ad ad

समाज


चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सतर्क रहन सुझाव

चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सतर्क रहन सुझाव

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ ९, २०८१ बुधबार ७:४७, काठमाडौँ

यतिबेला (बुधबार बिहान ७:३० बजे) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) भएको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले तत्कालको मौसमबारे जानकारी दिएका हुन्। ‘सुदूरपश्चिम र कर्णाली प्रदेशमा विकसित मेघगर्जन/चट्याङसहित वर्षा गराउने प्रणाली बिस्तारै पूर्वतर्फ सर्ने क्रममा छ’, उनले भने, ‘जसले गर्दा दिउँसो त्यसयता पूर्वका क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ।’

मौसम महाशाखाले सूचना जारी गर्दै भनेको छ- हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकसित भई थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ र पूर्वतिर सर्ने क्रममा रहेको हुँदा सतर्क र सचेत रहौँ।

मौसम महाशाखाले जारी गरेको बुलेटिनअनुसार दिउँसो कोसी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

‘दिउँसो काठमाडौँ उपत्यकामा पनि मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ’, उनले भने। 

२४ घण्टामा १० मिलिमिटरभन्दा मुनि वर्षा हुनुलाई हल्का तथा यसभन्दा माथि ५० मिलिमिटर मुनिको वर्षा हुनुलाई मध्यम वर्षा भनिन्छ। 

महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ। 

यसैगरी आज राति पनि कोसी मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थान साथै देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .