारको पहल भइरहेको छ। यसअघि वि.सं. २०७६ सालमा युन्नानको राजधानी खुनमिङस्थित खुनमिङ डियान्ची इन्टरनेशल कन्भेन्सन एण्ड एक्जिभिसन सेन्टरमा आयोजित चाइना अन्तराष्ट्रिय ट्राभल मार्ट २०१९ मा नेपालले सहभागिता जनाएको थियो।

उक्त मार्टको उद्घाटन सत्रमा तत्कालीन चिनियाँ संस्कृति तथा पर्यटन मन्त्री ल्यो सुगाङले नेपालको स्टल अवलकोन गरेका थिए। उनले त्यसबेला घोषणा भएको भिजिट नेपाल-२०२० लाई सहयोग गर्ने वचन दिएका थिए।

त्यसबेला युनान प्रान्तको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाली स्टल भ्रमण गरी नेपालको पर्यटनको आफूहरुले प्रचार गर्ने बताएका थिए। 

त्यसबेलाको उक्त प्रदर्शनीमा नेपाल पर्यटन बोर्डसहित अन्य नेपाली ट्राभल एण्ड ट्रेड साझेदारहरुले भाग लिएका थिए। प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो । उक्त उक्त मार्ट २०१९ नोभेम्बर १५ देखि १७ सम्म भएको थियो। तर कोभिड महामारीका कारण नेपालले घोषणा गरेको भ्रमण वर्ष २०२० बीचमै रोकिएको थियो।  

त्यसअघि २०७६ असारमा युन्नानले नेपालसँग जनसम्बन्ध विस्तारका लागि प्रोफेसरहरूको टोली पठाएको थियो। त्यसबेला हेवेई युनिभर्सिटीका प्रोफेसर जहाविन तथा युन्नान युनिभर्सिटीका प्रोफेसर यूआन कुनलगायत पुगेका थिए।

कार्यक्रममा युन्नान युनिभर्सिटीका प्रोफेसर यूआन कुनले नेपालमा चिनियाँ भाषा-संस्कृतिकोसमेत अध्ययन अध्यापन हुने गरेको बताउँदै यसले दुई देशबीचको संस्कृति आदानप्रदानमा महत्वपूर्ण टेवा दिएको बताएका थिए। 

त्यसबेला संविधानसभा सदस्य एवम् नेकपाका नेता नेत्र पन्थीले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, कम्युनिष्ट आन्दोलन, पार्टीको कार्यदिशा, सरकार सञ्चालनमा पार्टीको भूमिका लगायत सैद्धान्तिक र व्यावहारिक पक्षबारे बताएका थिए।

उक्त छलफलका क्रममा बुटवल उपमहानगरपालिकाका तत्कालीन प्रमुख एवम् नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारमा सघाउन आग्रह गरेका थिए। 

खुनमिङको फलफूल बजार। नेपाल र युन्नानबीच फलफूल र कृषि सामग्री उत्पादनमा समानाता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .