समाज


प्रहरी बढुवा विवादमा परेपछि प्रणाली नै संशोधन गर्ने गृहमन्त्रीको तयारी

प्रहरी बढुवा विवादमा परेपछि प्रणाली नै संशोधन गर्ने गृहमन्त्रीको तयारी

नेपालखबर
चैत २३, २०८० शुक्रबार १२:१९, काठमाडौँ

हालै भएको नेपाल प्रहरीको एसपी र डीएसपी बढुवा विवादमा परेपछि गृह मन्त्रालयले बढुवाको प्रणाली नै संशोधन तयारी थालेको छ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बढुवा प्रणाली संशोधन अघि बढाउन निर्देशन दिएका हुन्।

योग्यतामा आधारित बढुवा प्रणाली लागु हुने गरी नियमावली संशोधनको प्रस्ताव ल्याउन लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्वलाई निर्देशन दिएका छन्।

मन्त्रालयमा सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली–२०८० र प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा गृहमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौँ भन्ने बढुवापिच्छेका प्रतिक्रियाले प्रष्ट भएको छ। जतिसक्दो छिटो अटोमेसनमा जान सक्छौँ', उनले भने, 'त्यति छिटो आफूलाई अन्याय भयो भन्ने संगठनका सदस्यको गुनासो अन्त्य हुन्छ र प्रहरीप्रतिको विश्वसनीयता पनि बढ्छ।’

नेपाल प्रहरीको एसपी र डीएसपी बढुवामा भएको सिफारिसमा केही योग्य अधिकृतहरू छुटेपछि गृहमन्त्री लामिछानेमाथि प्रश्न उठेको छ। त्यसपछि उनले नियमावली संशोधन गर्न निर्देशन दिएका हुन्। 

साताअघि भएको प्रहरी उपरीक्षक र बुधबार भएको प्रहरी निरीक्षकको बढुवा सिफारिसका क्रममा आएका प्रतिक्रियाका आधारमा लामिछानेले यस्तो निर्देशन दिएका हुन्।

उनले दुवै संगठनको संयुक्त संयन्त्र बनाएर विस्तृत अध्ययन गरी प्रस्ताव ल्याउन पनि भनेका छन्।

छलफलमा सचिवसहित गृहमन्त्रालयका उच्च अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरू सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .