समाज


छात्रवृत्तिका लागि नेपाल इन्जिनियरिङ कलेजले छुट्यायो १५ करोड रुपैयाँ

छात्रवृत्तिका लागि नेपाल इन्जिनियरिङ कलेजले छुट्यायो १५ करोड रुपैयाँ

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १९:५७, काठमाडौँ

कक्षा १२ पास गरेलगत्तै विद्यार्थीहरू विदेशीनु चिन्ताको विषय भएको सरोकारवालाहरुले बताएका छन्। नेपालमै प्राविधिक शिक्षा अन्तर्राष्ट्रियस्तरको भइरहेका बेला पनि विद्यार्थीहरू उच्च शिक्षाका नाममा विदेशीनु सुखद् कुरा नभएको सरोकारवालाको भनाइ छ।

नयाँ शैक्षिक सत्रको भर्ना खुलाउँदै गरेको भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने कार्यक्रम सार्वजनिक गर्नेक्रममा सरोकारवालाहरुले यस्तो गुनासो व्यक्त गरेका हुन्।

इन्जियरिङ अध्ययन गर्ने विद्यार्थीलाई १५ देखि १८ करोड रूपैयाँसम्म छात्रवृत्ति दिने गरेको चागुँनारायण नगरपालिकाकाका नगरप्रमुख जीवन खत्रीले जानकारी दिए।

उनले विश्वविद्यालयको १० प्रतिशत छात्रवृत्तिसँगै स्थानीय तह -वडा, नगरपालिका छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्ति समेत कलेजले दिने गरेको बताए। पैसाका कारण इन्जिनियर पढ्ने अवसरबाट बञ्चित नगर्नका लागि नगरपालिकाकाले समेत बजेट व्यवस्थापन गर्ने गरेको कलेजका अध्यक्षसमेत रहेका खत्रीले जानकारी दिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित सञ्चालक समितिमार्फत सञ्चालनमा रहेको उक्त कलेजले छात्रवृत्तिका लागि उक्त रकम छुट्याएको नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका प्राचार्य दुर्गाप्रसाद भण्डारीले जानकारी दिए।

‘विदेश पढ्न जानु गलत हैन। तर, अभिभावकको रेखदेख र संरक्षणमा हुर्किएको, हातमा कुनै सीप नभएको र आफ्नो भविष्यबारे ठीक ढंगले सोच्न सक्ने क्षमताको विकास भइसकेको हुँदैन,’ उनले भने, ‘त्यसमाथि नेपालीको आर्थिक अवस्थाका कारण सबै विदेश जाने विद्यार्थीहरु अभिभावककै खर्चमा पढ्न सक्दैनन्।’

नेपालको शिक्षा अन्तर्राष्ट्रियस्तरको रहेको दाबी गरिएको छ। कलेजका सहायक प्राध्यापक यमकृष्ण पौडेलले पोखरा विश्वविद्यालयले केही समय अगाडी मात्रै पाठ्यक्रमहरु समय सापेक्ष संसोधन गरिसकेको बताए। उक्त कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज पनि हो।

‘इन्जिनियरिङ विधाका सबै पाठ्यक्रमहरु विश्वव्यापी एकरुपता हुन्छ,’ उनले भने, ‘नेपालमै इन्जिनियरिङ गरेका विद्यार्थीहरु विश्वका धेरै देशहरुमा प्रतिष्ठित कम्पनी र क्षेत्रमा सफलतापूर्वक अगाडी बढिरहेको प्रशस्त उदाहरण छन्।’

उनका अनुसार इन्जिनियरिङ विधाका विभिन्न विषयमा सयौं दक्ष जनशक्ति उत्पादन गरिसकेको छ। चाँगुनारायण नगरपालिका, भक्तपुरमा रहेको उक्त इन्जिनियरिङ कलेजमा हाल स्नातक तथा स्नातकोत्तर तहका विषयहरुमा अध्ययन/अध्यापन हुँदै आएको छ।

कलेजले स्नातक तहतर्फ ६ वटा विषय र स्नातकोत्तर तहतर्फ ४ वटा विषय अध्ययन अध्यापन गराउँदै आएको छ। स्नातक तहमा विइ सिभिल इन्जिनियरिङ (१४४ सिट), वि आर्किटेक्ट (४८ सिट), विइ सिभिल एण्ड रुलर इन्जिनियरिङ (४८ सिट), विई कम्प्युटर इन्जिनियरिङ (९६ सिट), इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (४८सिट), इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा (४८ सिट), विइ सिभिल फर डिप्लोमा होल्डर्स (४८ सिट)सम्बन्धी अध्ययन अध्यापन हुँदै आएको छ।

स्नातकोत्तर तहतर्फ भने कन्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिस्प्लीनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेशन इन्जिनियरिङ म्यानेजमेन्ट सम्बन्धी अध्यापन हुँदै आएको छ। सो इन्जिनियरिङ कलेजमा हरेक वर्ष स्नातक तहमा ४८० जना विद्यार्थी र  स्नातकोत्तर तहमा १५० विद्यार्थीहरू भर्ना हुने गर्छन्।

मुनाफारहित सामाजिक शैक्षिक संस्थासमेत रहेको उक्त कलेजले आफ्नै करिब २०० रोपनी जग्गामा पूर्वाधार बनाएको छ। १२३ जना पूर्णकालिन शिक्षक÷कर्मचारी रहेको उक्त कलेजमा इन्जिनियरिङ विधाका सबै पाठ्यक्रम र रिसोर्सयुक्त आधुनिक पुस्तकालयसमेत रहेका छन्।

अत्याधुनिक ल्याब, आइटी सेन्टरको व्यवस्था, शहरी कोलाहलदेखि मुक्त शान्त तथा हरियाली वातावरण अत्याधुनिक प्रविधि, प्रयोगात्मक शिक्षण विधि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रिसर्चका लागि पहुँचसमेत रहेको कलेजले जानकारी दिएको छ। कलेजले युरोप, जापान, भारत लगायत देशका विभिन्न कलेज र विश्वविद्यालयहरुसँग शिक्षक विद्यार्थी एक्सचेञ्जको अवसर दिने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad