समाज


छायाँनाथ राराका तत्कालीन निमित्त कार्यकारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

छायाँनाथ राराका तत्कालीन निमित्त कार्यकारीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
माघ १५, २०८० सोमबार १६:३०, काठमाडौँ

मुगुको छायाँनाथ रारा नगपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छायाँनाथ रारा नगरपालिका, वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको आरोपमा नगर कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इन्जिनियर महेश सिंह कठायत, असिस्टेन्ट सव–इञ्जिनियर हस्त बहादुर मल्लसमेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूले ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गुर्नपर्ने भनी लागत अनुमान स्वीकृत गरी अर्डिनरी स्वायलको मात्र मेशिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएर कामको बढी मूल्याङ्‍कन गराई नापी किताब, प्राविधिक विल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी २८ लाख ६२ हजार ४५९ रुपैयाँ ८४ पैसा बढी भुक्तानी गरेको अख्तियारको ठहर छ।

अख्तियारले निजहरु पिताम्बर सारु, महेश सिंह कठायत र हस्त बहादुर मल्लले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) अनुसार कसुर गरेकोले निजहरुलाई बिगो २८ लाख ६२ हजार ४५९ रुपैयाँ ८४ पैसा कायम गरी ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) अनुसार सजाय हुन एवं सोही ऐनको ऐऐ दफा बमोजिम बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ।

यसैगरी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लविरुद्धसमेत सोही बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिइएको छ।

साथै, सडक निर्माण अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, सदस्य हजर कला कामी र सोही नगरपालिकाका इन्जिनियर महेश सिंह कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इष्टिमेटअनुसार कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएको तथा सोही नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कर्ण रावल र वडा नं. ७ का तत्कालीन सदस्य पशुपति शाहीले लागत अनुमान तथा सम्झौताअनुसार कार्य सम्पन्न भएको भनी गलत सिफारिस दिई भ्रष्टाचार गरेकोले उनीहरुविरुद्ध समेत आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .