ad ad

समाज


उच्च अदालतले माग्यो सन्दीपविरुद्ध जाहेरी दिने युवतीले जन्मदर्ताका लागि दिएको निवेदन

उच्च अदालतले माग्यो सन्दीपविरुद्ध जाहेरी दिने युवतीले जन्मदर्ताका लागि दिएको निवेदन

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १८:२९, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिने युवतीले दोस्रो पटक जन्मदर्ता गर्दा दिएको निवेदन उच्च अदालतले मागेको छ। 

सोमबार उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले किशोरीले दोस्रो पटक जन्मदर्ता बनाउँदा गाउँपालिकामा दिएको निवेदन माग्न आदेश दिएको हो। 

सुरुको जन्मदर्तामा भन्दा पछिल्लो जन्मदर्तामा एक वर्ष उमेर घटाइएको जिल्ला अदालत काठमाडौँले पनि ठहर गरेको छ। सोही आधारमा जिल्ला अदालतले जाहेरवाली युवती नाबालिग नरहेको ठहर गरेको थियो।

जाहेरवालाको तर्फबाट सरकारी वकिल कार्यालयले उनी नाबालिग नै रहेको दाबी गर्दै उच्च अदालतमा निवेदन दिएपछि अदालतले जन्मदर्ता गराउँदा दिएको निवेदन नै झिकाउने आदेश गरेको हो।

जिल्ला अदालतले यो मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैदको फैसला गरेपछि त्यो फैसला बदरको माग गर्दै लामिछाने उच्च अदालत पुगेका हुन्। दुवै निवेदनमा उच्च अदालतले एकसाथ सुनुवाइ अगाडि बढाएको हो। 

यसअघि जिल्ला अदालतले पनि एकएक वटा कागजात मगाउँदै मुद्दाको फैसलामा ढिलाइ गरेको थियो। उच्च अदालतमा पनि त्यस्तै सुरु भएको छ। 

यसअघि चैत २३ गते न्यायाधीश नृपध्वज निरौला र कृष्णराम कोइरालाको इजलासले दुवै पक्षलाई झिकाउन र आजका लागि पेसी तोक्न आदेश दिएको थियो। 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएका थिए। 

यस्तै जाहेरवाला किशोरीले आफूलाई नाबालिग दाबी गरेकी थिइन्। तर जिल्ला अदालतले उनलाई १८ वर्ष पूरा भएको ठहर गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .