समाज


वृद्धाश्रममा छुवाछूत प्रकरण : सञ्चालक आचार्यविरुद्ध आज अदालतमा मुद्दा पेस गरिँदै

वृद्धाश्रममा छुवाछूत प्रकरण : सञ्चालक आचार्यविरुद्ध आज अदालतमा मुद्दा पेस गरिँदै

नेपालखबर
मंसिर २८, २०८० बिहिबार ११:४९, काठमाडौँ

जातीय विभेद गरेको अभियोगमा पक्राउ परेकी मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १, पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यविरुद्ध आज (बिहीबार) अदालतमा मुद्दा पेस गरिँदै छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिललाई बुझाएको र आज जिल्ला अदालत मोरङमा मुद्दा पेस गर्न लागिएको जानकारी दिए। 

मोरङकै उर्लाबारी नगरपालिका वडा नम्बर ३ निवासी ६२ वर्षीया शोभा सुन्दासले आफूलाई जातकै कारण वृद्धाश्रमबाट निकालिएको भनी आइतबार जिल्ला प्रहरी कार्यालयमामा दिएको जाहेरीका आधारमा वृद्धाश्रम सञ्चालक आचार्यलाई प्रहरीले गत सोमबार पक्राउ गरेको हो। 

डीएसपी दाहालका अनुसार पक्राउ गरिएको दिन सोमबार अदालतबाट २ दिन म्याद लिएर घटना अनुसन्धान गरेको प्रहरीले दोस्रोपटक बुधबार लिएको एक दिनको म्याद पनि सकिएकाले अभियुक्त आचार्यलाई आज अदालतमा उपस्थित गराइँदै छ। 

उनीविरुद्धको अभियोग पत्र सरकारी वकिलले आज अदालतसमक्ष पेस गर्नेछ। वृद्धाश्रम सञ्चालक आचार्यविरुद्ध जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी कसुरमा मुद्दा अदालतमा पेस गर्न लागिएको हो। 

पीडित सुन्दासले प्रहरीमा दर्ता गराएको जाहेरीअनुसार परिवारविहीन दलित (दमाई) समुदायकी वृद्धा शोभा सुन्दास सञ्चालक आचार्यकै सल्लाहबमोजिम उर्लाबारी नगरपालिका–३ वडा कार्यालयको सिफारिस लिएर यही मंसिर १४ गते जागृति वृद्धाश्रम पुगेकी थिइन्।

तर सुरुमा आफूलाई वृद्धाश्रमभित्र लगेकी सञ्चालक आचार्यले सिफारिस पत्र हेर्नासाथ दमाईं जातको भन्ने खुलेपछि ‘यस्तो जातको हुँदैन’ भनी फिर्ता पठाएको सुन्दासले जाहेरीमा उल्लेख गरेकी छन्।  

पीडित शोभा सुन्दासले जाहेरीमा लेखेकी छन्-

म जाहेरवाली शोभा सुन्दास वर्ष ६२ को वृद्ध महिला हुँ। हाल मेरो कुनै सन्तान छैनन्। मेरो पनि राजमान सुन्दास ३५ वर्षदेखि बेपत्ता हुन भएको हुँदा म एक्लै कष्टकर जीवन बिताइरहेको छ। म शारिरीक रूपमा बाध्य भई खुट्टा टेक्नसमेत गाह्रो, अप्ठ्यारो छ। मेरो स्वास्थ्य तथा आर्थिक अवस्थासमेत नाजुक भएको हुँदा उर्लाबारी  नगरपालिका वडा नं. १ को वडा सदस्य टीका भुजेलले हामी वडाबाट सिफारीस बनाई दिन्छौँ, तपाईं जागृति वृद्धाश्रम बूढीगंगा-१, पुष्पलाल चोकमा बस्नुहोस् भनी भन्नुभएको तथा जागृति वृद्धाश्रमलाई फोन गरी आश्रमले पठाइदिन भनेपछि वडासदस्य टीका भुजेलले जानुहोस् भन्दा मेरो पनि चित्त बुझी उर्लाबारी न.पा. वडा नं. ३ की कार्यालयको सिफारीस लिएर मिति २०८०/०८/१४ गते बिहानको अ. ९ः०० बजे अस्मिता दर्नाल (दर्जी) लाई साहरा माँगी जागृति वृद्धाश्रममा आइपुगी आश्रमको सञ्चालक भुवनेश्वरी आचार्यलाई भेटी मैले वडाबाट लिएको सिफारिस दिएपछि उहाँले सिफारीस पढी सुन्दास भनेको के हो भनी सोध्दा मैले दर्जी दमाई जाति हो भनी बताएपछि तत्काल वडासदस्य टीका भुजेललाई फोन लगाई उहाँ दलित सानो जातको हुनुहुँदो रहेछ, हामी राख्दैनौँ भनी मलाई तिमी सानो जातको रहेछौ, आश्रममा आजसम्म हामीले यस्तो जात राखेको छैन, चुलामा जान, पानी छुन मिल्दैन, पानी चल्दैन, हामी कोही पनि तिमीले छोएको खाँदैनौँ, तिमी हाम्रो आश्रमभित्र पस्न, बस्न पनि मिल्दैन, तत्काल यहाहाँबाट निस्की जा, मैले थाहा नपाएर भित्र ल्याएँ, अरूले थाहा पाए भने मार्छन् भनी मलाई जातीय तथा छुवाछूतको भेदभाव हुने कार्य गरी अपमानजनक ढंगले वृद्धाश्रमबाट निकाली जागृति वृद्धाश्रमकी सञ्चालकले नेपालको संविधानको धारा २४, १८ तथा जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को ३ (१) र (२) ऐ. को दफा ४ (१) र (२) (क) (ख) विपरीतको कसुर गरेको हुँदा विपक्षी जागृति वृद्धाश्रमको सञ्चालक भुवनेश्वरी आचार्यलाई तत्काल पक्राउ गरी ऐ ऐनको दफा ७ (१) (क) बमोजिम हदैसम्म सजाय गरी पाऊँ भनी यो जाहेरी दरखास्त पेस गर्दछु।’

जातीय छुवाछूतसम्बन्धी मुद्दा सरकारवादी मुद्दा हो। कसैले जातपात र छुवाछूतका आधारमा भेदभाव र अपमान गर्‍यो भने पीडितले प्रहरीलाई जानकारी दिए पुग्छ। मुद्दामा अनुसन्धान, गिरफ्तारी र अभियोगसम्बन्धी सबै काम प्रहरी र सरकारी वकिलले गर्नेछन्। 

जातीय तथा अन्य छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार जातीय विभेद गरेको ठहरिएमा पीडकलाई ३ महिनादेखि ३ वर्षसम्म कैद वा ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्नेछ। सार्वजनिक पद धारण गरेका व्यक्तिलाई यसमा ५० प्रतिशत थप सजाय हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad