आज (सोमबार) दोस्रोपटक जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार अपराह्न ४ बजेर ४० मिनेटमा जाजरकोटको पैंक केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको परकम्प गएको हो।
यसअघि आजै अपराह्न ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्यूडको परकम्प गएको थियो।
यो परकम्पले जाजरकोट, सुर्खेत, रूकुम पूर्व, सल्यान, दाङ, कालिकोट, कैलाली र रुकुम पश्चिमसहितका जिल्लामा धक्का महसुस भएको छ।
केही सर्वसाधारणले यो भूकम्पको धक्का काठमाडौंसहितका स्थानमा पनि हल्का महसुस भएको बताएका छन्।
कालिकोटस्थित पत्रकार विष्णु न्यौपानले घरसहितका संरचनामा कडा धक्कासहितको कम्पन भएको बताएका छन्।
यसअघि गत शुक्रबार राति जाजरकोटकै रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी अहिलेसम्म १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन्। त्यसयता जाजरकोट केन्द्रबिन्दु भएर परकम्प जाने क्रम जारी छ।
Shares

प्रतिक्रिया