ad ad

समाज


भिसा थपेर मलेसियामा बसेका जीबी राईलाई पक्रिन प्रहरीले पठायो पत्र

भिसा थपेर मलेसियामा बसेका जीबी राईलाई पक्रिन प्रहरीले पठायो पत्र

उजिर कार्की
फागुन १८, २०८० शुक्रबार १८:४७, काठमाडौँ

सहकारीको अर्बौँ रकम हिनामिना गरेर मलेसिया पुगेका जीबी भन्ने गितेन्द्रबाबु राईलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मलेसियासँग सहयोग मागेको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत मलेसियालाई अनुरोध गरेको हो। पत्रमा जीबीलाई पक्राउ गरेर नेपाल फिर्ता गरिदिन भनिएको छ। 

नेपालबाट भागेको पुष्टि भएपछि प्रहरीले जीबी राईलाई खोज्न इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गराएको थियो। तर डिफ्युजन नोटिस जारी भएको थाहा पाएपछि भिसा थप गरेर उनी मलेसियामै बसेका छन्। डिफ्युजन नोटिस भनेको सम्बन्धित मुलुकले व्यक्ति विशेषलाई आफूले पक्राउ गर्न चाहेको सूचना इन्टरपोलको माध्यमबाट जारी गरेको सूचना हो।

गृह मन्त्रालय स्रोतका अनुसार उनले भिसा थप गरेको खुलेपछि त्यहाँको सरकारलाई नै अनुरोध गर्दै पत्र पठाएको हो। 

‘उनी मलेसियामै रहेको पुष्टि भइसकेको छ। उनलाई पक्राउ गरिसकेको सूचना पनि अनौपचारिक रुपमा आएको थियो। तर हामीलाई आधिकारिक जानकारी भने आएको छैन। उनलाई पक्राउ गरेर नेपाल ल्याउन हामीले सबै प्रक्रिया पूरा गरेका छौँ,’ प्रहरी प्रधान कार्यालयस्थित उच्च स्रोतले नेपालखबरसँग भन्यो।

यहाँबाट अनुरोध गरेर पत्र पठाइसकेकाले अब जीबीलाई पक्राउ गरेर नेपाललाई पठाइदिने सम्भावना बढेको उनले बताए। सुरुमा डिफ्युजन नोटिस जारी गरेको प्रहरीले इन्टरपोलमार्फत पछि रेड नोटिसका लागि पनि अनुरोध गरेको थियो। 

तर उनी लोकेट भइसकेको र पठाउनका लागि उच्च तहबाटै पहल आवश्यक भएपछि प्रहरीले परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीले एक साताअघि नै पत्र पठाएको थियो। प्रहरी प्रधान कार्यालयले पनि तीन दिनअघि गृह मन्त्रालयमा पत्र पठाएको थियो। गृहले सोही पत्र परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ। परराष्ट्र मन्त्रालयले दूतावास हुँदै मलेसिया सरकारलाई पठाउने छ। 

त्यसपछि जीबीलाई मलेसिया सरकारले नेपाल फर्काइदिने र कारबाही अगाडि बढ्ने अपेक्षा प्रहरीले गरेको छ। उनीविरुद्ध विभिन्न सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा जाहेरी परेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ। 

यस्तै अन्य जिल्लामा पनि उनीसँग जोडिएका प्रमाण संकलन गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले बरामद गरेका उनीसँग सम्बन्धित अन्य सहकारीका प्रमाण सम्बन्धित जिल्लामा पठाएको छ। 

कास्कीमा जीबी राईले ठगी गरेको सूर्यदर्शन सहकारीको सर्भर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको सहयोगमा अनुसन्धान भइरहेको छ। प्राविधिक टोलीबाट उक्त सर्भरबारे प्रतिवेदन प्राप्त हुन बाँकी रहेको मुद्दाको अनुसन्धान गरिरहेका एक अधिकारीले बताए।

‘सर्भरमा उनीहरुका सबै कारोबार भेटिएका छन्, त्यसलाई अन्य प्रमाणबाट पनि पुष्टि गर्ने काम गरिरहेका छौँ,’ उनले नेपालखबरसँग भने। 

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा काठमाडौँ प्रहरीले पूर्वडीआईजी छविलाल जोशीको घरमा छापा मारेको थियो। त्यतिबेला जीबीले सञ्चालन गरेका सहकारीका ४ वटा सर्भर बरमद भएको थियो। जीबीका व्यावसायिक साझेदार जोशीले काठमाडौँको शंखमुलस्थित आफ्नै घरमा सहकारीका सर्भर लुकाइदिएका थिए। सर्भरमा सूर्यदर्शनसँगै, चितवनको सहारा सहकारी, वीरगञ्जको सानोपाइला सहकारी, बुटवलको सुप्रिम सहकारीका सबै विवरण भेटिएका छन्। 

उजुरी परेर प्रहरीले अनुसन्धान गर्न थालेपछि ती सहकारीका सर्भर पूर्वप्रहरीकै घरमा लुकाइएको भेटिएको हो। 

मुख्य अभियुक्त राई फरार भएको यो प्रकरणमा पक्राउ परेका ५ जना पुर्पक्षका लागि थुनामा छन्। जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीका पूर्वसञ्चालक शिवबहादुर गुरुङ र भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी मगर र सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन्। 

सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर र लोन अधिकृत बुद्धि गुरुङ फरार छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनविरुद्ध पनि पीडितको उजुरीपछि प्रहरीले यही मुद्दामा अनुसन्धान गरिरहेको छ।

सूर्यदर्शन सहकारीका १८ हजार ७ बढी बचतकर्ताको १ अर्ब ११ करोड १ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ। ठगीमा परेको भनी १ हजार ३६ जनाले उजुरी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .