समाज


मनकामना दर्शन गर्न भक्तपुरबाट जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना

मनकामना दर्शन गर्न भक्तपुरबाट जाँदै थिए दुई परिवार, खाल्डो छल्न खोज्दा दुर्घटना

सुनिता विष्ट
कात्तिक ९, २०८१ शुक्रबार १६:३, मकवानपुर (हेटौंडा)

धादिङको थाक्रे गाउँपालिका–६ नौकिलामा दुर्घटनामा परेको माइक्रोबसमा सवार यात्रुहरू मनकामना मन्दिर दर्शन गर्नका लागि गोरखा जाँदै गरेको खुलेको छ।

भक्तपुरको धुवाँकोटबाट माइक्रो रिजर्भ गरेर दुई परिवार मनकामना जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

आज गोरखा पुगेर बास बस्ने र शनिबार (भोलि) बिहानै उठेर मनकामना मन्दिरको दर्शन गर्नेगरी र रामेछाप घर भई भक्तपुर चागुनारायण नगरपालिका–१ बस्ने बर्ष ७० की केदार कुमारी श्रेण्ठको ६ जनाको परिवार र सोही स्थानका ४२ वर्षकी राधिका कटुवालको ४ जनाको परिवार माइक्रो रिजर्भ गरेर मनकामना जाँदै गरेको माइक्रो चालक दोलखा गौरीशंकर गाउँपालिका–३ बस्ने बर्ष ३० को गंगा बहादुर बस्नेतले बताए। 

उनका अनुसार आज दिउँसो १२ बजेतिरको समयमा भक्तपुरबाट गोरखाको लागि माइक्रो गुडेको थियो। धादिङको थाक्रे गाउँपालिका–६ नौकिलामा आइपुग्दा सडकको खाल्टो छलाउने क्रममा स्टेरिङ नमोडिएको कारण सडकबाट तल खस्न पुगेको चालक बस्नेतले बताए। 

‘त्यस्तो केही समस्या थिएन,’ बस्नेतले नेपालखबरसँग भने, ‘सडकको बीचमा एउटा ठूलो खाल्डो रहेछ। त्यो खाल्डो छलाउन खोज्दा स्टेरिङ घुमाउनै मिलेन। एक्कासी सडकबाट तलतिर हुत्तियो।’

माइक्रो आफैँ अनियन्त्रित भएको उनले बताए। 

उनले थपे, ‘गाडीमा बुढी हुनुभएका आमाहरू हुनुहुन्थ्यो। त्यसैले पनि विस्तारै जाने भनेर भक्तपुरबाट अलि चाँडै निस्किएका थियौँ। गाडी स्पिडमा पनि थिएन। खाल्टो छलाउन खोज्दा ठूलो दुर्घटना हुन पुग्यो।’ 

शुक्रबार (आज) दिउँसो बागमती प्रदेश ०१ ०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान (ईभी) आफैँ अनियन्त्रित भइ सडकबाट १५/२० मिटर खसेर दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर चालक सहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइतेहरूको महादेवबेसीस्थित टाइम्स केयर अस्पतालमा उपचार भैरहेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad