ad ad

समाज


यूएईको जेलबाट छोरो फर्काउन यमनारायणले जुटाए आधा करोड ‘ब्लडमनी’

पहलमानको परिवार सहयोग माग्दै
यूएईको जेलबाट छोरो फर्काउन यमनारायणले जुटाए आधा करोड ‘ब्लडमनी’

उजिर कार्की
फागुन १७, २०८० बिहिबार २२:३, काठमाडौँ

ओखलढुंगाका यमनारायण श्रेष्ठले संयुक्त अरब एमिरेट्स (यूएई) को जेलमा रहेका छोरालाई छुटाउन आवश्यक पर्ने ५० लाखभन्दा बढी ‘ब्लडमनी’ जुटाएका छन्। 

६ वर्षपहिले रोजगारीका लागि यूएई गएका उनका छोरा भुवन श्रेष्ठ हत्या अभियोगमा यूएईको जेलमा छन्। साढे ४ वर्षदेखि जेलमा रहेका उनलाई यूएईको अदालतले दोषी ठहर गरिसकेको छ। 

तर उनका छोरा भुवन र धादिङको नेत्रावती ४ का पहलमान थापा मगरले हत्या गरेको भनिएका नवलपरासीको मध्यविन्दु ११ का बाबुराम आले मगरको परिवारले ब्लडमनी लिएर मुद्दा फिर्ता लिन सहमत भएपछि रकम जुटाउन थालेका थिए। 

यी दुई परिवारले मृतकका परिवारलाई ३ लाख दिराम (करिब एक करोड ८ लाख नेपाली रुपैयाँ) दिनु पर्नेछ। यो रकम मृतकका परिवारले पाइसकेपछि मात्रै मुद्दा फिर्ताको प्रक्रिया सुरु हुनेछ। 

यसमध्ये भुवनको परिवारले एक लाख ५० हजार दिराम बुझाउने सहमति भएको छ। बाँकी एक लाख ५० हजार दिराम पहलमानको परिवारले बुझाउने छ। 

आफूले मृतकका परिवारलाई दिनु पर्ने आवश्यक रकम जुटिसकेको यमनारायणले नेपालखबरलाई बताए। 

‘मेरो छोराले तिर्नु पर्ने ब्लडमनीको सबै रकम जुट्यो। सबैले सहयोग गरिदिनु भयो, अब मेरो छोरालाई बचाएर नेपाल फर्काउन सकिने भयो। सहयोग गर्ने सबैलाई म धन्यवाद भन्छु,’ यमनारायणले बिहीबार साँझ भने। 

यमनारायण लगायत आफन्तले एक वर्ष पहिलेबाटै सहयोग जुटाउन थालेका थिए। तर एक वर्षमा पनि आवश्यक सहयोग जुटेको थिएन। त्यसपछि ओखलढुंगाका पत्रकार शिव ढुंगाना लगायतले भुवन बचाउ अभियान सुरु गरे। उनीहरुले अभियान थालेको एक महिना नपुग्दै यमनारायणलाई ब्लडमनी तिर्न आवश्यक ५० लाखभन्दा बढी रकम जुटेको हो। 

‘भुवनलाई बचाउन आवश्यक रकम जुटिसक्यो। हामीले भुवनका बुवा यमनारायणको खातामा रकम जम्मा गरेका छौँ। ककसले कति सहयोग गर्नु भयो भन्ने पनि हामीले सार्वजनिक गरिसकेका छौँ। सहयोग संकलन पारदर्शी बनाउँदा हामीलाई विश्वास गर्नुभयो र छोटो समयमै रकम जुट्यो,’ अभियन्ता ढुंगानाले नेपालखबरसँग भने, ‘आवश्यक रकम जुटेपछि हामीले सहयोग संकलन रोकेका छौँ।’

भुवन र पहलमानका परिवारले मृतक बाबुरामको परिवारलाई पहिले ने ५० हजार दिराम (१६ लाख ६२ हजार ५ सय रुपैयाँ) बुझाउनु पर्ने थियो। पहलमानको परिवारले आफ्नो भागमा परेको सबै रकम बुझाएका थियो। तर यमनारायणको परिवारले भने रकम जुटाउन नसक्दा ५ लाख रुपैयाँ मात्रै दिएको थियो।

तर त्यसपछि सहयोग उठाएर भुवनको परिवारले आवश्यक रकम जुटाए पनि पहलमानको परिवारले भने रकम जुटाउन सकेका छैन। 

पहलमानका मामा तेज आले मगरले ६ लाख रुपैयाँ मात्रै सहयोग उठेको र बाँकी रकम जुटाउनका लागि पहल गरिरहेको बताए। उनीहरु दुवै जनाले ब्लडमनी बापतको रकम नबुझाएसम्म मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढ्ने छैन। 

भुवनलाई सहयोग जुटाउने अभियानमा सामेल ढुंगानाले पहलमानका लागि पनि रकम जुटाउन आफूले सहयोग गर्ने बताए। 

‘हामीले दुवै जनालाई बचाएर नेपाल फर्काउन यो अभियान थालेको हो। अभियानका क्रममा सहयोग गर्न अरु पनि धेरै तयार हुनुहुन्छ। अब उहाँहरुलाई पहलमानका लागि सहयोग गर्न भन्छौँ र आफू पनि सहयोग गर्छौँ,’ ढुंगानाले भने।

मृतकका परिवार र उनीहरुको बीचमा २०७९ वैशाख १६ गते सहमति भएपछि दुई परिवारले मृतककी पत्नी नरिमालाई २१ लाख बढी रकम बुझाइसकेका छन्। 

भुवनको तर्फबाट दाइ खेमराज श्रेष्ठले ३ लाख रुपैयाँ त्यसै दिन बुझाए। बाँकी १३ लाख ६२ हजार ५ सय रुपैयाँ दुई महिनाभित्रमा बुझाउने सहमति भएको थियो। 

बाँकी रकम मुद्दा फिर्ता गर्नका लागि सबै प्रक्रिया पूरा भएपछि दिने र रकम बुझिसकेपछि मृतकका परिवारले कुनै पनि मागदाबी नगर्ने सहमति पत्रमा उल्लेख छ।

यूएईको कानुन अनुसार मृतकका परिवारलाई ब्लडमनी बुझाइसकेपछि मुद्दा फिर्ता हुन्छ। त्यसपछि उनीहरु थुनामुक्त भएर नेपाल फर्किन पाउँछन्। 

उनीहरुको सहमति अनुसार नेपालमै रकम लेनदेन हुनेछ। कन्सुलर सेवा विभागको रोहबरमा गरिएको लेनदेन काठमाडौँस्थित यूएई दूतावासले प्रमाणीकरण गरेर अदालतमा पठाएपछि अदालतबाट मुद्दा फिर्ता गर्दै जेलमा रहेका नेपाली रिहाइको प्रक्रिया पूरा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .