समाज


भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर

भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार १८:५२, गलेश्वर (म्याग्दी)

तिहारको दोस्रो दिन आज कुकुर तिहार। मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवका रूपमा परिचित कुकुरको पूजा गरी कृतज्ञता प्रकट गरिएको छ।

कुकर मानव सभ्यतादेखिनै मानवसँग अत्यन्त नजिक बफादार जीव मानिन्छ। वैदिककालमा समेत कुकुरको महत्वपूर्ण भूमिका हुनेगरेको शास्त्रमा वर्णन गरिएको छ। त्यसैगरी चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ।

आधुनिक युगमा पनि कुकुरलाई बफादार जीव मानेर मानिसले जङ्गलदेखि सहरका महलको सुरक्षा गर्ने र प्रहरी वा सेनाले पनि अनुसन्धानमा प्रयोग गर्दै आएका छन्।

म्याग्दीका लेकाली जङ्गल र खर्कहरुमा भेडाबाख्राको रक्षा गर्नेदेखि लिएर गाउँ सहरमा घरको सुरक्षाका लागि कुकर पाल्ने चलन छ।

म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्याल र अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारका टेकबहादुर तिलिजा वर्षौदेखि लेकाली क्षेत्रमा लगिएका भेडिगोठको सुरक्षाका लागि कुकुरको प्रयोग गदैै आएका छन्।

विगत सात वर्षदेखि भेडापालन गर्दै आएका छन्त्यालको गोठमा रहेका करिब छ सय वटा भेडाबाख्राको सुरक्षाका लागि पालिएका छ वटा कुकुरले जङ्गली खर्कहरुमा भेडाबाख्राको सुरक्षा गरिरहेका छन्। कुकुरले जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर बाघ, भालु, चितुवा र स्याल जस्ता जङ्गली जनावरको चाल थाहा पाएपछि भुकेर गोठालालाई सङ्केत गर्ने काम कुकुरले गर्ने उनको भनाइ छ।

‘कुकुर भएपछि वनको बीचमा रहेको गोठमा हामी रातभरी ढुक्कले सुत्न पाउछौँ, भेडाबाख्रा पनि सुरक्षित हुन्छन्’, उनले भने, ‘बिहान कुकुरलाई खाना दिएपछि छोड्दियो दिनभरी भेडाबाख्रासँगै वनमा जान्छन् अनि साँझ भेडासँगै गोठमा आउँछन्।’

हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा व्यावसायिक रुपमा भेडाबाख्रा पालन गरिएको छ। गोठ वन जङ्गलको बीचमा हुने र गोठालाहरु पनी कम हुने भएकाले भेडाबाख्राको सारथी कुकुर हुने गरेका छन्।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका टेकबहादुर तिलिजा पनि लेकाली खर्क र घना जङ्गलमा भेडाबाख्रा चराउन महिनौंसम्म एक्लै बस्ने गर्छन्। करिब ५० वर्षदेखि भेडाबाख्रा पाल्दै आएका  ६९ वर्षीय तिलिजाको जङ्गल र खर्कका साथी कुकुर हुन्।

भेडाबाख्रा र आफ्नो सुरक्षाका लागि तिलिजाले दुई वटा ‘भोटे कुकुर’ पालेका छन्। फिरन्ते शैलीमा भेडाको गोठ सार्दै लेक–बेशी गर्ने तिलिजा कुकुरनै आफ्नो साथी भएको बताउँछन्।

‘झरी, बादल, हिउँद, बर्खा केही नभनी एक्लै गोठमा बस्नुपर्छ’, उनले भने, ‘दिन–रातसँगै हुने कुकुरले म र भेडाबाख्रालाई जङ्गली जनावरको आक्रमणबाट बचाउँछ।’ तिलिजाले करिब तीनसय वटा भेडाबाख्रा पाल्नुभएको छ। ती भेडाबाख्राको सुरक्षा गर्ने जिम्मा कुकुरलाई नै सुम्पिएको उनले बताए।

पाउद्धारकै कमल तिलिजाले पनि चरनका लागि खर्क र हिमालको फेदीमा लैजाने भेडाबाख्राको सुरक्षाका लागि दुईवटा कुकुर पालेका छन्। ती कुकुरले गोठको वरपर रुगेर  भेडाबाख्राको सुरक्षा गर्न पहरा दिन्छन्।

‘जङ्गली जनावर र चोर आएको थाहा पाएपछि कुकुरले भुकेर सङ्केत गर्छ’, तिलिजाले भने, ‘भगाउन नसके भीड्न पनि तयार हुन्छन्।’

म्याग्दीका अधिकांश भेडाबाख्रा पालक कृषकको पशुधनको सुरक्षा गर्न कुकुरको महत्वपूर्ण योगदान छ। भेडाबाख्रा गोठका लागि कुकुर अनिवार्य आवश्यकता हो। ठूला शरीर भएका देख्दै डरलाग्दा कुकुर गोठमा पालेपछि चोरले आँट गर्दैनन्। बस्तीदेखि टाढाको घना जंगल भेडाबाख्राको चरन क्षेत्र हो।

जङ्गलमा चितुवा, ब्वासो र स्यालले भेडाबाख्रालाई आक्रमण गरेर घाइते बनाउने र मार्ने जोखिम हुन्छ। ती जनावरबाट भेडाबाख्रालाई जोगाउने काम कुकुरले गर्दै आएका छन्। अनकन्टार जङ्गल, भीर, पाखामा भेडाबाख्राको सुरक्षा गर्न कुकुर अत्यन्तै भरपर्दो साथी भएको गोठाला प्रेमबहादुर तिलिजा मगरले बताए।

कुकुरकै कारण गोठको दैनिकी सहज र सुरक्षित हुँदै आएको व्यवसायीयको भनाइ छ। घुम्ती चरनबाट पाल्दै आएका व्यवासायिक भेडाबाख्रा गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जङ्गली जनावरको आक्रमणलाई रोक्न कुकुरले जानकारी गराउने गरेको छ।

मनिसलाई हेरालु राख्दा खर्च बढी हुने र जङ्गली जनावरबाट बचाउन पनि नसकिने भएकाले भेडी गोठमा कुकुर अनिवार्य हुनुपर्ने भेडा हेरालु धनबहादुर विक बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad