घरमा आगलागी भएपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी १५ वर्षीया सरिता तामाङको उपचारमा आर्थिक अभाव भएको छ।
सोमबार राति मावली घर किशोर राईको घरमा आगलागी भएपछि भाग्ने क्रममा दुई तलामाथिबाट हाम फाल्दा गम्भीर घाइते भएकी सरिताको उपचारमा आर्थिक अभाव भएको हो।
जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएकी किशोरीको उपचारमा आर्थिक अभाव भएपछि आफन्त तथा शुभेच्छुकले गाउँपालिका र काठमाडौँमा सहयोग सङ्कलन सुरु गरेका छन्।
सुतिरहेको अवस्थामा आगलागी सुरु भएपछि ज्यान जोगाउन भाग्ने क्रममा लडेकी सरिताको बायाँ हात र तीन वटा दाँत भाँचिएको स्थानीय बासिन्दाले बताएका छन्।
पर्म गरेर दैनिक गुजारा चलाउनुपर्ने अवस्थाका कारण घाइते किशोरीको उपचारमा समस्या भएपछि सहयोग सङ्कलन गर्न अभियान चलाइएको स्थानीय प्रताप राईले जानकारी दिए। घाइते किशोरीलाई बाक्सिलास्थित स्थानीय क्लिनिकमा सामान्य उपचार गरेर राति नै काठमाडौँ पठाइएको थियो।
ब्रोइलर कुखुराको चल्लालाई तातो बनाउन बालिएको चिमबाट सल्किएर भएको आगलागीमा राईको तीनतले घरसँगै घरमा राखिएको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको चल्ला, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडालगायत जल्दा १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी पीडित परिवारको व्यवस्थापनका लागि स्थानीयस्तरमा पहल भइरहेको जनाइएको छ।
आगलागीमा सर्वस्व गुमाएका अग्नीपीडित परिवारलाई क्षतिको आधारमा आर्थिक तथा बन्दोवस्तीका सामान उलपब्ध गराउने तयारी गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया