सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता अदालतको अवहेलनासम्बन्धी मुद्दा फिर्ता लिने बताएका छन्।
वरिष्ठ अधिवक्तासमेत रहेका बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिसमा प्रधानन्यायाधीशले ‘लेनदेन’ गरेको आरोप लगाएका थिए।
त्यसपछि यही असोज १४ गते घिमिरेविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ। सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेको प्रतिवेदनकै आधारमा सो मुद्दा दर्ता भएको छ। यसको सुनुवाइ गर्न कात्तिक १ गतेका लागि पेसी पनि तोकिएको छ।
यसैबीच मध्यराति सामाजिक सञ्जालमा स्टाटस लेख्दै उपरजिस्ट्रार घिमिरेले बार अध्यक्ष गोृपालकृृष्णविरुद्ध अवहेलना मुद्दा दर्ता गरेकामा पश्चाताप गर्दै फिर्ता लिने घोषणा गरेका हुन्।
‘म हिजोदेखि निदाउन सकेको छैन। जीवनभर प्रजातन्त्रको पछि लागियो। बा सधैँ यसकै लडाइँ लड्नुभयो, म कसैको प्यादा बन्न चाहिनँ’, उनले लेखेका छन्, ‘बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो। त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु।’
अब अदालत खुल्नासाथ आफ्ना भनाइसहित औपचारिक निवेदन दिने उनले उल्लेख गरेका छन्।
विश्वनाथदेखि विश्वम्भरसम्म हेर्दा- न्याय परिषद् विघटन अपरिहार्य
अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता भएपछि बारले संस्थागत रूपमा मुद्दा लड्ने निर्णय गरिसकेको छ।
हेर्नुहोस् उपरजिस्ट्रार घिमिरेको स्टाटस-

Shares

प्रतिक्रिया