ad ad

समाज


शालिनले आत्महत्या गरिन् भन्दै बुवालाई आएको थियो प्रहरीबाटै फोन

शंकास्पद बन्दै होस्टेलमा छात्राको मृत्यु प्रकरण
शालिनले आत्महत्या गरिन् भन्दै बुवालाई आएको थियो प्रहरीबाटै फोन

होस्टेलमा शंकास्पद मृत्यु भएकी बालिका शालिन पोखरेल


सुनिता विष्ट
फागुन १८, २०८० शुक्रबार १८:५०, हेटौंडा

चितवनको रत्ननगर नगरपलिका-१० स्थित एकता शिशु निकेतन विद्यालयलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु प्रकरण शंकास्पद बन्दै गएको छ। 

गत शनिबार बिहान होस्टेलको कोठामा मृत भेटिएकी शालिनको हत्या कि आत्माहत्या भन्ने विषयमा प्रहरीले छानबिन गरिरहेको छ। 

यद्यपि, घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद रहेको पीडित पक्षको दाबी छ। 

शालिनका बुवा दीपेन्द्र पोखरेल उनको हत्याको निशाना मेट्ने प्रयास विद्यालय प्रशासन र स्थानीय जनप्रतिनिधिबाटै भएको दाबी गर्छन्।

छोरी शालिनले आत्माहत्या गरेको भन्दै प्रहरीले आफूलाई फोन गरेको पनि उनले बताए।  

‘मलाई शनिबार दिउँसो १२:३० तिर होस्टेलबाट फोन आयो। फोन उठाएपछि उताबाट प्रश्न आयो, तपाईं शालिनको बुवा हो? मैले हो भनेर जवाफ दिन नभ्याउँदै घटना भएको जानकारी दिए। मैले जे भएको हो, म नआई शव कसैले नछुनु भनेको थिएँ’, उनले सुनाए,  ‘म दुई घण्टामा आइपुग्छु। आएपछि मात्रै कोठाको ढोका खोलौँला भनेको थिएँ। तर म पुग्दा प्रमाण मेटाउन कोठा सफा भइसके छ। डोरी काटिसकिएको रहेछ।’

सम्बन्धित समाचार

होस्टेलको स्थिति हेर्दा शालिनले आत्माहत्या नगरेर बलात्कारपछि हत्या गरिएको परिवारको दाबी छ। तर आत्माहत्या जस्तो देखाउन डोरी लगाएर झुन्डाइएको पोखरेल दाबी गर्छन्।

उनले भने, ‘उनको गालमा चिमोटेको जस्तो एउटा आलो घाउ थियो। अर्कोतर्फ अलिक खाटा बसेजस्तै दाग देखिन्थ्यो। त्यो हेर्दा पनि यो भन्दा पहिले याताना दिने गरेको र त्यो बेलामा पनि यातना दिएरै मारेको प्रष्ट हुन्छ।’

शालिनको भजाइनामा घाउ रहेको पाइएको डाक्टरले आफूलाई बताएको दाबी उनी गर्छन्। १४ वर्षीया बालिकाको भजाइनामा घाउ हुनुले बलात्कार नै भएको भन्ने शंका डाक्टरहरूले गरेको उनले बताएका छन्।  

शालिनका आमाबुवाको केही वर्षअघि डिभोर्स भएको थियो। आमाबुवाको डिभोर्सपछि उनलाई दुवैले हेरचाह गर्दै आएका थिए।

शालिनको पढाईदेखि सबै खर्च दुवैले उठाउँदै आएका थिए। गोरखाको आजिरकोट-५ घर भएका शालिनको बुवा काठमाडौं बस्छन्। आमा भने वैदेशिक रोजगारीका लागि दुबईमा छिन्।

शालिनको मामाघर चितवनको रत्ननगर नगरपालिका-१५ माधवपुरमा हो। उनको मामाघरमा हजुरबुवा र हजुरआमा मात्रै छन्। 

पढ्नको सहजताका लागि शालिन दुई वर्षअघि उक्त विद्यालयको होस्टेलमै बस्दै आएकी थिइन्। होस्टेलसँगै जेठी हजुरआमाको घर थियो।

जसका कारण उनको हेरचाहमा सहज हुने भन्दै उनलाई त्यही विद्यालयको होस्टलमा राखिएको परिवारको भनाइ छ। 

शालिनसँग विदेशबाट आमाले र काठमाडौंबाट बुवाले फोन गरिरहन्थे। आफ्नै मोबाइल बोक्न विद्यालयमा अनुमति थिएन, मैले फोन गर्दा होस्टल वार्डेन कमल पौडेललाई गर्थें,' शालिनकी आमाले भनिन्, ‘केही दिनद‍ेखि मैले छोरीसँग राम्रोसँग कुरा गर्न पाएको थिइनँ। डिस्टर्ब हुन्छ, थोरै समय बोल्नु म्याम भन्नुहुन्थ्यो। मैले शंका गरेकै थिइनँ। यो घटना भएपछि ती दिन याद आइरहेका छन्।’ 

छोरीको मृत्युको खबर सुनेपछि उनकी आमा पर्सिपल्टै नेपाल फर्किएकी छन्। 

त्यसो त, होस्टेल फर्किएपछि शालिनले सेतो रंगको जुत्ता धुँदै गरेको अवस्थामा घटना भएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

‘घटनास्थल हेर्दा शंकास्पद देखिन्छ,’ ती जनप्रतिनिधिले नेपालखबरसँग भने, ‘एउटा जुत्ता सफा गरि धोइसकेको थियो, अर्को जुत्ता धुन बाँकी फोहोर थियो। त्यसैलाई आधार मानेर पीडित पक्षले हत्या नै भएको भन्ने दाबी गर्नुभएको हो।’

यता, चितवन प्रहरीले काठमाडौंबाट पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीका अनुसार शबको बुधबार (हिजो) पोष्टमार्टम भएको छ। पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको उनले बताए।

उनले भने, ‘रिपोर्ट आएपछि थप केही भन्न सकिएला। हामीले पीडित परिवारको उजुरीकै आधारमा तीनजनालाई पक्राउ गरिसकेका छौँ। पोष्टमार्टम रिपोर्ट पाएका छैनौँ। रिपोर्ट आएपछि थप केही भन्न सकिएला।’

शालिनको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्कुलका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल पौडेल छन्। 

पीडित पक्षले बलात्कारपछि हत्या दाबी गरिरहे पनि पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै पुष्टि हुने प्रहरीले जनाएको छ। पक्राउ परेका तीनजनालाई हिरासतमा राखेर अनुसन्धान भइहेको डीएसपी भण्डारीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .