समाज


विश्वभरका नेपाली स्वास्थ्यकर्मीको संलग्नतामा ‘नेपाल हेल्थ समिट’ आयोजना हुने

विश्वभरका नेपाली स्वास्थ्यकर्मीको संलग्नतामा ‘नेपाल हेल्थ समिट’ आयोजना हुने

नेपालखबर
भदौ ११, २०८१ मंगलबार २०:३, काठमाडौँ

नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशील नेपाली विज्ञहरूको सहभागितामा नेपाल हेल्थ समिट आयोजना गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार यससम्बन्धी निर्णय गरेका हुन्।

गत साउन २७ गते उनले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ उल्लेख थियो।

विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरूको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।

‘समिटमा सहभागी नेपाली विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रीज्यूको लक्ष्यअनुसार स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पारिनेछ,’ उनले भने।

मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा. प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठनसमेत गरेको छ।

कार्यदलमा स्वास्थ्य विज्ञ डा. सम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला तथा धुलिखेल अस्पतालका डा. विराज कर्माचार्य सदस्य छन्।

यसैगरी, विज्ञहरू डा. रुना झा, डा अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगाना र प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिलाई सदस्य तोकिएको छ।

कार्यदलको सुझावका आधारमा मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्यढाँचा तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad