समाज


सिन्धुपाल्चोकमा कोरोनाको गलत हल्ला, सामान्य रुघाखोकी : स्वास्थ्य मन्त्रालय

सिन्धुपाल्चोकमा कोरोनाको गलत हल्ला, सामान्य रुघाखोकी : स्वास्थ्य मन्त्रालय

नेपालखबर
माघ २९, २०७६ बुधबार ६:०,

स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा फैलिएको सामान्य रुघाखोकीलाई कोरोना भाइरसको आशंका गरेर गलत हल्ला फैलाइएको बताएको छ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बुधबार बिहान नेपालखबरसँग कुरा गर्दै सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३, गुम्बा गाउँमा फैलिएको संक्रमण सामान्य रुघाखोकी भएको कुनै कोरानाको संक्रमण नभएको दाबी गरेका हुन्।

गुम्बा गाउँमा ज्वरो, रुघाखोकीले अहिलेसम्म २ सयभन्दा बढी मानिस बिरामी भएका छन् भने उपचारमा स्वास्थ्यकर्मी खटिरहेका छन्।

यो संक्रमण कोरोना भाइरसको पनि हुन सक्ने आशंका गर्दै जुगल गाउँपालिका कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ। यसैलाई आधार बनाएर अहिले सञ्चारमाध्यममा कोरोना संक्रमणको आशंका भनेर समाचार आइरेहेका छन्।

‘जुगल गाउँपालिकामा रुघाखोकीको भाइरल फैलिएको हामीलाई जानकारी आइसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यो कुनै कोरोना/सोरोना होइन, सामान्य रुघाखोकी हो, गलत हैला फैलाएर मानिसलाई आतंकित बनाउने काम भएको छ ।’

अहिले प्रभावित स्थलमा स्वास्थ्यकर्मीको टोली पुगिसकेको उनले जानकारी दिए।

‘यस्तो रुघाखोकी अहिले नेपालका विभिन्न स्थानमा फैलिएको छ, विशेषगरी हिमाली भेगमा चिसोका कारण यस्तो संक्रमण फैलिएको हो,’ उनले भने, ‘हुम्लामा पनि यस्तै रुघाखोकीले निकै मानिस मरेका होइनन्? त्यो कोरोना थियो त?’

तर पनि शंका निवारणका लागि चिकित्सक टोलीले त्यहाँका बिरामीको रगत तथा र्‍याल नमुना काठमाडौं ल्याउने र टेकु अस्पतालमा कोरोना हो वा होइन भनेर परीक्षण गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad