समाज


गणेश लामाले गैरआवासीय नेपाली खड्कालाई अपहरण गरी २० करोड फिरौती मागेको आरोप

एसएसपी खनाल भन्छन् : अनुसन्धानको फाइल आइपुगेको छ
गणेश लामाले गैरआवासीय नेपाली खड्कालाई अपहरण गरी २० करोड फिरौती मागेको आरोप

फाइल तस्बिर


नेपालखबर
फागुन ९, २०८० बुधबार १६:१४, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गणेश लामाले एकजना गैरआवासीय नेपालीलाई अपहरण गरी बन्धक बनाएको आरोप लागेको छ।

गुन्डागर्दीको पृष्ठभूमिबाट नेपाली कांग्रेसको राजनीतिमा लागेर हाल केन्द्रीय सदस्य रहेका लामा र सहदेव कक्षपतिले अपहरण गरेर २० करोड फिरौती मागेको आरोप लागेको हो।

गैरआवसीय नेपाली ज्ञानेन्द्र खड्कालाई अपहरण गरेर उनीहरूले करोडौँ फिरौती मागेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी परेको छ।

नेपालमा होटल, रियल स्टेट र अनलाइन व्यवसायलाई बढाइरहेका गैरआवासीय नेपाली खड्कालाई यी दुईजनाले गत पुस २३ गते अपहरण गरेर ८ घण्टासम्म बन्धक बनाई कराेडौँ फिरौती रकम असुल्ने गरी जबरजस्ती कागज गराएको भन्दै प्रहरीमा उजुरी गरिएको हो। 

अमेरिकामा बस्दै नेपालमा पनि व्यापार विस्तार गरिरहेका उनले आफ्नो परिवारलाई सुरक्षित गरेपछि ललितपुर प्रहरीमा जाहेरी दिएका हुन्। 

उनले जाहेरीसँगै बुधबार उक्त घटनाको सबै विवरण खुलाएर विज्ञप्ति पनि निकालेका छन्। ‘डकैतहरुलाई पैसामोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण छ। त्यसैले घटना समयमै सार्वजनिक गर्न सकिनँ। बन्धक बनाएको ठाउँबाट गएर घरपरिवारलाई भन्ने र पुलिसमा गएमा राम्रो हुँदैन भनेर त्रसित गरेका थिए। त्यसका कारण मैले गम्भीर समस्या भोगिरहेको छु। मैले आफू र परिवारलाई सुरक्षित स्थानमा सारेँ। अब अपराधीलाई कानुनी कठघरामा उभ्याउनु लागेको छु। मैले सबै कानुनी प्रक्रिया पूरा गरेर घटना सार्वजनिक गर्दैछु।’

खड्काका अनुसार उनलाई गणेश लामा र सहदेव कक्षपतीसहितले ललितपुरको ढोलाहिटी आदर्श टोलबाट अपहरण गरेका थिउ।

त्यसपछि उनीहरूले सानेपास्थित लण्डन हाउस होटलमा लगेर ८ घण्टासम्म बन्धक बनाएको खड्काले बताएका छन्। तर त्यसबेला त्रासमा पारेर बाध्यतावश फिरौतीस्वरुप करोडौँ रकमको कागजमा हस्ताक्षर गर्न बाध्य भएको उनले बताएका छन्।

खड्काले नेपालमा अनलाइन व्यापार प्लाटफर्म ग्यापू मार्केट प्लेस चलाइरहेका छन्। यो मार्केट प्लेस कोरोनाको समयमा धेरै चर्चित थियो।

उनले नेपालमा रिसोर्ट पनि सञ्चालन गर्दै आएका छन्। 

के भन्छ प्रहरी?
ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले यो घटनाबारे खड्काले उपत्यका अपराध अनुसन्धान कार्यायमा उजुरी दिएको बताएका छन्।

अपराध अनुसन्धान कार्यालयले उक्त घटनामा अनुसन्धान सकेर त्यसको फाइल ललितपुर प्रहरी परिसरमा पठाइसकेको पनि खनालले बताए। 

'घटना डेढ दुई महिना अघि नै भएको रहेछ। यसबारेमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको छ', उनले भने, 'अपराध महाशाखाले अनुसन्धान सकेर फाइल हामीकहाँ पठाएको छ। घटनास्थल  ललितपुर भएकाले अनुसन्धान सकेर प्रतिवेदनसहित हामीकहाँ आएको छ। यसबारे आवश्यक प्रक्रिया अघि बढाउँदैछौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .