पर्यावरण अभियन्ता धनुषाका दिलीप महतोको तीन हत्या आरोपीले उच्च अदालतमा जिल्ला प्रहरी कार्यालय धनुषा विरुद्ध दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ।
उच्च अदालत जनकपुरका न्यायधीश बालकृष्ण उप्रेती र उज्जवल शुक्लको संयुक्त इजलासले सोमबार रिट खारेज गरेको हो। गएको वुधबार धनुषा जिल्ला अदालतले २५ र २५ हजार रुपैयाँ धरौटी लिएर साधारण तारेखमा रिहा गरेको दिलीपका हत्या आरोपी उनका साथी रोशन यादव, क्रसर उद्योग सञ्चालकका सहयोगी जितेन्द्र भनिने सत्यानारायण महतो र बृजमोहन भनिने शत्रुधन महतोलाई प्रहरीले अदालत परिसरबाट पुनः पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्ति सुरक्षाको कसुरअन्तर्गत पुन: तीनैजनालाई पक्राउ गरेर शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको छ।
धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश भनेर चिनिने दिलीप महतोलाई गत पुस २५ गते बिहान घरनजिकैको औरही खोलामा टिपरले किचेर हत्या भएको थियो। उनको हत्या अभियोगमा पक्राउ परेका ६ जनामध्ये धनुषा जिल्ला अदालतले गएको बुधबार चुरियामाई प्रशोधन क्रसर सञ्चालक सञ्चालक विपिन महतो, किच्ने टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतोलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो भने तीनजनालाई २५–२५ हजार रुपैयाँ धरौटीमा छोडन् आदेश गरेको थियो।
जिल्ला अदालतको आदेश लगतै धरौटी बुझाएर साधारण तारेखमा छुटेका रोशन, सत्यानारायण र शत्रुधनलाई प्रहरीले पुनः पक्राउ गरेको विरुद्ध आफन्तले गएको शुक्रबार उच्च अदालत जनकपुरमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेको थियो। रोशनको तर्फबाट विजय कुमार यादव, सत्यनारायणको तर्फबाट रिनाकुमारी महतो र शत्रुधनको तर्फबाट सीतादेवी महतोले जिल्ला प्रहरी कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए।
सोही रिटमाथि सोमबार सुनुवाई गर्दै उच्च अदालत जनकपुरले रिट नै खारेज गरेको हो।

प्रतिक्रिया