समाज


जसलाई जातकै कारण वृद्धाश्रममा बस्न दिइएन

सञ्चालकविरुद्ध प्रहरीमा उजुरी
जसलाई जातकै कारण वृद्धाश्रममा बस्न दिइएन

फाइल तस्बिर : पीडित शोभा सुन्दास


रूपबहादुर विश्वकर्मा
मंसिर २३, २०८० शनिबार १२:१४, काठमाडौँ

मोरङको उर्लाबारी नगरपालिका–७ निवासी ६२ वर्षीया शोभा सुन्दासका आफन्त कोही छैनन्। न श्रीमान्, न छोराछोरी।

सकुन्जेल त उनले ज्यालामजदुरी गरेर ज्यान पालिन्। तर, केही वर्षयता वृद्ध उमेर र रोगका कारण काम गर्न नसक्ने भएपछि छरछिमेकको सहारामा बाँचिरहेकी छन्। 

यसरी अर्कालाई कहिलेसम्म दुःख दिइरहने?

त्यसैले उनले हालै उर्लाबारी-१ की वडासदस्य टीका भुजेललाई भनिन्, ‘मलाई कतै वृद्धाश्रमतिर लगिदिनूस् न, धर्मै हुन्छ!’

त्यसपछि वडासदस्य भुजेलले वृद्धाश्रमको खोजीनिती सुरु गरिन्। यसै क्रममा उनले विराटनगरको पुष्पलाल चोकस्थित जागृति आश्रमको फोन नम्बर पत्ता लगाइन्। त्यसकी सञ्चालक भुवनेश्वरी आचार्यलाई फोन गरिन्। 

‘उहाँले ओके गर्नुभयो, मलाई मन्त्रालयबाट पनि फोन आएको छ राख्नू भनेर, पठाउनू भन्नुभयो’, वडासदस्य भुजेलले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘अनि मैले उहाँ (शोभा) को नागरिकताको फोटोकपी, वडाको सिफारिस सबै मिलाएर एकजना बैनीको साथमा जागृति आश्रममा पठाएँ।’

यही मंसिर १४ गतेको कुरा हो। आश्रममा बस्न भनेर आएकी शोभा सुन्दासलाई सञ्चालक भुवनेश्वरीले सोधिन्, ‘तपाईंको नाम, थर के हो?’

शोभाले जवाफ दिइन्, ‘शोभा सुन्दास।’

त्यसपछि भुवनेश्वरीले फेरि सोधिन्, ‘यो सुन्दास भनेको के हो?’

शोभाले भनिन्, ‘दर्जी।’

‘ओ हो! यस्तो (जातको) मान्छे त हामीले राख्ने गरेका छैनौँ’, यति भनेर भुवनेश्वरीले वडासदस्य भुजेललाई फोन लगाइदिन अनुरोध गरिन्। 

‘मलाई फोन आयो, त्यो दिदी (भुवनेश्वरी) बोल्नुभयो’, वडासदस्य भुजेल भन्छिन्, ‘तपाईंको मान्छेलाई राखिनँ आज भन्नुभयो!’

पहिल्यै त्यत्रो सल्लाह गरेको। पठाइदिनू भनेपछि नै पठाएको मान्छे। अहिले राख्न नसक्ने भनिएपछि भुजेललाई अचम्म लाग्यो। 

वडासदस्य भुजेलले सोधिन्, ‘किन र दिदी?’

भुवनेश्वरीले जवाफ दिइन्, ‘उहाँ त यस्तो (‘अछूत’) जातको हुनुहुँदो रहेछ।’

यसपछि उनले आश्रम सञ्चालक भुवनेश्वरीलाई प्रश्न गरिन्, ‘दिदी, दलित भएकै कारण उहाँले आश्रममा बस्न नपाउने?’ 

यसपछि भुवनेश्वरीले आफ्नो असमर्थता व्यक्त गरिन्। 

उनले भनिन्, ‘होइन बैनी, मैले मात्र भनेर हुँदैन, भित्र पनि मान्नुपर्‍यो सबैले। म सबैसँग सोध्छु। मिटिङ बोलाउँछु, अनि मात्र भन्न सक्छु।’

यसरी उनी पन्छिएको र जातकै कारण शोभालाई आश्रममा राख्न अस्वीकार गरिएको दाबी वडासदस्य भुजेलको छ। 

‘उहाँ (भुवनेश्वरी) पन्छिनु भो। जातीय विभेदकै कारण उहाँ बस्न नपाउनुभएको हो’, नेपालखबरसँग भुजेलले भनिन्, ‘मलाई नै कन्फर्म भन्नुभको। रेकर्ड मैले गरिनँ। टेलिकममा गएर विवरण हेर्ने हो भने बोलेका कुरा सबै छन्। भएको यही हो, विभेदकै कारणले हो।’ 

जिल्ला प्रहरी कार्यालय, मोरङमा आश्रम सञ्चालक भुवनेश्वरी आचार्यविरुद्ध उजुरी पनि परेको छ। तर, आचार्यले आफूले जातीय विभेद नगरेको दाबी गरिन्। 

नेपालखबरको जिज्ञासामा उनले भनिन्, ‘होइन होइन, मैले त्यस्तो गरेको छैन, यहाँ भाइसँग कुरा गर्नुस्।’

फोनमा कुरा गर्दै आफूलाई आश्रमको दाता बताउने रेवत कार्कीले आश्रम सञ्चालक भुवनेश्वरीको प्रतिरक्षा गर्न खोजे।

उनले भने, ‘आश्रम चलाउने दिदी पनि ८५/८६ वर्षको हुनुहुन्छ, उहाँलाई आफूले के बोलेँ भन्ने पनि त्यति थाहा हुँदैन। केही त उहाँले भन्नुभो होला, त्यसका लागि मैले सरी भनिसकेको पनि छु।’ 

कार्कीले आफू लायन्स क्लबको पूर्व डिस्ट्रिक्ट गभर्नर भएको जानकारी दिँदै आफ्नै अगुवाइमा उक्त आश्रमका लागि ३५ लाखको भवन बनिरहेको बताए। 

कार्कीले थपे, ‘जुन हिसाबले इस्यु (जातीय विभेद) बनाइएको छ, त्यस्तो खालको इस्युचाहिँ होइन यो।’

भुवनेश्वरीविरुद्ध प्रहरीमा उजुरी  
जात थाहा पाएपछि आश्रमबाट फर्काइएकी शोभा सुन्दासले सञ्चालक भुनवेश्वरी आचार्यविरुद्ध जातीय विभेदअन्तर्गत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन्। 

यही मंसिर २० गते दिएको उजुरीमा उनले भनेकी छन्, ‘म निवेदकलाई मिति २०८०/८/१४ गते उर्लाबारी न.पा. वडा नम्बर ३ को सिफारिसहित पुष्पलाल चोकमा रहेको जागृति आश्रममा बस्न भनी आएकी थिएँ। तर तपाईं दलित हो, दलितहरूलाई यहाँ राख्न मिल्दैन भनी मलाई सो आश्रमबाट हटाइदिएको, मेरा आफ्ना आफन्त कोही पनि भएको हुँदा वृद्ध अवस्थामा आश्रममा बस्न भनी सम्बन्धित ठाउँको सिफारिससहित आएकोमा दलित भनी हेलाहोचो गरी आश्रममा बस्न नमिल्ने भनी बस्न नदिएको, हाल नेपाल छुवाछूतमुक्त देश भइसक्दासमेत दलितमाथि हेलाँहोचो गरेको हुँदा विपक्षीलाई झिकाई कारबाही गरिपाऊँ।’  

हेर्नुहोस् निवेदन-

प्रहरी प्रमुखलाई थाहै छैन!
शोभा सुन्दासले आश्रम सञ्चालकले जातीय विभेद गरेको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको आज ३ दिन भइसक्यो तर त्यहाँका प्रहरी प्रमुख एसपी दीपक पोखरेल अहिलेसम्म यस विषयमा आफूलाई जानकारी नभएको बताउँछन्। 

‘मैले बुझ्नुपर्छ। आज शनिबार बिदाको दिन भएकाले सम्बन्धित फाँटका मानिस छैनन्’, शनिबार बिहान नेपालखबरको जिज्ञासामा उनले भने, ‘भोलि (आइतबार) म बुझ्छु, अनि तपाईंलाई भन्छु।’

तर आश्रमका दाता रेवत कार्कीले आश्रम सञ्चालक भुवनेश्वरीलाई जिल्ला प्रहरी कार्यालयबाट खबर भइसकेको बताएका छन्। 

‘दिदी (भुवनेश्वरी) लाई भोलि (आइतबार) का लागि एसपी कार्यालयले बोलाएको छ’, कार्कीले भने, ‘म आफैँ जान्छु त्यहाँ, छलफल गर्न।’ 

जातीय विभेद गर्नेलाई कति हुन्छ सजाय?
जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ को दफा ७ अनुसार जातीय विभेद गरेको ठहरिएमा पीडकलाई ३ महिनादेखि ३ वर्षसम्म कैद वा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्नेछ। 

अझ सार्वजनिक पद धारण गरेका व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .