ad ad

समाज


मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न वैशाख १ देखि ३ दिने महोत्सव

मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न वैशाख १ देखि ३ दिने महोत्सव

तस्बिर : रमेश राई


नेपालखबर
चैत १६, २०८० शुक्रबार १४:४, काठमाडौँ

मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न नयाँ वर्षको अवसरमा २०८१ वैशाख १ गतेदेखि ३ गते सम्म ‘कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८१ हुने भएको छ।

मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका ४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा महोत्सवको आयोजना गरिएको हो।

महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडी पाखीलगायतको स्टल रहने आयोजक चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिले जनाएको छ।

महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको संस्कार संस्कृतिसँगै झाँकी प्रदर्शन गरिने समितिका अध्यक्ष आईकुमार राईले बताए।

महोत्सवमा जैविक (अर्ग्यानिक) खानाका परिकार तथा प्रदर्शनी रहने उनको भनाइ छ।

महोत्सव अवधिभर मुन्दुम पदमार्गको वृत्तचित्र प्रदर्शनी, सांस्कृतिक झाँकी प्रदर्शन,बाघ खोरबाट चखेवासम्म मुन्दुम दौड, कविता वाचन प्रतियोगिता तथा विभिन्न कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।

महोत्सवमा स्टलहरूको प्रदर्शनी भने २५ गतेसम्म रहने पर्यटन क्षेत्रका विज्ञ विवेक कुलुङले बताए।

नेपाल भ्रमण वर्ष २०२५ लाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको उहाँको भनाइ छ । महोत्सवको लागि टेम्केमैयुङ गाउँपालिकाले दश लाख बजेट विनियोजन गरेको छ।

महोत्सवमा कविहरू ज्ञानमणि नेपाल, गणेश रसिक, बुलु मुकारुङ, वसन्त मुकारुङ, श्रवण मुकारुङ, शुभ मुकारुङ, राजन मुकारुङ, पारस मुकारुङ, दिनेश बान्तवा, अम्मर बान्तु, कविता राईलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ।

त्यस्तै कलाकारहरूमा दयाहाङ राई, भीषण मुकारुङ, कमली कान्त भेटवाल, सुनिता थेगिम, बविता किराँती, चन्द्रकला राई, उमेश राईलगायतको प्रस्तुति रहने छ।

पदमार्ग आसपासमा निर्मित किराँतहरूका संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसे मैदान, स्थानीय गोठवालाहरूले पालेका चौँरी, भेडी गोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने गरेको छ।

टेम्केमैयुङ गाउँपालिकाले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार टेम्केमैयुङ विकासको आधार' भन्ने मूल नाराका साथ यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम गरिरहेको छ।

महोत्सवस्थल चखेवा धरानबाट ६ घण्टामा (१९२ किमी) पार गरेर पुग्न सकिन्छ। त्यस्तै काठमाडौँबाट करिब १० घण्टा (३०० किमी) दूरीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .